मुख्य निर्वाचन आयोगले यस्तो निर्देशन . प्रतिनिधि नभए पनि मतगणना नरोक्नू’

काठमाडौं , निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा दलका प्रतिनिधि उपस्थित नभए पनि गणना अघि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले उम्मेदवार वा उनीहरूका प्रतिनिधि हुन इनकार गरेको अवस्थामा समेत मतगणना गरी राख्न निर्देशन दिएको हो । स्थानीय तह पहिलो चरण निर्वाचनको मतगणनामा भएको ढिलाइपछि आयोगले ऐनमा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णयसहित यस्तो निर्देशन दिएको हो ।
आयोगले उम्मेदवार वा तिनका प्रतिनिधिले सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा समेत मतगणना कार्य अगाडि बढाउन सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
‘मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजका प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भए पनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरूको र उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरूले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको छ,’ बैठकपछि आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले निर्वाचन सम्पन्न भइसकेपछि मतगणना छिटो सक्ने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६० मा टेकेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।
‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६० मा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरूमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिनेछैन र यस्तो काम कानुनबमोजिम भएको मानिनेछ’ भन्ने व्यवस्था छ ।










