सरकारी स्कूलका शिक्षकलाई छोराछोरी नीजि स्कूलमा पढाउन प्रतिबन्ध !

जाजरकोटः स्थानीय तहको निर्वाचनपछि निर्वाचित कुशे गाउँपालिकाको पहिलो बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान नदिने प्रबृत्तिको अन्त गर्न भन्दै गाउँपालिकाले अब देखि सामुदायिक विद्यालयका शिक्षकहरुका छोराछोरीलाई नीजिमा पढ्न रोक लगाउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी शिक्षकका छोराछोरी महँगा बोडिङ्ग स्कुलमा पढाउने तर सर्वसाधारणका छोराछोरीलाई आफु पढाउँदा खासै मिहिनेत र ध्यान नदिने गरेका कारण हामी यस्तो निर्णय गर्न बाध्य भएका हौं ।’ उहाँले गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने शिक्षकलाई कारवाही गरिने चेतावनी दिनुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आफु सक्रिय भएर लाग्ने बस्नेतको भनाई छ । गाउँपालिकाको बैठकले सडक यातायात, टेलिफोन र विद्युत सेवा जतिसक्दो चाँडो पुर्याउन आवश्यक पहल गर्ने निर्णये गरेको उपाध्यक्ष रामछाया शाहीले बताउनुभयो ।










