रुकुममा भलले ३ घरमा क्षति

मुसीकोट नगरपालिका–४, को कैनपानी खोलामा आइतबार बिहान आएको भलले ३ घरपरिवारमा क्षति पुगेको छ भने १० घर उच्च जोखिममा छन् । सोही वडाका खारास्वाँराका सावित्रा ओली, कृपाराम ओली र रिमबहादुर खड्काको घरमा क्षति पुगेको छ । बिहान ४ बजे आएको भल ३ वटै घरमा पस्दा घरमा रहेको लत्ताकपडा, अन्नपानी भाँडकुँडा पुरेको छ । सावित्रा ओलीका ५ वटा बाख्रा मरेका छन् ।

प्रहरी चौकी सोलावाङका अनुसार सावित्रा ओलीको १४ लाख २५ हजार, कृपाराम ओलीको १३ लाख ५ सय र रिमबहादुर खड्काको १३ लाख मूल्यबराबरको क्षति भएको छ । स्थानीय निर्मला ओलीका अनुसार भल आउन लागेको थाहा भएपछि मानवीय क्षति भने हुन पाएन । पुष्पलाल लोकमार्गको नालाबाट बगेको पानी बढ्दै जाँदा भल बनेर गाउँमा पसेको हो । उनीहरुको घरको साथै शौचालय तथा गाईभैंसी गोठमा समेत क्षति पुगेको छ । यसको साथै प्रहरी चौकी सोलावाङको शौचालमा पूर्णरुपमा क्षति पुगेको छ भने प्रहरीको भान्सामा समेत क्षति पुगेको छ । सोही खोलाको भलको कारण प्रमानन्द खड्का, मोहन खड्का, दीपक खड्का, बीरबहादुर खड्का, प्रकाश खड्का, खडक रावल, रमेश ओली, दीलिप सार्की, यज्ञबहादुर ओली र लोकबहादुर सार्कीको घर उच्च जोखिममा रहेको प्रहरी चौकी सोलावाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक निरक बस्नेतले जानकारी दिए ।

भलले घरमा क्षेती पुर्‍याएको थाहा पाएपछि मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतम, कार्यकारी अधिकृत परमानन्द घिमिरे तथा ४ नम्बर वडा अध्यक्ष निर्मलकुमार पुन पनि उक्त ठाउँमा पुगेका थिए । क्षतीको अवलोकन गरिसकेपछि नगर प्रमुख गौतमले भल पसेका घरको सम्पूर्ण सामान निकाल्ने व्यवस्था गर्न लागिएको बताए । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयलाई हिलोमा पुरिएको सामान निकाल्न सहयोग गरिरदिन आग्रह गरिएको गौतमले बताए । दीर्घकालीन रुपमा भल रोक्ने विषयमा के गर्न सकिन्छ भनेर तत्कालै छलफल गर्ने पनि गौतमले बताए । यसअघि नै उक्त ठाउँलाई जोखिमयुक्त राखेर जाली भर्न भनिए पनि लापरबाही हुँदा क्षति भएको मुसीकोट नगरपालिका कार्यकारी अधिकृत परमानन्द घिमिरेले बताए ।

 





error: Content is protected !!