साउन १ गतेदेखि नेपाल टेलिभिजन मात्रै

काठमाण्डु, २५ असार– सरकारले एक वर्षअघि ल्याएको विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भए आगामी साउन १ गतेबाट नेपालमा सरकारी लगानीको नेपाल टेलिभजिन मात्र प्रसारण हुने भएको छ । डिस होम नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल केबल व्यवसायी महासंघले आइतबार प्रधानमन्त्री कार्यालय एवं सूचना तथा सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर क्लिन फिड नीति लागू भए सरकारी टेलिभिजनबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै टेलिभिजनको प्रसारण रोक्न बाध्य हुने चेतावनी दिएका हुन् ।

डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले व्यवसायीसँगको परामर्शबिना हचुवाका भरमा ल्याइएको उक्त नीति अव्यवहारिक भएकाले कार्यान्वयन गर्न नसकिने बताए । डिस होमसहित केबल प्रसारकहरु समेत उक्त नीतिको विरोधमा नरहे पनि प्राविधिक पक्षको अध्ययनै नगरी सरकारले नीति ल्याएकाले कार्यान्वयन पक्ष जटिल बनेको आचार्यको भनाइ छ । ‘हामी क्लिन फिड नीतिको विरोधमा थिएनौं र छैनौं । सरकारले प्राविधिक र व्यवहारिक पक्षको अध्ययनै नगरी हचुवाका भरमा ल्याएको नीति लागू गर्न हामी असमर्थ छौं’,  आचार्यले भने, ‘भारतीय च्यानलहरुले विज्ञापनरहित च्यानल पठाउन नसक्नेबारे स्पष्ट गरिसकेका छन् । यस्तो अवस्थामा हामी नेपाली च्यानल मात्र प्रसारण गरेर व्यवसाथ चलाउन सक्दैनौं ।’ तत्कालिन केपी ओली सरकारका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जाँदाजाँदै अन्तिम मन्त्रिपरिषद बैठकबाट क्लिन फिट नीति पारित गराएका थिए ।

आचार्यले उक्त नीति फिर्ता लिएर सरकारले व्यवहारिक नीति ल्याउनुपर्ने माग गरे । व्यवसायीले विज्ञप्तिमा सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित नीति, २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन–२०४९ विपरित रहेको दाबी गरेका छन् । सरकारले विज्ञापनरहित साउन १ देखि कार्यान्वयन गराउने बताइरहँदा अधिकांश भारतीय च्यानलले भने विज्ञापनबिना प्रसारण गर्न नसकिने बताइसकेका छन् । भारतीय प्रसार फोरम (आइबीएफ) ले समेत नेपाललाई क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी गराएको आचार्यले बताए । नेपालमा विदेशी च्यानलको छुट्ुटै फिड नभएको उनले जनाए । यदि विदेशी च्यानलले क्लिन फिड दिए पनि अत्याधिक महंगो पर्न जाने भएकाले नेपाली उपभोक्ताले च्यानलको शुल्क तिर्न नसक्ने उनले प्रष्ट्याए ।

विज्ञापन रहित नीति लागू भए नेपालमा केवल च्यानलमा भएको अर्बौ रुपैयाँको लगानी पनि खेर जाने दाबी व्यवसायीको छ । नेपालजस्तो भूपरिवेष्ठित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सो को कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दाबी व्यवसायीका छ । उनीहरुले नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा भएको अरबौंको लगानी डुब्ने भएकाले क्लिन फिड नीति लागू नगर्न माग गरेका छन् ।

विज्ञापन रहित नीति, २०७३ लागु भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले असार मसान्तभित्र विज्ञापनरहित नीति, २०७३ रद्द नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स–शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पूर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुने चेतावनी टेलिभिजन सञ्चालकहरुको छ ।
विज्ञप्तिमा त्यसबाट सरोकारवाला, प्रसािरक तथा उपभोक्तामा पर्न जाने असर तथा त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारसमेत सरकार हुने चेतावनी दिइएको छ । विज्ञप्तिमा नेपालमा प्रसारण हुँदै आएका ९५ प्रतिशत विज्ञापनसहितका विदेशी च्यानल रहेकाले ती च्यानलको नेपालका लागि विज्ञापनरहित फीड नभएको समेत स्पष्ट गरिएको छ ।

‘भारतीय प्रसारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी गराएको छ । नेपालका लागि अलग्गै फीड तयार गरी प्रसारण गर्न सम्भव नै छैन र प्रसारण हुँदा पनि नेपाली उपभोक्ताले क्लिन फिडबाट प्रसारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने पनि देखिँदैन’ विप्तिमा छ । विज्ञप्तिमा डिसहोमका तर्फबाट प्रमुख कार्यकारी आचार्य, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका सदस्य डिजिटल सिस्टम अफ नेपाल प्रा.लि. (विदेशी श–सुल्क च्यानल वितरक) का अध्यक्ष ध्रुव शर्मा तथा नेपाल केबल टिभी व्यवसायी महासंघका तर्फबाट अध्यक्ष सुधीर पराजुलीले हस्ताक्षर गरेका छन् ।





error: Content is protected !!