सचिवालय बैठकमा दाहालको आक्रोश , गुट चलाउने भए पार्टी विघटन गरौं


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले सोचेजस्तो पार्टी बन्न नसकेको बताएका छन् । अध्यक्ष दाहालले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको भन्दै आक्रोशित मुद्रामा पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने र गुट त्याग्न नसके सल्लाह नै गरेर पार्टी विघटन गर्नसमेत सुझाए । पार्टीभित्रको गुटउपगुटकै कारण पार्टीले सोचेजस्तो जित हासिल गर्न नसकेको उनको भनाइ थियो ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको जिल्ला इन्चार्जसहितको सचिवालय सदस्यको विस्तारित बैठकको सुरुवातमा एजेन्डाहरू प्रस्तु्त गर्दैै अध्यक्ष दाहालले जनताले सोचेजस्तो पार्टी बन्न नसक्दा परिणामसमेत कमजोर आएको उल्लेख गरे । ‘जनताले खोजेको जस्तो हामी हुन नसक्दा निर्वाचनमा सोचेजस्तो सफलता प्राप्त गर्न सकिएन,’ दाहालले बैठकमा प्रश्न उठाए, ‘के जनताले यस्तै माओवादी खोजेको हो ?’
अध्यक्ष दाहालले पार्टीभित्रका गुटउपगुट समाधान गर्न नसके पार्टी नै खतरामा पर्न सक्नेसमेत औंल्याए । ‘पार्टीभित्र विभिन्न गुटउपगुट छन् । यसलाई समाधान गर्न नसक्ने हो भने यसले पार्टीलाई नै सिध्याउला भन्ने खतरा भयो,’ दाहालले व्यंग्य गर्दै भने, ‘बरु गुटलाई नै मान्यता दिऔं, होइन भने गुटउपगुटभन्दा माथि उठौं ।’
दाहालले गुटबन्दी गर्ने हो भने सल्लाहमै औपचारिक रूपमा निर्णय गरेरै गुटबन्दी गर्न भन्दै आक्रोश पोखेका थिए । ‘रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरौं,’ उनले भने ।
दाहालको गुट अन्त्य गर्ने विषयमा प्रदेश २ का इन्चार्जसमेत रहेका कार्यालय सदस्य मातृका यादवले प्रतिवाद गर्दै अध्यक्षबाट नै गुट अन्त्यको घोषणा हुनुपर्ने बताएका थिए ।
‘अध्यक्षले गुटको अन्त्य गरौं भन्नुभयो, ठीक हो,’ यादवले भने, ‘अब अध्यक्षबाटै गुटको अन्त्य भएको घोषणा गर्नुप¥यो । हामी सहयोग गर्न तयार छौं । नत्र अध्यक्षबाटै गुटको आश्रय पाइरहेसम्म कसरी अन्त्य हुन्छ ।’
दाहालले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूले माओवादीलाई घेराबन्दी गर्न खोजेर आन्दोलनका उपलब्धिहरू खोस्ने षड्यन्त्र गरेको बताएका थिए । ‘हाम्रा कमजोरी त छँदै छन् । जनतामा जान सकिएन । संगठन तलैसम्म विस्तार गर्न भ्याइएन,’ उनले भने, ‘त्यहीँ पनि योभन्दा अझै बढी जितिन्थ्यो तर धर्मनिरेपक्षता, संघीयतासहित परिवर्तन नचाहनेहरूले षड्यन्त्र गरे ।’
भोट बिक्री छानबिन आयोग गठनको माग
विस्तारित सचिवालय बैठकमा नेताहरूले निर्वाचनमा भोट बेचेको भन्दै आयोग गठन गरी छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । उनीहरूले निर्वाचनमा मतहरू अरू पार्टीलाई खसाइएको समेत उल्लेख गरे । प्रदेश ७ का इन्चार्ज लेखराज भट्टले निर्वाचनमा व्यापक गुटबन्दी भएको र मतहरू अरू पार्टीमा खसाइएको भन्दै छानबिन आयोग गठन गरेर कारबाही गर्न माग गरे । उनले निर्वाचनको समयमा केही नेता मन्त्रीको लबिङ गर्न काठमाडौं आएको समेत उल्लेख गरे ।
इन्चार्जले के भने ?
प्रदेश इन्चार्जहरूको रिपोर्टिङका क्रममा प्रदेश १ का सावित्री काफ्लेले पार्टी एकता सुदृढ हुन नसकेको बताए ।प्रदेश २ का इन्चार्ज मातृका यादवले एकताबद्ध भएर निर्वाचनमा होमिन सके धेरै राम्रो नतिजा हासिल गर्न सकिने बताए ।प्रदेश ३ का इन्चार्ज हितमान शाक्यले मध्यम वर्गलाई आकर्षित गर्न नसक्दा सोचअनुसार नतिजा नआएको भनाइ राखे ।
प्रदेश ४ का इन्चार्ज देव गुरुङले पोखरामा माओवादीले मेयरको उम्मेदवार फिर्ता गरे पनि कांग्रेसले उपमेयरका उम्मेदवार फिर्ता नगर्दा प्रदेशभरि नराम्रो सन्देश गएको बताए । गोरखामा नयाँ शक्तिले माओवादी केन्द्र हराऊ अभियानमा लाग्दा जित्न नसकिएको उनको भनाइ थियो ।
प्रदेश ६ का इन्चार्ज वर्षमान पुनले आशाअनुसार नतिजा लिन नसकेको बताए । रिपोर्टिङका क्रममा इन्चार्जहरूले पार्टीको संगठनात्मक व्यवस्थापन कमजोर हुनु, अनुभवको कमी, निर्वाचनको पूर्वतयारी नहुनु पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्न नसक्नु निर्वाचनमा सोचेअनुसार जित हासिल नगर्नुका कारणहरू रहेको उल्लेख गरेका थिए ।
पार्टी प्रवक्ता पम्फा भुसालले बैठक बुधबारसम्म लम्बिने र आज जिल्ला इन्चार्जहरूबाट रिपोर्टिङ हुने जानकारी दिइन् । उनले निर्वाचनको समीक्षा, आगामी निर्वाचनबारे तयारी तथा संगठनको विषयमा निर्णय हुने बताइन् ।










