बालविवाह न्यूनीकरणमा बालबालिका

        जाजरकोट । बालबालिकाले बालविवाह न्यूनीकरणमा लागिपर्ने प्रतिबद्धता गरेका छन् । ५० प्रतिशतभन्दा बढी बालविवाह हुने जाजरकोटमा उनीहरूले न्यूनीकरण गर्न सक्रिय रहने प्रतिबद्धता जनाएका हुन् । बालबालिकाले जिल्लास्तरीय बाल भेलामा बुधबार यस्तो प्रतिबद्धता गरेका छन् ।
कम उमेरमा विवाह नगर्ने र अरूलाई पनि गर्न नदिन सक्रियतासाथ लागिपर्ने कुशे गाउँपालिकाकी कोपिला सिंहले बताइन् । यसका लागि बालबालिकाका साथै अभिभावक पनि सचेत हुनुपर्ने उनको भनाइ थियो । समाजमा सचेतनाको अभावले बालविवाह बढेको उनी बताउँछिन् । भेलाका सहभागीले बालबालिकासम्बन्धी कानुन नीति र विकास योजना निर्माणमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत सेवा प्रवाह प्रणालीलाई बालमैत्री बनाउँदै एक स्थानीय तहमा ३ वर्षभित्र कम्तीमा एक नमुना बालमैत्री विद्यालय घोषणा गर्ने, आगामी ५ वर्षभित्र जिल्लालाई बालमैत्री घोषणा गर्न रणनीतिक योजना परिमार्जन गर्ने प्रतिबद्धता गरिएको छ ।
त्यस्तै स्थानीय विकास योजना तर्जुमा प्रक्रिया र अन्य सामाजिक क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र उपेक्षासहित बालविवाह न्यूनीकरणमा क्रियाशील रहँदै ५ वर्षभित्र जाजरकोटलाई बालहिंसा र बाल श्रममुक्त बनाउने ७ बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरिएको छ ।
जिल्ला बालकल्याण समितिको आयोजनामा खलंगामा २ दिने बाल भेला भएको थियो । ३ नगरपालिका र ४ गाउँपालिकाका १ सय बालबालिका भेलामा सहभागिता थिए । त्यस क्रममा बालबालिकाले बाल अधिकार, बालबचाउ, बालविकास, बालसंरक्षण र बाल सहभागिताका विषयमा अन्तक्र्रिया गरेको महिला तथा बालबालिका अधिकृत पंकजाकुमार जोशीले बताइन् । भेलाले दीर्घबहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बाल सञ्जालसमेत गठन गरेको छ ।
जुनीचाँदे गाउँपालिका ५ की हीरा खडकाले बालमजदुरी र बालविवाह बढदै गएको तर सरोकारवालाले बेवास्ता गरेको बताएकी छन् । जसका कारण बालबालिकालाई जोखिमबाट बच्न कठिन भएको उनले बताइन् । घरपरिवार, विद्यालय र समुदाय बालमैत्री बन्न नसकेको खडकाको भनाइ छ । बालबालिकाका गुनासा सुनेपछि बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले आगामी दिनमा यस सवाललाई प्राथमिकतामा राखेर योजना बनाउने बताए ।

 





error: Content is protected !!