जाजरकोटमा मतदाता नामावली दर्ता गराउनेहरुको घुइँचो

जाजरकोट । जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको घुइचो लाग्न थालेको छ ।
यसअघि फोटोसहितको नामावलीमा नाम छुटेर भोट हाल्न नपाएका मतदाताहरु नामावलीमा नाम दर्ता गराउन आउनेहरुको घुइँचो लाग्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउन केही दिन यता दैनिक १ सय ५० भन्दा बढी आउने गरेको कार्यालयका सुचना अधिकारी सतिसजंग शाहले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम समेत रहेको भेरी नगरपालीकाबाट मात्रै दैनिक एक सय बढी कार्यालयमा नाम दर्ता गराउन आउने गरेका छन् । सुरुका दिनमा दैनिक १५ देखी २० जना मात्र आउने गरेपनि केही दिन यता त्यो संख्या ह्वात्तै बढेको छ । अहिले सम्मा ९ सय ८२ जनाले नाम दर्ता गराएका छन भने ४८ जनाले नामावली सार्न निवेदन दिएको कार्यालयले जनाएको छ ।
नामावलीमा नाम दर्ता गराउने पुरुष भन्दा महिलाहरुको संख्या धेरै रहेको छ । यहि १६ गते देखी ३२ गते सम्मा जिल्लाका सातै वटा स्थानिय तहमा पुगेर फोटो सहितको नामावली संकलन गरीने कार्यालयले जनाएको छ ।










