गाउँलेले आफैं बनाए सडक

रुुकम । सडक निर्माणमा डोजर, स्काभेटर प्रयोग गर्ने चलन सुरु भएको लामो समय भइसक्यो । कुनै पनि सडक निर्माण गर्दा उपभोक्ता समिति होस्, वा निर्माण कम्पनी डोजर र स्काभेटरकै माध्यमबाट सडक बनाउँछन् । तर जिल्लाको एउटा सडक स्थानीयले आफैं खनेर बनाएका छन् ।
सानीभेरी गाउँपालिका ६ का स्थानीयले आफंै कुटो, कोदालो प्रयोग गरेर सडक मात्रै निर्माण गरेनन्, सडक निर्माणका लागि गाउँमा आएको नगद ३० लाख गाउँमै राखे । उनीहरूले सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर आएको ३० लाख र श्रमदान ५ लाख गरेर ३५ लाखमा १ हजार १० मिटर सडक निर्माण गरेका हुन् । सल्लीचौर–खेत–मेलचौर–घापागार–हाँसु–कोटगाउँ सडक निर्माण पूर्ण रूपमा उपभोक्ताको सहभागितामा मात्रै सम्पन्न गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दराम जैसीले बताए । गाउँको विकास पनि हुने, गाउँमा आएको बजेट पनि गाउँमै रहने भएपछि अन्य साधन प्रयोग नगरेर मान्छेबाटै सडक खनाएको उनको भनाइ छ । ‘गाउँको बेरोजगारी समस्या केही समयका लागि हल पनि हुने सडक राम्रो पनि हुने भएपछि मान्छेबाटै सडक खनाउने निर्णय समितिले गरेको हो,’ अध्यक्ष जैसीले भने, ‘सडक पनि निर्माण भयो, अलि अलि भए पनि पैसा गाउँमा आयो यसबाट गाउँले पनि खुसी छन् ।’

आर्थिक वर्षको अन्त्यतिर आएको उक्त बजेटबाट काम हुन्छ कि हुन्न भन्ने शंकाकै बीचबाट काम सम्पन्न भएको भन्दै निर्माण उपभोक्ता समिति दंग छ । पूर्ण रूपमा मान्छेले नै सडक निर्माण गरेपछि सडक वरिपरिको भूभाग पनि थर्कन पाएन । पूर्ण रूपमा गैंची, बेल्चा, घनको प्रयोगबाट सडक निर्माण भएको छ । सडक निर्माणका क्रममा दैनिक ५ सयभन्दा बढी स्थानीय जुटेका थिए । स्थानीय आफैंले गैंची, बेल्चाको सहयोगमा सडक निर्माण गरेको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए । सर्वसाधारण आफंैले सडक निर्माण गर्दा गाउँमा आम्दानी भएको र निर्माण भएको सडकको दिगोपना हुने उनको भनाइ छ । ‘योजना सम्झौताका बेला हामी आफैंले सडक बनाउने भनेर निर्माण उपभोक्ता समिति आएपछि हुन्छ भनेर पठाइदिएका थियौं,’ रानाले भने, ‘उनीहरूले काम गरेर देखाए यस्ता अरूलाई पनि प्रमोट गर्नुपर्छ भन्नेमा हामी छौं ।’

सडक निर्माण उपभोक्ता समितिका अनुसार ६ गाउँका स्थानीयले आ आफ्नो पायक पर्ने ठाउँमा काम गरेर घर तथा अन्य खर्चको जोहो गरेका छन् भने एक गाउँबाट अर्को गाउँ जोड्ने सडक पनि बनाएका छन् ।

 





error: Content is protected !!