जाजरकोटको दुर्गम भगबतिमा सिटामोल र जीवनजल समेत छैन

राजेन्द्र कार्की  भगवति ( जाजरकोट ) नलगाड नगरपालिका १३ भगवति औलगुर्ताका कमलबहादुर विश्वकर्मा ज्वरो आएर हैरान भएपछि उपचारका लागी स्थानिय भगवति स्वास्थ्य चौकीमा जानुभयो तर त्यहाँ सिटामोल समेत नभएपछि निराश भएर फर्किनु भयो । यहाँ सधै औषधीको अभाव भैरहन्छ । सामान्य खालका विरामीको समेत उपचार हुँदैन उहाँले भन्नुभयो ‘सरकारले निशुल्क दिने भनेको औषधी कहिल्यै पाईदैन । हामी जस्ता विकटका जनताको लागी सरकारी सेवा आकासको फल आँखा तरी मर जस्तै भएको छ ।’ अर्का स्थानिय टेकबहादुर गुरुङ्गले पनि औषधी औषधी नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उहाँको भनाई छ । ‘पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेर गएको थिए तर त्यहाँ जीवनजल नै रहेनछ ।’ उहाँले भन्नुभयो औषधी र स्वास्थ्यकर्मी अभाव भैरहने दुर्गमको स्वास्थ्य चौकी हो यो ।

भगवति स्वास्थ्य चौकीका स्वास्थ्य ब्यवस्थापन समितिका पुर्व अध्यक्ष अमर शाही पनि स्वास्थ्य संस्थामा औषधी नभएको बताउँनुहुन्छ । शाहीले भन्नुभयो राज्यको उदासिनता र उपेक्षाले गर्दा उपचारका लागी आउने सर्वसाधारण निशुल्क पाउनु पर्ने औषधी समेत नपाएर रित्तै फर्कन बाध्य छन् । सुगमका स्वास्थ्य संस्थामा मात्र औषधी पठाउने तर दुर्गम तथा दुरदराजका स्वास्थ्य संस्थामा सधै यस्तै समस्या भैरहने उहाँको भनाई छ । ‘राज्यले निशुल्क दिने भनेको औषधी नपाउँदा स्थानियहरु झारफुक र जडिवुटीको साहारा लिन बाध्य छन् ।’ डोल्पा जिल्ला सँग सिमाना जोडिएको साविकको भगवति गाविसको औलगुर्तामा रहेको यो स्वास्थ्य चौकी जिल्लाकै सवैभन्दा दुर्गम स्थानमा पर्दछ । स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधी निशुल्क वितरण गदै आएको दावी गरेपनि जाजरकोटको भगवति लगायतका ३१ ओटा स्वास्थ्य चौकीमा कहिल्यै सवै प्रकारका औषधी पुगेको पाईदैन । दुर्गमका बासिन्दा सामान्य रोगको उपचारको लागी पनि हजारौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्यतामा छन् । सरकारले सवै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुरयाउने उद्घोष गरेपनि जाजरकोटका दुर्गम बस्तीमा रहेका स्वास्थ्य संस्था नाम मात्रका छन् । सरकारी दावी भगवति स्वास्थ्य चौकीमा यतिवेला सिटामोल , जीवनजल , स्क्रयाविज , एसिलक , एमजिट लगायतका अत्यावश्यक औषधी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीका ईन्चार्ज स्वास्थ्य सहायक अरुणकुमार यादवले औषधीको अभाव नभएपनि पर्याप्त नभएको जानकारी दिनुभयो । केही अत्यावश्क औषधीको अभाव भएकोले जिल्ला स्वास्थ्य कार्यालयमा माग गरिएको उहाँले बताउनुभयो । केही दिन अघि मात्र लोकसेवाबाट आयोग पास गरेर पोष्टिङ्ग हुनुभएका यादवले अस्तब्यस्त अवस्थामा रहेको स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउने बताउनुभयो ।
तर जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले जिल्लामा औषधीको अभाव नभएको बताउँदै मागको आधारमा औषधी आपुर्ती गर्ने गरिएको बताउनुभयो । उहाँले औषधीको स्टक सकिएका स्वास्थ्य संस्थाले तत्काल औषधी माग गरेर लिन निर्देशन दिनुभयो ।
क्याप्सन ः स्वास्थ्य चौकी भगवतिको स्टोरमा मौज्दात औषधी र स्वास्थ्यचौकी भवन । तस्वीर राजेन्द्र कार्की
अन्नपुर्णपोष्टवाट साभार ।





error: Content is protected !!