महाकालीकाे बहाबले तटबन्ध संकटमा, खलंगा बजार त्रासमा

           पदम बडाल,

दार्चुला  , चार वर्ष अगाडि आएको बाढीले बगाएको खलंगा बजारको रिङनताल क्षेत्र रहेकै क्षेत्रमा यो पटक महाकालीले तटबन्ध भत्काउन सुरु गरेको छ ।
रिङनताल क्षेत्रमा रहेको प्याकेज नम्बर १० मा तटबन्धका लागि राखिएकोे ग्रेभेटी रिटेनिङ वाल भाँसिन सुरु भएको छ । यसले खलंगा बजार खतरामा पर्न थालेको छ । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले पानीको बहाब बढे खतरा रहेको बताए । ‘महाकालीमा पानीको बहाब बढ्यो र वाल भत्कियो भने घाट बजार फेरि समस्यामा पर्न सक्छ,’ उनले भने ।

यसरी भत्कियो तटबन्धको वाल
रिङनताल क्षेत्रमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको ग्रेभेटी रिटेनिङवालको सपोर्टमा नदीमा रहेका ढुंगा नदीको बहावले बगाएको छ । सपोर्टको अभाव हुँदा नदीको प्रवाह र पानीसँगै बगेर आएका ढुंगाले वालमा लगातार हान्ने गरेको तथा पानीले नदीको पिँधसमेत कटान गरेकाले वाल भाँसिन सुरु भएको महकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा काउन्टर रिटेनिङवाल राख्न ठाउँ नपुगेकाले ग्रेभेटी रिटेनिङवाल राखिएको थियो । ‘काउन्टर रिटेनिङवाल राख्न पाएको भए नदीले कटान गर्ने र भाँसिने सम्भावना कम हुने थियो,’ आयोजना प्रमुख सुशील देवकोटाले भने । तटबन्धको अन्य प्याकेज जस्तै ठाउँ नपुग्दा राखिएको ग्रेभिटी रिटेनिङवालका कारण पनि नदीलाई कटान गर्न सजिलो भएको उनले बताए ।
तटबन्धको सो प्याकेज भासिनुमा तत्कालिक कारण महाकालीको बहाव बढ्नु नै भए पनि नदी पारी भारततिर गएको पहिरो मुख्य कारण हो । पारीतिर भारतको पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गत २८ असोजबाट गएको पहिरोका कारण महाकालीको मूल प्रहाव नेपालतिर फर्किंदा तटबन्ध भत्काउन सुरु गरेको हो ।

नेपाल सरकारको ढिलासुस्ति
तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पटक पटक भारतीय समकक्षीलाई भेटेर भारततिरको पहिरो हटाउन आग्रह गरेका थिए । भारतीय पक्षले पनि नेपालतिरको सम्भावित क्षतािलई विचार गरी तुरुन्तै पहिरो हटाउने जानकारी दिएको थियो । तर, नदीको मूल प्रवाह नै नेपालतिर फर्काउने गरी भारततिर गएको पहिरोलाई भारत सरकारले अहिलेसम्म हटाएको छैन । नेपालतिरको अवस्थाबारे भारतीय समकक्षीलाई जानकारी गराएको भए पनि वर्षामा पहिरो हटाउने कार्य सम्भव नभएको प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले बताए ।





error: Content is protected !!