देउवाको भारत भ्रमण : १ देखि ५ भदौसम्म

प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले नयाँ दिल्लीबाट टेलिफोनमा नयाँ पत्रिकासँग भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् । उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो ।

परराष्ट्र मन्त्रालयमा तयारी बैठक

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे आइतबार उपप्रधानमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयमा सरोकारवाला अधिकारीसँग छलफल गरेका थिए । छलफलमा ऊर्जासचिव महेन्द्रबहादुुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, कृषिसचिव डा। सुरोज पोखरेल, अर्थ, आपूर्ति, गृह, वातावरण मन्त्रालयका सहसचिव सहभागी थिए । बैठकमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

सम्बद्ध स्रोतका अनुसार सो बैठकमा प्रधानमन्त्रीको भ्रमण मिति र आर्थिक एजेन्डाबारे छलफल भएको थियो । बैठकमा भारतका कारण पञ्चेश्वर बहुउद्देश्यीय प्राधिकरणको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०मा सहमति जुट्न नसकेको चर्चा भएको थियो । ‘जुलाईमा दुई पक्षबीच पञ्चेश्वरको डिपिआरमा सहमति जुट्ने गरी काम गर्ने भनिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा पनि यसबारे सहमति नहुने भयो,’ बैठकमा सहभागी एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यसपटक पनि पञ्चेश्वरबारे कुरा मात्रै हुने भयो ।’

२२ वर्षअघि देउवा प्रधानमन्त्री हुँदा भएको महाकाली सन्धिअनुसार पञ्चेश्वरको डिपिआर ६ महिनामा तयार गर्ने सहमति भएको थियो । यसपटक देउवाले यसबारे चासो राखेका छन्, तर प्राविधिक तहमा सहमति जुट्न नसक्दा यसपटक निर्णय हुने सम्भावना नरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । ‘उपप्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको भ्रमण तयारीका सन्दर्भमा जानकारी लिनुभएको हो, कुराकानी चलिरहेको छ, कुनै टुंगिसकेको छैन,’ उपप्रधानमन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंले भने । उनका अनुसार महराले सोमबार लगानी बोर्डका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।

चिनियाँ उपप्रधानमन्त्री काठमाडौं आउँदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दियो । उपप्रधानमन्त्री एवं कृष्णबहादुुर महराको निमन्त्रणामा उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ । चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली, लिउ याङ, वाङ याङ र मा काई छन् ।

 





error: Content is protected !!