सडक निर्माणलाई तीव्रता दिन डोल्पाको धाउनेमा सेनाको बेश खडा

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गतको खदाङ–त्रिपुराकोट खण्डको सडक निर्माण कार्यलाई तीब्रता दिनको लागि त्रिपुरा सुन्दरी नगरपालिका स्थित धाउनेमा सेनाले नयाँ बेश खडा गरेको छ ।
डोल्पा दुनैसम्म एकबर्ष भित्रै सडक जोड्नका लागि जाजरकोट–डोल्पा सडकखण्डको १०० किमि धाउनेमा ११ असार बाट नयाँ बेश थप्दै २० वटा कम्प्रेसर मेसिन सहित निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बडाईएको सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले बताए । सडकको कुल लम्बाई ११८ किमि सडकमध्ये १०९ किमि निर्माण भईसकेको र बाँकी भिर पहरायुक्त ९ किमि मात्रै बाँकी रहेको पहाडीले जानकारी दिए । बाँकी सबै सडकखण्ड कभर गरेर निर्माणकार्यलाई तीब्रता दिइएको उनको भनाइ थियो । अहिले खदाङ–त्रिपुराकोट खण्डको धाउने,चुँगाड,चिप्ले,श्रीविन्डे लगाएतको स्थानबाट दुईतर्फी रुपमा निर्माण सुरु गरेर दैनिक चारसय कामदार काममा खटिएको सेनाको भनाई छ ।
जाजरकोट–डोल्पा सडकले उत्तरमा नेपाल चिन सिमाना मोरिम्ला भन्ज्याङ तथा दक्षिणमा सुर्खेतको छिन्चु हुँदै बाँके जिल्लामा पर्ने नेपाल–भारत सिमानाको रुपैहिडिया सम्म जोड्ने भएकाले यस सडकलाई रणनैतिक महत्वको रुपमा समेत हेरिएको छ ।










