कांग्रेसमा चुनाव समीक्षा ,पहिलो पार्टी कसरी दोस्रो भयो

काठमाण्डौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा आउनुलाई विडम्बना मान्दै पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समीक्षा हुनुपर्ने माग गरे । उनको मागबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक ठानेनन् या चाहेनन् ।     

उनले बाँकी प्रदेशको चुनावसम्म पर्खन पौडेल पक्षलाई आग्रह गरे । दोस्रो चरणको निर्वाचनअघि नै देउवा प्रधानमन्त्री बने । आफ्नै नेतृत्वको सरकारले गराएको असार १४ को दोस्रो चरणको चुनावमा कांग्रेस पहिलो स्थानमा आउनेमा देउवा विश्वस्त थिए । दोस्रो चरणमा एमालेलाई जित्ने र प्रदेश नम्बर २ को चुनावले कांग्रेसलाई १ नम्बरमै ल्याउने आशा देउवाले राखेका थिए । तर, परिणाम उनले सोचेजस्तो भएन ।

तराई मधेसका मागमा सकारात्मक दृष्टिकोण राखेको कांग्रेस नेतृत्व त्यतिबेला छक्क पर्‍यो, जतिबेला तराईकै मैदानी भूभागमा एमालेले बहुमत ल्याउन पुग्यो । असोज २ मा हुने प्रदेश नम्बर २ को चुनावमा जति नै राम्रो परिणाम ल्याए पनि कांग्रेसलाई ६ प्रदेशमा आएका नतिजाको क्षतिपूर्ति भरेर एक नम्बरमा आउन अब सम्भव छैन । कुल ७ सय ४४ स्थानीय तहमध्ये ६ सय १७ मा चुनाव भइसकेको छ । जसमा कांग्रेसभन्दा एमाले ४७ सिटले अघि छ ।

कांग्रेसकै प्रभावशाली नेताहरूको आधार क्षेत्रमा कांग्रेसले पराजय भोगेको छ । प्रधानमन्त्री देउवाले आफ्नै गृहनगर डडेलधुराको अमरगढी नगरपालिका जोगाउन सकेनन् । विकासको जिम्मा मै लिन्छु भन्दै देउवा एक साता प्रदेश ७ मा खटिएका थिए । तर, उनले त्यहीं पनि बहुमत जोगाउन सकेनन् । यो प्रदेशमा ८८ स्थानीय तहमध्ये एमाले र कांग्रेस दुवैले उत्तिकै सिट ३८ ल्याएका छन् भने एमाले एउटामा अगाडि छ ।

कांग्रेसमा प्रभावशाली मानिँदै आएका दुई पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई स्थानीय निर्वाचनले सबैभन्दा ठूलो धक्का पुगेको छ । पूर्वमहामन्त्री सिंहलाई काठमाडांैको नतिजाले ठूलै धक्का पुर्‍याएको छ । दोस्रो संविधानसभा चुनावमा काठमाडांैमा १० निर्वाचन क्षेत्रमा कांग्रेसले ८ सिट जितेको थियो । तर, यही महानगरमा कांग्रेसका उम्मेदवारले लज्जाजनक हार व्यहोर्न पुगे । काठमाडौंबाट प्रतिनिधित्व गर्ने नेताहरू गगन थापा र नवीन्द्रराज जोशीले पनि आफ्नो क्षेत्र जोगाउन सकेनन् ।

पूर्वमहामन्त्री सिटौलाको गृहनगर झापामा त्यस्तै हालत बन्न पुग्यो । सिटौलाले आफ्नै चुनावी क्षेत्रका स्थानीय तह जिताउन सकेनन् । बरु झापाकै युवा नेता विश्वप्रकाश शर्मा र सरिता प्रसाईंले चुनावी नेतृत्व लिएका मेची नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा भने कांग्रेसले जितेको छ । मेची नगरपालिका शर्माको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ भने बुद्धशान्ति गाउँपालिका प्रसाईंको जन्मस्थल हो ।

सिटौलाले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं ३ को कचनकवल र हल्दीबारी गाउँपालिकामा राप्रपा विजयी भयो । त्यही क्षेत्रको भद्रपुर नगरपालिकामा फराकिलो मतान्तरमा एमालेले जित्यो । तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, नवलपरासी, रूपन्देही र कपिलवस्तुको परिणामबाट कांग्रेस नेतृत्व झन् अचम्भित छ । सभापति देउवा यी क्षेत्रबाट कांग्रेस अघि आउनेमा विश्वस्त थिए ।

प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने नेता बालकृष्ण खाँड एमालेको आक्रामक नीतिलाई मतदाताले रुचाएको स्वीकार्छन् । उनका अनुसार चुनावी तयारी बेलैदेखि हुन नसक्नु, ढिलो उम्मेदवारी दिइनु, व्यवस्थापन चुस्त नहुनु, असन्तुष्टलाई समयमै व्यवस्थापन गर्न नसक्नुजस्ता कारणले कांग्रेसले आफ्नो पकड गुमाएको हो ।

तर, पौडेल पक्षीय नेताहरू भने यतिमै सीमित छैनन् । उनीहरूले पार्टी नेतृत्वको कार्यशैली र विवादास्पद निर्णयका कारण कांग्रेसलाई बढी क्षति पुगेको बताउँछन् । सबैभन्दा बढी सहरी मतदाताहरू कांग्रेससँग विकर्षित हुनुमा तत्कालीन प्रधानान्याधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याइनु, विवादास्पद व्यक्तिलाई राजदूत नियुक्ति गरिनु र प्रहरी महानिरीक्षक नियुक्तिमा विवादास्पद निर्णय लिइनुजस्ता कारणलाई पौडेल पक्षले मुख्य मुद्दा बनाइरहेको छ ।
‘हाम्रा परम्परागत मतदाताहरू अहिले पनि कांग्रेसमै छन् तर सहरी क्षेत्रमा खासगरी युवा मतदाताहरू कांग्रेसको विकल्प खोज्न लागिरहेका छन्,’ पौडेल पक्षीय एक नेताले भने, ‘पार्टी नेतृत्वले बाहिरी भावना नबुझी जे पायो त्यही निर्णय लिँदाको परिणाम नै कांग्रेस दोस्रो स्थानमा पुगेको हो ।’ वरिष्ठ नेता पौडेलले आइतबार पोखरामा बोल्दै स्थानीय तहको चुनावले कांग्रेसको विकल्प खोजेको बताएका छन् । उनले त्यस्तो विकल्प पार्टीभित्र खोज्ने कि जनतामा खोज्न पठाउने भन्ने निक्र्योल हुनुपर्ने विषय उठाएका छन् ।

कांग्रेसका युवा नेता शर्मा भने मतदाताहरूले नयाँ छवि खोजेको बताउँछन् । ‘अहिलेको चुनावले कांग्रेस नेतृत्वले आफ्नो धमिलो छवि बदल्नुपर्ने सन्देश दिएको छ,’ उनले भने । शर्माका अनुसार कांग्रेस दोस्रो स्थानमा पुग्नुमा चुनाव गराउने गम्भीरतासँगै चुनाव जित्ने तयारी नहुनु, कांग्रेससँग रहेका विगत र वर्तमानका मुद्दाहरू एजेन्डाका रूपमा जनताबीच लैजान नसक्नु, भारतीय नाकाबन्दीयता एमालेले उठाएको ‘उग्र’ राष्ट्रवादको नारालाई चिरेर अघि बढ्न नसक्नु मुख्य कारण हुन् । ‘कतिपय ठाउँमा उम्मेदवारी चयनका बारेमा पनि कुरा उठेका छन् तर त्यो नै अन्तिम र मुख्य कारण होइन ।

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउनुले पनि कांग्रेसलाई क्षति पुगेको निष्कर्ष खाँडको छ । ‘हामी तराई, मधेस र पहाडलाई समन्वय गरेर अघि बढ्नुपर्छ भनेर लाग्यौं तर एमालेले त्यसलाई आक्रामकसाथ मतदाताहरूलाई उद्वेलित बनायो । जनमत आक्रामककै पक्षमा गयो,’ खाँडले भने, ‘यद्यपि आम मतदाताहरू प्रदेश नम्बर ५ को भूगोल खण्डित नहोस् भन्ने पक्षमा थिए ।’

 

 





error: Content is protected !!