भोटको व्यापार, लोकतन्त्र र सपना

           जनक केसी
मैले पहिलो चरणको स्थानीय तहको चुनावकै सन्दर्भमा एक जना साथीलाइ अव म पनि प्रत्यक्ष राजनीतीमा आउदा कस्तो होला भनेर सोधेँ । उनले मलाइ भने किन अहिले नै राजनीतीमा आउने ? चुनावमा टिकट पाउनु र चुनाव लड्नु निकै महंगो भइसक्यो । उनले थपे पहिले वेसरी कमाउने अनि चुनावमा भने जति खर्च गर्न सक्ने भएर आउने । मैले फेरि भनेँ म त अव पैसा कत्ति पनि खर्च नगरेर चुनावमा लड्ने र जित्ने गरेर राजनीतीमा आउने सोचमा छु , सम्भावना कतिको होला ?अनि उनले हाँस्दै भने यो त मुर्ख कुरा भयो । चुनाव जित्नलाइ मात्र होइन टिकट पाउनलाइ समेत पैसा चाहिन्छ अव ।अनि फेरि मैले भनँे जनतालाइ समृद्धि चाहिएको हो कि दुइचार हजार? उनले जवाफ दिए हामी आफैले धेरै कुरा विगारेको हुनाले लोकतन्त्र र राजनीतीमा विकृति र पैसाको राज छ ।

त्यसैले त आज हाम्रो यो गति भएको छ त ।उनले मसंग गरेको तर्क कुनै ठट्टा या मजा थिएन हामीले भोगेको वास्तविक अनुभुतिको प्रतिविम्व थियो ।उनले मसंग भने जस्तै हाम्रो समाजमा राजनीती र राज्य व्यवस्थाका गलत सँस्कारहरुका वारेमा धेरै गुनासाहरु सुनिन थालेको वर्षाैं भइसकेको छ ।नेताले जनताको काम गर्दैनन् । नेताले आफनो भुडी मात्र भर्छन् । नेता गतिलो नभएको कारण हाम्रो गाउँ विकासमा पछाडि परयो । नेताकै कारण आज हामीले रोजगारी पाउन सकेनौं । नेता गतिलो नहुदा गाउँमा अराजकता फैलियो र जनताले न्याय पाउने वातावरण भएन । जताततै सवै प्रणालीहरु विग्रेका छन् । सर्वत्र दण्डहिनताले राज गरिरहेको छ । लोकतन्त्रमा पनि हामीले न्याय पाउने ठाउँ कतै भेटिदैन । हामीले भोगेको यथार्थतासंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका यी सवालहरु कुनै कल्पनामा वोलिएका या भोगिएका भनाइहरु होइनन्। नेताको अदुरदर्सी स्वभाव र शैली मात्र नभएर हामीले गरिरहेको प्रजातान्त्रिक अधिकारहरुको दुरुपयोगको विषय पनि यी सवालहरुसंग घनिष्ट रुपमा जोडिन्छ । यी विषयहरु हामीले वर्षाैं देखि भोग्दै आएका छौं । अझ देशको लामो राजनैतिक लडाइ र जनताले गर्दै आएको वलिदानीसंग पनि यी सवालहरुको गहिरो सम्वन्ध छ । आज लोकतन्त्रका लागि हामीले ७० वर्ष अघि सुरु गरेको लडाइको सपना भित्र पनि यी प्रश्नहरुको जवाफ भेटिन्छ । हामीले २०६२÷६३को ऐतिहासिक जनआन्दोलन मार्फत राजनैतिक लडाइ पनि पुरा गरेका छौं तर जनता आफै सहभागी भएका सवै राजनैतिक लडाइ र संघर्षहरु भित्र लुकाइएका सपनाहरु पुरा गर्न सकेका छैनौं । व्यवस्थाहरु फेर्दै गयौं अवस्थाहरु विग्रदै गए ।राजनीती जित्दै गयौं देश हार्दै गयो । नेताले पाउदै गए जनताले गुमाउदै गए । चिन्ता र गुनासाका पहाडहरु चुलिदै गए ।एउटा योग्य व्यक्ति अस्थायी शिक्षक हुन गाह्रो भयो । कुनै नागरिकको हत्या भयो भने उसले न्याय पाउछ भन्ने कल्पना गर्न पनि मुस्किल भयो । गाउँको विकासमा इमान्दारीतापुर्वक राज्यको पैसा सदुपयोग हुन्छ भन्ने कुरा पत्याउन गाह्रो भयो ।दलका घोषणापत्रहरु र सरकाले ल्याएका योजनाका पानाहरुमा कोरिएका शव्दहरुमा विकासको ओइरो लाग्यो तर यथार्थमा गरिवी र अभावको भारी वढ्दै गयो । त्यसैले हामीले चाहेको सम्वृद्धिको यात्रा सधै वाटोमै अलपत्र पर्दै गयो । सधै हामीले सपनामा देख्ने गरेको भविस्य हराउने गरेको छ । २०१५साल देखि हामीले आफना प्रतिनिधि छान्न भोट हालिरहेकै छौं । हामीले मौका पायौं तर चौका हान्न जानेनौं । अधिकार पायौं सदुपयोग गर्न सकेनौं । परिवर्तनको आसा मात्र गर्छौं अनुभुति गर्न पाउदैनौं । सधै उहि वेथितिको सिकार भएर शासित जनता वन्नु वाहेक अर्काे विकल्प पनि देखिदैन । नेपालमा जुनसुकै व्यवस्था आएपनि निको हुन नसकेका रोगहरु धेरै भए । गरिवी, भ्रष्टाचार, वेरोजगारी, दण्डहिनता र अराजक्ता समाज भित्र सधै सक्रिय छन् । जति ठुलो परिवर्तन भएपनि राजनैतिक अस्थिरता कहिले पनि मेटिन नसक्ने दाग जस्तै भएको छ ।विकासमा ढिला सुस्ती र अनियमितता, सरकारी सेवामा जनतालाइ हेप्ने र ठग्ने प्रवृत्तिहरु कुनै पनि व्यवस्था र कानुनले मेट्न नसक्ने गरि जरा गाडेर वसेका छन् । यी रोगहरु हाम्रा लागि क्यान्सर वनिरहेका छन् । यिनको उपचार पनि सम्भव छ तर हामी उपचार गर्ने वेला भने आफुले पाएको अधिकार वेच्न पुग्छौं । आफुले पाएको शक्तिलाइ गलत सँस्कारको हातमा सुम्पन पुग्छौं तर कल्पना मात्र सम्वृद्धिको गर्छांैं । हामी राज्यको अवस्था र व्यवस्थाले ठगियौं भनेर गफ मात्र गर्छाैं । आन्दोलन र संघर्षमा जनताले जित्यौं भनेर चार हात माथि सम्म उफ्रियौं तर हामी सधैं अर्कैका लागि उफ्रिएको जस्तो भएको छ । पार्टी भित्र इमानदारीताको राजनीती गर्नेहरु समाज, राजनैतिक सिद्धान्त र समृद्धिका लागि दुरदृष्टि राखेर काम गर्नेहरु भन्दा पैसाले अवसर किन्नेहरुका दिन आउन थाले । सधै नेताले काम गरेनन् भनेर सराप्ने जनताहरु पनि आफनो अमुल्य भोट प्रलोभन र पैसामा विक्रि गर्न थाले । दुइ चार हजारको लोभमा जव जनताले आफनो अधिकार र सार्वभौम शक्ति विक्रि गर्छन् भने उनीहरुले समाजका विकृतिहरुवाट पिडित हुदा कुनै पछुतो गर्नु जायज हो जस्तो लाग्दैन । मनले रोजेको भन्दा धनले रोजेको मान्छे छानेर आफु र आउने पुस्ताका लागि गद्धारी गर्नु कुनै वहादुरी होइन । राज्यको वेथितिलाइ सवै कुराको कारक मानेर अमुल्य मत विक्रि गर्नु आत्महत्या गर्नु वरावर हो । यत्रो वर्ष राजनैतिक विकृतिको शिकार भएर मर्नु न वाँच्नुको अवस्था सम्म पुग्दा पनि झुटो लोभ र पैसामा भोट विक्रि गरेर सार्वभौम नागरिकको कर्तव्य पुरा गरेको भन्नु मुर्खता र लोकतन्त्र प्रतिको गद्धारी वाहेक अरु केहि हुन्छ जस्तो पनि लाग्दैन । जनताका माझ आफनो क्षमता र योग्यता जचाउन नसक्ने दलका नेता र काम गर्न सक्ने योग्य व्यक्तिलाइ विना स्वार्थ छान्न नसक्ने जनतावाट लोकतान्त्रिक विधि र शासन फस्टाउला भनेर विस्वास गर्न सकिदैन ।

 

कसैले काम गरेर देखाउछ भने उसमाथि अन्याय गरेर पैसामा भोट विक्रि गर्नु र पैसाको वलमा राजनीतीमा आफनो स्थान सुरक्षित गर्न खोज्नु राजनीतीमा वेइमानी मात्र होइन आफै माथि गरिएको अपराध पनि हो । जुन दिन हामीले आफनो अमुल्य भोट विक्रि गर्न सुरु गरेका छौं त्यहि दिन देखि हामीले आफैले भ्रष्टाचारको विउ रोप्न पनि सुरु गरेका छौं । त्यसैले हत्या आतंक, अराजक्ता,भ्रष्टाचार र वेथितिका विरुद्ध चर्काे वन्न नसक्ने भएका छन् हामीले विस्वास गरेका पात्रहरु । यस्तै जव एक जना नेताले चुनावमा जित्नका लागि लाख करोड खर्च गर्नै पर्छ भने उसले चुनावपछि आफनो भलो नहेरेर कसको भलो हेर्छ? हामीले भोटलाइ पैसासंग साटन पुग्यौं भने जितेपछि नेताको पहिलो काम चुनावमा भएको खर्च असुल्ने हो ।जव नेताले चुनावमा खर्च भएको असुल्न थाल्यो भने उसले अनियमित काम गर्नै पर्ने हुन्छ । अनि उसले कसरी हाम्रो न्यायको लागि काम गर्न सक्छ?देश र समाजको सम्वृद्धिको लागि कति वेला सोच्ने समय पाउछ ?हामीले नेताको योग्यता र क्षमताका आधारमा भोट हाल्न थाल्यौं भने चुनावमा पैसा खर्च हुनै दिइनौं भने नेताले जनताको हित र विकासका लागि केहि गर्ने सोच वनाउन सक्छ नत्र भने चुनाव जितेपछि नेताको पहिलो प्राथमिक्ता आफनो व्यक्तिगत सम्वृद्धि उद्देस्य पुरा गर्नु नै हुन्छ । लाख करोड खर्च गरेर राजनीतीमा कोहि पनि जोगी वन्न चहादैन र सक्दैन पनि । त्यसैले हामीले आफनो भोट वेचेकै कारण नेताले भ्रष्टाचार गर्न उक्सिन्छन् । अनि त्यसको दोष अरु कसैलाइ नगएर हामी जनतालाइ मात्र जान्छ ।

दोष मात्र थोपरिदैन आउने पुस्ताको सराप पनि हाम्रै टाउकोमा वर्सिने छ भोलि । यसले हामीले ठुलो वलिदानीवाट आएको लोकतन्त्र फिक्का वन्ने मात्र होइन हाम्रो सपना झुट सावित समेत हुदै गइरहेको छ । लोकतन्त्रमा कानुनी राज्य र विधिको शासनको कल्पना गर्नेहरुले अधिकार र शक्तिलाइ वेच्नु भनेको जघन्य अपराध हो । यसर्थ हामीले देखेको सम्वृद्धिको सपना त्यहि लोकतन्त्रमा मात्र पुरा हुन्छ जहाँ जनताले शुद्ध मनले कुनै लोभ र प्रलोभनमा नपरेर आफना योग्य र सक्षम प्रतिनिधि छान्न सक्छन् । अनि आउने पुस्ता समाज र आफनैलागि सवै क्षणिक लोभ र स्वार्थ त्यागेर लोकतान्त्रिक अधिकारको प्रयोगमा अग्रसर हुन सक्छन् ।
— लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका निवर्तमान अध्यक्ष हुन् ।

 





error: Content is protected !!