भीभीआईपी सान , राष्ट्रपतिको तलव डेढ लाख विदेश भ्रमणसम्मको खर्च राज्य कोषबाट

काठमाण्डौँ ।यतिबेला राष्ट्र प्रमुखले सवारी साधन माग गरेको विषय हट केक बनेको छ । संसद्देखि सडकसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले १६ करोडको गाडी माग गरेको विषयले झनै सामाजिक सञ्जालमा प्रमुख प्राथमिकता पाएको छ । सरकार प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारको संसद् बैठकमै जवाफ दिनु पयो राष्ट्रपतिलाई १६ करोडको गाडी दिने निर्णय नभएको भनेर ।

सोमबार मात्रै अर्को यौटा समाचार भाइरल भयो, दक्षिण अमेरिकी मुलुक उरुग्वेका राष्ट्रपति जोस मुजिकाले सबै सरकारी सुविधा लिन अस्वीकार गर्छन् ।

दक्षिण एशियाली मुलुक नेपाल र दक्षिण अमेरिकी मुलुक उरुग्वेका राष्ट्रपतिको जीवनशैलीको विरोधाभाष समाचारबीच भीभीआईपीहरुलाई राज्य कोषबाट दिने अन्य सुविधाहरु ओझेलमा परेका छन् ।

नेपालमा राष्ट्रपति उपराष्ट्रपतिलाई विलासी सवारी साधन मात्र होइन मासिक लाखौं रुपैयाँ सुविधा दिइने गरिएको छ । गरिब मुलुकको सरकारले मुलुकको कस्ता र कति सुविधा दिन्छ त राष्ट्रपति र उपराष्ट्रपति । सवैधानिक प्रमुख र उपप्रमुखले पाउने सुविधानको सूची यस्तो छ ।

 

राष्ट्रपतिले पाउने पारिश्रमिक, भत्ता र पोशाक सुविधा

राष्ट्रपतिले पारिश्रमिक प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ पाउने गर्छन् । स्वदेशमै भ्रमण गर्दा राष्ट्रपति र उपराष्ट्रपतिले दैनिक ३ हजार ३ सय भत्ता पाउने गर्छन् । विदेश भ्रमणमा जाँदा प्रतिदिन २ सय ५० अमेरिकी डलर पाउने गर्छन भने बीमा बापत २५ लाख रुपैयाँ हुने गरेको छ । युरोपियन मुलुकहरु अष्टे«लिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिंगापुर, लेवनान, बहराइनको भ्रमणमा भने ३३ प्रतिशत थप रकम सुविधा पाउने व्यवस्था छ । त्यस्तै पोशाक सुविधा बापत प्रतिवर्ष २५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

 

उपराष्ट्रपतिले पाउने पारिश्रमिक र पोशाक सुविधा

उपराष्ट्रपतिले पारिश्रमिक वापत प्रतिमहिना १ लाख ८ हजार ३० रुपौयाँ पाउने गर्छन् । त्यस्तै, पोशाक सुविधावापत प्रतिवर्ष २० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

यसका साथै राष्ट्रपति र उपराष्ट्रपतिले आवास सुविधा, सवारी तथा इन्धन, सञ्चार, अतिथि सत्कार तथा भैपरी आउने खर्च, निजी चिकित्सक सम्बन्धी सुविधा, उपचार खर्च, चाडपर्व खर्च समेत दुवै बाहालबालाले पाउने गरेका छन ।

राष्ट्रपति र उपराष्ट्रपतिको नेपाल र विदेशमा भएकोमा उपचार खर्च मेडिकल बोर्डको सिफारिसमा विदेशमा सरकारले व्यर्होने छ । उनीहरुको विरामी कुरुवाका लागि तीन जनासम्मको खर्च सरकारले उपलव्ध गराउने व्यवस्था गरेको छ ।

 

राष्ट्रपतिको निजी सचिवालयमा कुन तहसम्मका कति कर्मचारी 

राष्टपति कार्यालयमा प्रमुख स्वकीय सचिव राजपत्र विशिष्ट श्रेणी सरह १ जना, सह–स्वकीय सचिव राजपत्र प्रथम श्रेणी सरह १ जना, उप–स्वकीय सचिव,राजपत्र द्वितीय श्रेष्णी २ जना रहने व्यवस्था छ । स्वकीय अधिकृत राजपत्र तृतीय श्रेणी सरह ४ जना, कम्प्युटर सहायक राजपत्र अनंकित प्रथम श्रेणी सरह १ जना, फोटोग्राफर सहायक राजपत्र अनंकित प्रथम श्रेणी सरह १ जना तथा सवारी चालक र कार्यालय सहयोगी श्रेणीबिहीन ४–४ जना रहने व्यवस्था छ । राष्ट्रपतिको निजी सचिवालयमा १८ जना कर्मचारी छन् ।

उपराष्ट्रपतिको निजी सचिवालय कुन तहसम्मका कति कर्मचारी

उपराष्टपति कार्यालयमा प्रमुख स्वकीय सचिव राजपत्र विशिष्ट श्रेणी सरह १ जना, उप–स्वकीय सचिव राजपत्र द्धितिय श्रेष्णी १ जना रहने व्यवस्था छ । स्वकीय अधिकृत राजपत्र तृतीय श्रेणी सरह २ जना, कम्प्युटर सहायक राजपत्र अनंकित प्रथम श्रेणी सरह १ जना, प्रेस संयोजक राजपत्र अनंकित प्रथम श्रेणी सरह १ जना तथा सवारी चालक र कार्यालय सहयोगी श्रेणीबिहिन ३–३ जना रहने व्यवस्था छ । उपराष्ट्रपतिको निजी सचिवालयमा १२ जना कर्मचारी रहने व्यवस्था छ ।





error: Content is protected !!