डाक्टर अर्याल टोलीको प्रयासले सुर्पनाले पाईन, पुनर्जन्म

जुम्ला । सुर्पना हमाल अहिले अस्पतालको शै्यामाथि जीवनको लामो सास लिईरहेकी छन् । सातौ गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाईन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तश्राव हुँदा धन्नै मृत्युको मुखमा पुगिनन् । मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ ।
३५ वर्षीय सुर्पना हमाल तिलागुफा गाउँपालिका ३ फोइमहादेव कालिकोट जिल्लाकी हुन् । चिकित्सकले सुत्केरी हुने दिएको समय भन्दा दुई हप्ता पछि ठेलिईन् उनी । मंगलबार बिहान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेकी उनलाई बेलुका ६ः०० बजे बेथा लागेको र ८ः३० बच्चा जन्मेको डा. अर्यालले बताउनुभयो । “उनको बच्चा जन्म्यो तर थाम्नै नसकिनेगरी पाठेघरबाट रगत अत्यधिक मात्रामा बग्न थाल्यो । यो दृश्यले हामीलाई निकै विचलित बनायो,” डा.अर्यालले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “पाठेघरदेखि भित्रसम्म फुटेको रहेछ, रगत थाम्नलाई हामी प्रतिष्ठानका डाक्टर, विद्यार्थी सबै लाग्यौं र पाठेघर पनि काटेर फाल्यौं ।” त्यो अवस्था देख्दा आफूहरुले उनी बाँच्छिन् भन्ने आशा पाँच प्रतिशत मात्र राखेको उहाँको भनाई थियो ।
सुर्पनालाई डाक्टर विद्यार्थीले नै रगत दिए
डा. अर्यालका अनुसार सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेको थियो । डा.अर्यालसँगै उपचारमा संलग्न प्रतिष्ठानका डाक्टर द्वोय रमेश भट्टराई, राजीव शाहले सुरुमा रगत दिएसँगै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पनि उनलाई रगत दिए । एकातिर रगत अर्कोतिर अक्सिन दिँदै गर्दा राती २ः०० बजिसकेको र त्यतिबेलासम्म उनी होस्मा नआएको डा.अर्यालले जनाउनुभयो । तथापि आधा घण्टाभित्र नै सुर्पनालाई ९ पिन्ट रगत चढाईएको उहाँको भनाई थियो ।
रक्तदाता सेना र प्रहरी
सुर्पनाले पुनर्जन्म पाउनुमा बिगतदेखि रक्तदान गर्दै आएको नेपाली सेना र नेपाल प्रहरीको पनि यतिबेला पनि ठूलो योगदान रह्यो । उनको जीवन बचाउन भगवती दल गण जुम्लाका जवानहरुसँगै गणपति सुशीलकुमार थापाले पनि रक्तदान गर्नुभयो । सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको टोली पनि रातको बीचमा रक्तदान गर्न त्यहाँ पुग्यो । डाक्टर, नर्स, विद्यार्थी सहितको प्रतिष्ठान परिवार, सेना, प्रहरीको समुल प्रयासबाट दिईएको १४ पिन्ट रगतबाट उनले पुनर्जन्म पाएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
‘पाठेघर दुई टुक्रा भएर जीवन मरणको अन्तिम अवस्थामा पुगेकी एउटा आमाको जीवन बचाएर बाल भविश्य सुरक्षित गर्ने डाक्टर, नर्स, विद्यार्थी, सेना प्रहरी सबैको प्रयासप्रति गर्व गर्दै रजिष्ट्रार काफ्लेले हार्दिक धन्यवाद पनि ज्ञापन गर्नु भएको छ । डाक्टर अर्यालले उनको अवस्था अहिले सामान्य रहेको जनाउनु भएको छ ।
उनका श्रीमान् जयबहादुर हमालले प्रतिष्ठानमा नपुर्याएको भए श्रीमती र छोरा दुवैको ज्यान अकालमा जाने बताए । प्रतिष्ठानले यति ठूलो काम गर्छ भन्ने नबुझेका उनले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई जीवन दिने सबैलाई भगवान्को संज्ञा दिए । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका दर्जनौ नागरिकको जीवनदाता बनेर नेपाली सेनाले ठूलो गुण लगाएको जनाउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका अधिकतम् जटिल घटनाको सारथी नेपाली सेना बन्दै आएको छ । शुरबहादुर सिंह÷रासस
क्याप्सन ः जीवनको अन्तिम अवस्थामा पुगेर पनि बचाईएकी कालिकोट तिला गुफा ३ फोईमहादेव गाउँकी सुर्पना हमाल । तस्विर ः शुरबहादुर सिंह÷रासस जुम्ला ।










