अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्ने आदेश किन ?

काठमाडौं ,आफ्नो देशमाथि पछिल्लो अमेरिकी प्रतिबन्धको जवाफी कारबाहीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सात सय ५५ अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्ने आदेश दिएका छन् । साथमा पुटिनले यो पनि भनेका छन् कि उनी छिटै दुई देशबीचको सम्बन्धमा सुधार हुने कुनै सम्भावना देखिरहेका छैनन् ।
यद्यपि यो निर्णय गत शुक्रबार नै लिइएको थियो, तर पुटिनले रुस छाड्नुपर्ने कूटनीतिज्ञको संख्याबारे भने सोमबार मात्र निश्चित गरेका हुन् । यी अमेरिकी कूटनीतिज्ञलाई १ सेप्टेम्बरसम्म रुस छाड्न आदेश दिइएको छ । अर्थात्, अब १ सेप्टेम्बरपछि रुसमा अमेरिकी कर्मचारीको संख्या वासिङ्टनमा कार्यरत रुसका कर्मचारीको संख्याबराबर चार सय ५५ कायम हुनेछ ।
वासिङ्टनस्थित बिबिसी संवाददाता लारा बाइकेरले भने— यो आधुनिक इतिहासमा कुनै पनि देशबाट निष्कासन हुने कूटनीतिज्ञको सबैभन्दा ठूलो संख्या हो । मस्कोमा बिबिसीका सारा रेन्सफोर्डले भनेका छन्— यसमा रुसस्थिति अमेरिकी मिसनका लागि काम गरिरहेका रुसी कर्मचारी पनि सामेल छन् । उनले अगाडि भनेका छन् कि मस्कोका साथै भ्लादिभोस्तोक तथा सेन्ट पिटर्सबर्गस्थिति दूतावासका कर्मचारी पनि यसबाट प्रभावित भएका छन् ।
अमेरिकाले रुसको यस कदमलाई दुर्भाग्यपूर्ण बताएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका एक अधिकारीले भने— हामी यसको प्रभावको आँकलन गरिरहेका छौँ । साथसाथै, रुसको यस कदमको कसरी र कस्तो जवाफ दिने भन्नेबारे पनि हामी छलफल गरिरहेका छौँ ।
पछिल्लो अमेरिकी कंग्रेसले अनुमोदन गरेको प्रतिबन्धको जवाफी कारबाहीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सात सय ५५ अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्ने आदेश दिएका छन्
थप कडा कदम उठाउने पक्षमा छैनन् पुटिन
पुटिनले भनेका छन्— हजारभन्दा बढी मानिस काम गरिरहेका थिए र अझै गरिरहेका छन् । तर, यीमध्ये सात सय ५५ ले अब रुसमा आफ्ना गतिविधि रोक्नुपर्छ । उनले यो पनि भनेका छन् कि उनी योभन्दा पनि ठूलो कदम उठाउन सक्थे । तर, तत्कालका लागि उनी थप कडा कदम उठाउने पक्षमा छैनन् ।
यद्यपि, सामान्य सम्बन्धको सन्दर्भमा राष्ट्रपति पुटिनले भनेका छन्— हामीले परिस्थितिलाई थप राम्रो होस् भनेर यसका लागि निकै लामो समयसम्म प्रतीक्षा गर्यौँ । स्थिति परिवर्तन पनि भइरहेको छ । तर, तत्काल यसमा सुधार हुने सम्भावना भने निकै कम मात्र देखिन्छ ।
यसका साथै रुसले अमेरिकी कूटनीतिज्ञद्वारा उपयोग गरिँदै आएको ‘होलिडे प्रपर्टी’ तथा गोदाम पनि फिर्ता लिने घोषणा गरेको छ । वर्तमान अमेरिकी प्रतिबन्ध २०१४ मा रुसको क्रिमियामाथि कब्जा तथा हालैको अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेपसित सम्बन्धित छ ।
ओबामाले हटाएका थिए ३५ रुसी कूटनीतिज्ञ
स्मरणीय छ, गत डिसेम्बरमा ओबामा प्रशासनले हिलारी क्लिन्टनको अभियानको कथित ह्याकिङको जवाफमा अमेरिकामा दुई रुसी दरबार कब्जा लिनुका साथै ३५ रुसी कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । पछिल्लो समयमा ह्वाइटहाउसको आपत्तिका बाबजुद रुसमाथि ताजा अमेरिकी प्रतिबन्धलाई कंग्रेसका दुवै सदनले अनुमोदन गरेको थियो ।
अमेरिकी गुप्तचर विभागका अनुसार रुसले डोनाल्ड ट्रम्पको पक्षमा निर्वाचनलाई प्रभावित गर्ने कोसिस गरेको थियो र अब यस विषयमा कैयौँ अनुसन्धान चलिरहेका छन् । के रुसको सो अभियानबाट कसैलाई साँच्चै सहयोग पुगेको थियो त ? भन्ने सम्बन्धमा पनि जाँच भइरहेको छ । रुसले यस प्रकारको कुनै पनि हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । ट्रम्पले पनि लगातार भन्दै आएका छन् कि यसमा कुनै मिलेमतो छैन ।
बिबिसी हिन्दीको समाचार टिप्पणी०
बिबिसी हिन्दी डटकमबाट










