रुकुमको तीन स्थानको मत गणना सुरु हुन अझै समय लाग्ने

रुकुम । बुधबार मतदान सकिएको तीन स्थानीय तहको मत गणना सुरु हुन सकेको छैन । दिउँसो सम्ममा ३ ओटै गाउँपालिकाका सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भैसक्ने र त्यसपछि मतगणना सुरु हुने बताइएको छ ।

भौगोलिक विकटताका कारण मत पेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याउन समय लाग्ने भएकाले मत गणनामा ढिलाई भएको हो । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालीका मध्ये सिस्ने र भूमेमा दिउँसो १२ बजेसम्म मतपत्र संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै पुथाउत्तरगंगा गाउँपालिकाका सबै स्थानबाट भने दिउँसो ३ बजे अगाडि मत पेटिका संकलन नहुने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यका अनुसार भूमे गाउँपालिकाका अधिकांश मतदान स्थलबाट मत पेटिका संकलन भैसकेको र ९ नम्वर वडा चुनवाङबाट मात्र मत पेटिका संकलन हुन बाँकी छ । भूमेको मत गणना सीमामा हुनेछ भने सिस्नेको रुकुमकोटमा हुनेछ । त्यस्तै सिस्ने गाउँपालिकाका १ सिस्ने र २ नम्वर वडा प्वाङबाट मत पेटिका संकलन गर्न बाँकी छ । पुथाउत्तरगंगा गाउँपालिकाकाका १,२,३,४,५,६ र ९ वडाको मत पेटिका पनि निर्वाचन अधिकृतको कार्यालय रहेको कोल पुर्‍याउन समय लाग्ने देखिएको छ । मतपेटिका संकलन पछि मात्रै सम्बन्धित निर्वाचन अधिकृतले सर्वदलिय बैठक गरेर मत गणना सुरु गर्ने बताईएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–२, पेल्माबाट निर्वाचन अधिकृतको कार्यालय रहेको कोल पुग्न २ दिनको समय लाग्छ । पुथाउत्तरगंगा–२, को पेल्माबाट सोही गाउँपालिका–१, को रन्मामैकोट आउन १ दिन र त्यहाँबाट कोल पुग्न अर्को दिन लाग्ने गर्दछ । पुथाउत्तरगंगाका १,३,४,५,६ र ९ नम्वर वडाको मत पेटिका पनि कोल पुर्‍याउन १ दिनभर लाग्छ । रन्मामैकोटबाट विहानै हिड्ने हो भने मुस्किलले बेलुकी मात्रै कोल पुगिन्छ ।
जिल्लाका ३ स्थानीय तहबाट १ सय ५५ जनप्रतिनिधि चुनिदै छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी उक्त जनप्रतिनिधि चुनिन लागेका हुन् । ३ स्थानीय तहबाट कुल १ सय ६१ जनप्रतिनिधि चुनिनु पर्नेमा ६ जना वडा सदस्य भने यस अघि नै निर्विरोध निर्वाचित भैसकेका छन् । भुमेमा ६ जना र पुथाउत्तरगंगा गाउँपालिकामा १ वडा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

 

 





error: Content is protected !!