डोल्पामा नाकाबन्दी, दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प

रामचन्द्र न्यौपाने
, डोल्पा , दुर्गम जिल्ला डोल्पामा शनिवार देखि नाकाबन्दी भएको छ ।यहाँको एकमात्र यातायातको विकल्पको रुपमा रहेको हवाई यातायात तथा जिल्लामा दैनिक उपभोग्य बस्तु ढुवानीको अर्को माध्यम खच्चड शनिवार देखि पनि बन्द भएपछि डोल्पामा नाकाबन्दी भएको हो । यातायातको एकमात्र साधन जुफाल विमानस्थल गत असार एक गते देखि कालोपत्रेका लागि बन्द गरिएको छ, भने अर्को निर्माण कार्य सम्पन्न भएको मसिनेचौर विमानस्थलमा हवाई सेवा संचालनमा ल्याइएको छैन ।
वर्षायाम सुरु भएसँगै ढुवानी भाडा बडाउन माग गर्दै खच्चड व्यवसायीहरुले खच्चड बन्द गरेपछि डोल्पामा दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प भएको हो ।जाजरकोट डोल्पा सडक निर्माण अन्तर्गत खदाङ–त्रिपराकोट खण्डमा सडक निर्माणलाई तिव्रता दिइएकाले बाटो भत्केर असहज भएको हल्ला गरिएता पनि बाटो भने असहज नभएको नेपाली सेनाले जनाएको छ ।
बाटो सहज भएकाले जिल्ला बाहिर जाने मान्छे तथा खच्चडको लागि आवतजावत गर्न समस्या नभएको सेनाको भनाई छ । खच्चड व्यवसायीहरुले ढुवानी भाडामा वृद्धि गर्न बाटोलाई दोष दिएको सेनाको भनाइ छ । जहाज खच्चड दुबै बन्द भएपछि डोल्पालीलाई अत्यावश्यक खाद्यान्न ढुवानी गर्न समस्या भएको छ भने हवाई यातायात नहुँदा बिरामी उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको त्रिपरासुन्दरी नगरपालिकाका १ का स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए ।










