लिपुलेकमा भारतले बनायो पदमार्ग

पदम बडाल
नेपालले दावी गर्दै आएको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।
लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।
नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिह धामीले बताए । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए ।
सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्यरुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ ।
अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको महासंघ दार्चुलाका अध्यक्ष धामीले बताए । उनले भने, ‘भातरको यस्तो कार्यले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै कब्जा नगरी पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि भारतले लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भयो’ ।










