निर्माणपूर्वका संरचना बने भेरी–बबई डाइभर्सन

सुर्खेत , सुर्खेत । भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले तोकिएको समयमा निर्माणपूर्वका संरचना तयार गरेको छ । आयोजनाले सडक, डेढ सय मिटर सुरुङ र प्रवेशद्वार र रिङ प्लान्ट निर्माण गरेको हो । उसले प्रभावित क्षेत्रमा सामाजिक र आर्थिक विकासका क्रियाकलापसमेत सञ्चालन गरिसकेको जनाएको छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले निर्माणपूर्वका संरचना सबै बनाइसकिएको बताए । अन्य राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त भइरहेका बेला भेरी–बबईको भने असार मसान्तसम्म आधारभूत तयारी गर्ने लक्ष्यअनुरूप काम गरिएको उनले बताए ।
४ मेगावाटको डिजेल प्लान्ट जडान, २ लाख लिटर क्षमताको डिजेल भण्डार क्याम्प निर्माण गरिसकिएको छ । बबईमा ग्रामीण सडकहरूको ग्राभेल, खानेपानीका ७ इनार, सौर्य सिंचाइका लागि विद्युतीकरण, सिंचाइ नहर मर्मतलगायत क्रियाकलाप सञ्चालन भइसकेका छन् । टनेल बोरिङ मेसिन ९टीबीएम० आउन भने अझै २ महिना लाग्ने अनुमान छ । अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टीबीएम हाल चीनको सांघाईमा छ । टीबीएम पहाड फोर्न प्रयोग हुने चालकरहित अत्याधुनिक प्रविधिको मेसिन हो । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्न यो मेसिन प्रयोग हुँदै छ ।
अन्तर जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो तथा नमुना परियोजनामा पर्छ । यस्तै प्रकृतिका ७ आयोजना अध्ययनकै चरणमा छन् । आयोजनाका इन्जिनियर ढकालले सडक पहुँच, कम वातावरणीय क्षति, भेरीको पानी कम उपयोग, बाँधस्थलमा कम क्षति हुने भएकाले सिंचाइ विभागले भेरी–बबई अघि बढाएको बताए । बाँधस्थलमा ३० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ, जुन धेरै न्यून हो । ‘मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा वेसिनबाट अर्को वेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यो आयोजना एउटा नमुना बनेको छ,’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएकाले निर्धारित लक्ष्य हासिल गर्न सफल भएका छौं ।’
टीबीएमका लागि आवश्यक ५ मिटर ब्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार मजदुरबाट खनिएको छ । बाँकी १२ किमि सुरुङ खन्न टनेल बोरिङ मेसिनलाई कम्तीमा दुईरतीन वर्ष लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड ९कोभेक० ले लिएको छ । सिंचाइ विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको छ । आयोजनामा चिनियाँ र नेपाली कामदार छन् ।
सुर्खेतको भेरी–गंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडकखण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेन्ड ४० घनमिटर पानीलाई बबईमा फर्काइनेछ । बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको कुल लागत साढे १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३।१ अर्ब रुपैयाँ अप्रत्यक्ष तथा विद्युत्बाट २।१ अर्ब रुपैयाँ प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।










