माओवादीमा फेरि ‘प्रचण्ड पथ’को चर्चा

काठमाडौँ ५ साउन  ।  नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।


तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो ।  २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो ।  जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राख्नुभएको थियो ।  लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गर्नुभएको एक सचिवालय सदस्यले बताए ।

नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताएका थिए ।  ‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो ।  यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राखेकाे धारणा उद्धृत गर्दै एक नेताले भने, ‘यो विज्ञान हो ।  अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ ।  त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’

सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताएका थिए । उनले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताएका थिए ।

सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताएका थिए  ।

पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उहाँले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताए ।

पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताउनुभएको थियो ।  ‘हामीले क्रान्तिका लागि पार्टी एकता गरेका थियौँ ।  शान्ति प्रक्रियामा पनि क्रान्तिकै लागि आइएको थियो,’ पोख्रेलले बैठकमा भने ।
‘प्रचण्डपथको कुरा हिजो पनि आयो आज पनि छ ।  तर, त्यस विषयलाई चर्को रूपमा उठाउने अहिले पार्टी फुटाएर प्रचण्डलाई सबैभन्दा ठूलो शत्रु घोषणा गरिरहेका छन् ।  यस्तो प्रवृत्ति राम्रो होइन । ’

बैठकमा अर्का नेता हितराज पाण्डेले विचार संश्लेषण नै पार्टी निर्माणको मुख्य आधार भएको स्पष्ट गर्दै यसैका आधारमा नयाँ ढङ्गबाट पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।  सचिवालय सदस्य डीआर पौडेलका अनुसार पाण्डेले चुनावमा जित्छु वा सङ्गठन निर्माण गर्छु भन्ने कुरा बोलेर मात्र नहुने, त्यसका लागि पहिले विचार संश्लेषण सही हुनुपर्ने बताएका थिए ।





error: Content is protected !!