पुरानालाई सरुवा नगरी नयाँ जिशिअ

काठमाडौं । शिक्षा मन्त्रालयले काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई सरुवा गरिएको पत्र नदिँदै नयाँलाई हाजिर गराएको पाइएको छ । पुराना जिशिअ जयाप्रसाद आचार्यलाई सरुवाको पत्र नदिँदै नयाँ जिशिअका रूपमा काठमाडौंमा प्रकाश सापकोटालाई पठाइएको हो ।
सापकोटाले जिशिकामा हाजिर गरेर कार्यालय सम्हालिसक्नुभएको छ । आचार्य भने आफूलाई कहाँ सरुवा गरिएको हो भन्ने विषयमा समेत अनभिज्ञ हुनुहुन्छ । उहाँलाई सरुवा गरिएको पत्र मन्त्रालयले अझै दिएको छैन । उहाँ अहिले हाजिरी गर्ने ठाउँ नपाएर घरमै बसिरहनुभएको छ । ‘नयाँ जिशिअ गएर मेरो कुर्सीमा बसी फाइलमा हस्ताक्षरसमेत गरिसक्नुभयो । मलाई भने कहाँ सरुवा गरिएको भन्ने विषय पनि थाहा छैन’, आचार्यले भन्नुभयो, ‘हाजिर गर्न जाने कार्यालय नपाएपछि घरमै बसेर टिभी हेरिरहेको छु । पत्रपत्रिका पढेर बसिरहेको छु ।’
सामान्यतया मन्त्रालयले सरुवा गरिएको पत्र सम्बन्धित व्यक्ति कार्यरत कार्यालयमै पठाउने गर्छ । आचार्यले भन्नुभयो, ‘सापकोटा सरले कार्यालय हाजिर हुन आऊँ कि नआऊँ भनेर सोध्नुभयो । मैले सरुवाको पत्र नपाए पनि सापकोटालाई कार्यालय छाडेर घर फर्किएँ । मन्त्रालयमा काम गरेको दुई दशक पुगिसकेको छ । यहाँको अवस्था यस्तै छ भन्दै मन बुझाएर बसेको छु ।’
मन्त्रायका प्रवक्ता हरिप्रसाद लम्सालले आचार्यले पत्र तयार भइसकेको भए पनि प्राविधिक कारणले पठाउन ढिलो भएको बताउनुभयो । ‘पत्र तयार भइसकेको हुनुपर्ने हो । के कारणले हातमा नपरेको रहेछ, बुझ्नुपर्ला’, उहाँले भन्नुभयो ।
सरुवा गरिएका उपसचिव मन्त्रालय फर्किए
शिक्षा मन्त्रालयले काज सरुवा गरेर बूढानीलकण्ठ नगरपालिकामा पठाएको उपसचिव युवराज पौडेलले आफूभन्दा कनिष्ठ उपसचिवको मातहतमा काम गर्न नसकिने भन्दै मन्त्रालय फर्किनुभएको छ ।
पौडेललाई मन्त्रालयले चार दिनअघि उक्त नगरपालिका क्षेत्रको शिक्षाको मात्र व्यवस्थापन गर्ने गरी सरुवा गरेको थियो । तर, उक्त नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव आफूभन्दा कनिष्ठ रहेको पौडेलको दाबी छ । पौडेलले मन्त्रालयमा पेस गरेको पत्रमा भनिएको छ, ‘बूढानीलकण्ठ नगरपालिकामा कार्यकारी अधिकृत रहेका व्यक्ति मेरो उपसचिवमा बढुवा भएको मिति ०६६ साल जेठ ८ गते भन्दा कनिष्ठ देखिएको तथा प्रचलित निजामती कर्मचारी सेवा नियमावलीमा वरिष्ठ कर्मचारी कार्यालय प्रमुखका रूपमा रहने भएकाले उक्त कार्यालयमा हाजिर भई काम गर्न कानुनी जटिलता उत्पन्न भएको छ।’
‘सरुवाको निर्णय मान्दै बूढानीलकण्ठ गएँ । तर, त्यहाँका कार्यकारी अधिकृत कनिष्ठ देखेपछि कानुनी रूपमा पनि काम गर्न नमिल्ने भएर मन्त्रालयमा निवेदन दिएको हुँ’, पौडेलले भन्नुभयो ।
पौडेलले तत्कालका लागि अर्को व्यवस्था नभएसम्मका लागि शिक्षा मन्त्रालयमै हाजिर हुने व्यवस्था मिलाइदिन माग गर्नुभएको थियो । उहाँको मागबमोजिम मन्त्रालयले शिक्षा मन्त्रालयमै हाजिरीको व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयले चार दिनअघि पौडेलसहित ७५ जना उपसचिवलाई स्थानीय तहमा शिक्षाको जिम्मेवारी सम्हाल्ने गरी सरुवा गरेको थियो । तर, कनिष्ठ कर्मचारीमातहत रहेर काम गर्न पठाइएको भन्दै बहुमत संख्याका उपसचिवले कार्यक्षेत्रमा जान मानेका छैनन् ।अन्नपुर्णपोष्टमा खबर छ ।










