अल जजिरामाथि साउदीको घृणा किन ?

यदि तपाईं अरब दुनियाँका अधिकांश नेता अल जजिरालाई किन यति धेरै घृणा गर्छन् भन्ने जान्न चाहनुहुन्छ भने यही च्यानलको एक कार्यक्रम ‘सरिया एन्ड लाइफ’ माथि चर्चा गर्नु जरुरी हुन्छ । वर्षौंदेखि अल जजिरा नेटवर्कको यो कार्यक्रम प्रशस्त लोकप्रिय रहेको छ । यसका दर्शक एक करोडसम्म पुगेका छन् ।

‘सरिया एन्ड लाइफ’ कार्यक्रमप्रतिको आक्रोश
यस कार्यक्रममा दर्शक मिश्रका मौलवी तथा मुस्लिम ब्रदरहुडका आध्यात्मिक नेता युसुफ अल कारदाबीसित आफ्ना आस्था र विश्वाससित जोडिएका प्रश्न सोध्ने गर्छन् । यस कार्यक्रममा मानिसहरू सबै किसिमका प्रश्न सोध्छन्— के रमजानको समयमा धूम्रपान गर्नु आवश्यक छ ? के प्यालेस्टाइनी महिलाले आत्मघाती हमलाको समयमा हिजाब पहिरिनु जरुरी छ ?

अरब दुनियाँमा मिडियामाथि कडा नियन्त्रण छ । प्रस्ट छ, अल जजिराभन्दा पहिले यस प्रकारको कार्यक्रम अरब दुनियाँका लागि असामान्य थियो । तर, कतारको स्वामित्ववाला यस नेटवर्कसित महत्वाकांक्षी पत्रकारिता गर्नका लागि समर्थन प्राप्त छ ।

मध्यपूर्वमा अल जजिराको लोकप्रियता
यिनै कारणले गर्दा मध्यपूर्वमा अल अजिराले निकै लोकप्रियता कमाएको छ । यस लोकप्रियतासँगै यसले शत्रुहरूलाई पनि खुबै आकर्षित गरेको छ । साउदी अरब र मिश्रका शासकहरू अल जजिरासित निकै असन्तुष्ट छन् । उनीहरूलाई इस्लामिक झुकाव मन परेको छैन । यसैले यिनीहरू आक्रोशित छन् । किनकि, यसले उनीहरूको शासनको आलोचना गर्ने गर्छ । अल जजिराले कतारका एजेन्डालाई अघि बढाएको उनीहरूको भनाइ छ । उनीहरूले वर्षौंदेखि अल जजिराको स्टेसन हटाउने माग गर्दै आएका छन् । साउदी अरब, मिश्र र जोर्डनले आफ्नो देशबाट अल जजिराको ब्युरो हटाइदिएका छन् । साउदी अरबले अल जजिराको प्रसारण हेर्ने होटेलमाथि पनि प्रतिबन्ध लगाइदिएका छन् ।

अल जजिरा बन्द गर्नु साउदीको मुख्य माग
अहिले कतार साउदीको नेतृत्ववाला देशहरूसितको राजनीतिक लडाइँमा फसेको छ । साउदीले कतारसित राजनीतिक संकट समाप्त गर्नका लागि जेजस्ता माग अघि सारेको छ, तिनमा अल जजिरामाथि रोक सबैभन्दा मुख्य रहेको छ । पूरै मध्यपूर्वमा ३५ करोड जनता अरबी बोल्छन् । सन् १९५०–१९६० को दशकमा रेडियो स्टेसनहरूले यी जनतासम्म पुग्ने कोसिस गरेका थिए । उदाहरणका रूपमा स्वात अल अरब रेडियो मिश्रले सुरु गरेको थियो । यसको माध्यमबाट मिश्रका तत्कालीन राष्ट्रपति गामेल अब्देल नासिरका अरबवादी विचारलाई फैलाउने कोसिस गरिएको थियो । स्वात अल अबर रेडियो अत्यन्त प्रभावकारी साबित भयो । परिणामस्वरूप साउदीमा नासिरका राजनीतिक विरोधीहरूले रेडियो स्टेसनमाथि प्रतिबन्ध लगाएका थिए ।

साउदी शाही परिवारलाई अल जजिरासित समस्या
९० को दशकमा साउदीको शाही परिवारले अरबी अखबार खरिद ग¥यो र पूरै इलाकामा यसको प्रसार ग¥यो । यस परिवारले एक स्याटेलाइट स्टेसन एमबिसी पनि विकसित ग¥यो, ताकि दर्शकसम्म पहुँच बनाउन सहज होस् । यद्यपि, यसको पकड कहिल्यै त्यति मजबुत हुन सकेन । तर, यसले अरब मिडियामा शाही परिवारको हस्तक्षेप छ भन्ने देखायो । स्वतन्त्र मिडियाको डरले यहाँका नेताहरूलाई यस कारण सताउने गथ्र्यो कि यदि बेरोकटोक सूचना प्रसारण हुन लागे भने जनताबीच उनीहरूको छवि खराब हुन्छ ।

कतारका राजकुमारले सुरु गरेका थिए अल जजिरा
अरबमा मिडियामाथि सिब्ली तेलहामीले एक पुस्तक लेखेका छन् । सो पुस्तकमा उनले लेखेका छन्— कतारका राजकुमार सेख हमद बिन खलिफा अल थानीले अल जजिरालाई सन् १९९६ मा सुरु गरेका थिए । यसको सुरुआतपछि कतारले यस नेटवर्कमा अर्बौं रकम लगानी ग¥यो । आखिर अल थानीलाई अल जजिरा सुरु गर्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?

थानीले कतारको सत्ता सम्हालेको मात्र एक वर्ष भएको थियो र साउदीद्वारा सञ्चालित अखबारहरूले उनको तिखो आलोचना सुरु गरे । सायद थानीको अलग छवि पेस गर्नु र साउदी नियन्त्रित मिडियाको प्रभाव कम गर्नु नै अल जजिरा स्थापनाको मुख्य उद्देश्य रहेको हुन सक्छ।

अरबमा अल जजिराको प्रभाव
तेलहामीले वासिङ्टन पोस्टसित भनेका छन्— दर्शकहरूका लागि यस नेटवर्कले स्पेस दियो, जहाँ विपक्षी विचारका लागि पनि स्थान थियो । अबरमा विपक्षी विचारको भोक निकै धेरै थियो । जनता थाहा पाउन चाहन्थे कि अरब र मुसलमानहरूसित के भइरहेको छ ? यस नेटवर्कले इजरायल र प्यालेस्टाइनबीच जारी रक्तपातपूर्ण संघर्षको प्रत्यक्ष प्रसारण सुरु ग¥यो । यसअघि इजरायल र प्यालेस्टाइनबीच जारी संघर्षलाई जनतामा जागरुकता आउने डरले गर्दा प्रसारण गरिन्नथ्यो । यस नेटवर्कले कैयौँ अहम् सीमा तोडेको छ । अल जजिराले आफ्ना रिपोर्टरहरूलाई इजरायलको संसद्मा पठाएर त्यहाँको बहस प्रत्यक्ष प्रसारण ग¥यो । गाजामा सन् २००८ को लडाइँको समयमा यसले कुनै पनि मिडिया हाउसको तुलनामा बढी रिपोर्टलाई रिपोर्टिङमा खटायो । यस युद्धको प्रत्यक्ष प्रसारण गर्ने अल जजिरा मात्र थियो ।

इजरायल–प्यालेस्टाइनबीचको संघर्षको प्रत्यक्ष प्रसारण
तेलहामीको भनाइ छ— अल जजिराका कारण इजरायल र प्यालेस्टाइन मुद्दामा कैयौँ प्रकारका स्वतन्त्र विचार आउन सुरु भए । सन् १९९० को दशकभन्दा अघिको इजरायलको विचारलाई पनि यस नेटवर्कले स्पेस दियो ।

यिनै अनेक विशेषताका कारण अल जजिरा प्रशस्त लोकप्रिय भयो । सन् २००१ सम्म अल जजिरा अरबमा सबैभन्दा बढी हेरिने न्युज च्यानल बन्न सफल भयो । सन् २००६ सम्म अरब दुनियाँमा ७५ प्रतिशतभन्दा बढी मानिसले अल जजिरालाई आफ्नो मन पर्ने च्यानल बताएका थिए ।

११ सेप्टेम्बर सन् २००१ मा जब अमेरिकामा आक्रमण भएको थियो, तब अमेरिकीले आरोप लगाएका थिए कि अल जजिराले अमेरिकी विदेश नीतिविरुद्ध मानिसहरूमा आक्रोश पैदा गराइरहेको छ । सन् २०१२ मा चीनले यस नेटवर्कको अंग्रेजी संस्करणविरुद्ध कारबाही गरेको थियो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी) बिबिसी हिन्दी डटकमबाट





error: Content is protected !!