हिंसा नसहने महिला

रबिना सलामी/ सुर्खेत लेकबेसी नगरपालिकाको दशरथपुरकी कल्पना रावतका श्रीमानले उनलाई  दैनिक कुटिरहन्थे । मदिरा खाएर आएपछि उनले श्रीमतीमाथि सारा रिस पोख्थे । श्रीमानको कुटाइले उनको शरीरमात्र होइन घरको अवस्था पनि जर्जर भइसकेको थियो । श्रीमानको विरुद्धमा पनि कल्पना जान नसक्ने र दिनहुँ कुटाइ खानुपर्ने बाध्यताको वीचमा उनी थिइन् । श्रीमानको यातना सहन नसकेर उनले नजिकै रहेको मेलमिलापल केन्द्रमा जव उजुरी दिइन, श्रीमानमाथि केरकार हुनथाल्यो । केन्द्रमा बोलाएर श्रीमानलाई सम्झाइ बुझाइ गर्न थालियो । अन्तमा आइन्दा कुटपिट गर्दैन, मिलेर बस्छु भनी कागज गराएपछि बल्ल कल्पनाका श्रीमान सही  बाटोमा आए ।  अहिले कुटपिट पनि गर्दैनन् । घरव्यवहार मिलेर विताएका छन् । यसैगरी सोही स्थानका चन्द्रमा थापा पनि श्रीमानको यातना पाईरहन्थिन् । उनका श्रीमानले चन्द्रमा जहाँ काम गर्न गयो, त्यही कुटपिट गर्ने गरेपछि न्यायका लागि नजिकैको  मेलमिलाप  केन्द्रमा उजुरी दिइन् । श्रीमानको यातना सही नसक्नु भएपछि उनले केन्द्रमा उजुरी दिएकी थिइन् । थापा भन्छिन्, श्रीमानको यातना कति सहनु्, अनि बाध्य भएर मेलमिलाप केन्द्रमा उजुरी दिए । तर अहिले भने उनीहरुको मिलापत्र भएको छ । मेलमिलाप केन्द्रले श्रीमानलाई बोलाएर चेतावनीसहितको सम्झाइबुझाइ गरेपछि अव आइन्दा यस्तो गर्नेछैन भनी कागज गरेपछि श्रीमानश्रीमतीको मिलापत्र भएको हो । चन्द्रमाका अनुसार सहेको सह्यै भए अहिलेसम्म पनि कुटाइ खानेथिएँ होला । तर सहनु हुन्न भनेर आँट गरेर उजुरी दिएपछि अहिलेको अवस्था आएको उनले बताइन् । श्रीमान त के, कसैको पनि हिंसा सहनु हुदैंन भन्ने शिक्षा  पाएको उनको अनुभव छ ।

यस्तै वीरेन्द्रनगर १० खजुराकी मान्झी आलेमगरको पीडा पनि कम छैन । उनका श्रीमान जुवातास खेलेर भएको सम्पत्ति पनि उडाउन लागेकोमा उनी चिन्तित थिइन् । जुवातास हारेको झोंकमा घरमा कुटपिट हुनुपनि सामान्य नै बनेको थियो । आफ्नो श्रीमानको त्यस्तो कार्यबाट आजीत भएकी आलेमगरले नजिकैको मेलमिलाप केन्द्रमा उजुरी दिइन् । केन्द्रले उनका श्रीमानलाई बोलायो । श्रीमान श्रीमती दुवैलाई संगै राखेर व्यापक छलफल गरेपछि सहमति भयो । आइन्दा जुवातास खेल्दैन, झगडा गर्दैन भन्नेमा सहमति भएपछि उनीहरुको दैनिक अहिले फेरिएको छ । घरायसी कामपनि उनीहरु मिलेर गर्दछन् । घरव्यवहार सम्वन्धीका कुराहरु श्रीमान श्रीमती दुवैजनाले मिलेर समाधान गर्ने गरेका छन् । यसैगरी वीरेन्द्रनगर १२ पिपिराकी जानकी न्यौपानेका श्रीमान अन्य केटीहरुसंग लाग्ने र घरमा सधैं झैंझगडा हुने गरेपछि घरको विवाद   मिलाउन  चाहन्थिन् । घरमा सधैंको किचकिच, घर व्यवहारप्रति कुनै चासो नदिने प्रवृत्तिबाट वाक्कदिक्क बनेकी न्यौपानेले पनि मेलमिलाप केन्द्रमै उजुरी दिइन् । केन्द्रले दुवैजनालाई संगै राखेर छलफल गरायो । श्रीमानले विगतमा आपूmले गरेका कामप्रति पश्चाताप पनि गरे ।

अवका दिनमा घरमै बस्ने, घर व्यवहारमा सघाउने प्रतिवद्धता जनाएपछि श्रीमानश्रीमतीको मिलापत्र भएको छ । अहिले आफ्नो श्रीमान परिवर्तन भएको देखेपछि न्यौपाने तीनछक्क परेकीछन् । पहिल्यै मेलमिलाप केन्द्रमा उजुरी किन दिइन भनेर उनी ठटटासमेत गर्छिन् । कल्पना, चन्द्र, मान्झी र जानकी घटनाका महिला प्रतिनिधि हुन् । अहिले घरेलु हिंसा नसहेर मेलमिलाप केन्द्रमा उजुरी दिनेको संख्या विगतको तुलनामा बढ्दो छ । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) द्वारा संचालित सामुदायिक मेलमिलाप केन्द्रमा आएका उजुरीहरुलाई सकभर मिलाएर समाधान गर्ने गरिएको छ । दशरथपुर केन्द्रका संयोजक दिपेन्द्र दलामीले २०७१ चैतदेखि स्थापना भएको केन्द्रमा अहिलेसम्म ६१ वटा विवाद दर्ता भएको बताए । ती सवै विवादहरु गाउँस्तरमै मिलाएको दावी उनले गरेका छन् । उनका अनुसार धेरैजसो श्रीमान श्रीमतीको झगडा, कुटपिट, साँधसँधियार, खानेपानी, आर्थिक लेनदेनका विवादहरु आउने गरेका छन् । सुरुमा नबोल्ने अवस्थाका उनीहरु मेलमिलापपछि मिलाएर गएको जानकारी संयोजक दर्लामीले दिए ।

सेलर्ड सुर्खेतले पनि मेलमिलाप केन्द्रहरु गाउँ तहका अदालत जस्तै भएको बताउँछ । सेलर्ड सुर्खेतका संयोजक लोकेन्द्र वंलीले गाउँका विवादहरुलाई गाउँमै समाधान गरेको उनले बताए । केन्द्रले अहिले विशेषगरी महिलालाई हिंसा नसहने बानीको विकास गराएको आफूले पाएकोले उनले जनाए । त्यस्तै सेलर्डको तथ्यांक अनुसार अहिलेसम्म करिव करिव एक हजार ७०० विवादहरु दर्ता भएका छन् । ती मध्ये घरेलु हिंसाका ९०, घरबार विग्रन लागेका ९० विवाद दर्ता भएका छन् । यी सवै विवाद मिलाउन सफल भएको दावी संयोजक वलीले गरेका छन् । आएका बिवादहरु सबै महिलासंग सम्बन्धित रहेको पाइन्छ । यस्तै श्रीमानले रक्सी खाएर श्रीमती कुटपिट गर्ने गर्ने गरेकोजस्ता विवादहरु आउने गरेकोले वलीले बताए । यस्ता विवादहरु मेलमिलाप केन्द्रमै मिलाउन सफल भएको उनले जनाए । वीरेन्द्र्रनगर केन्द्रमा मात्रै विवाद समाधान गर्ने २७ जना मेलमिलापकर्ता छन् । त्यसमा पनि धेरैजसो महिला मात्रै छन् । केन्द्रमा विवाद समाधान भएपछि त्यसको सवैभन्दा धेरै फाइदा महिलालाई नै हुने गरेको छ । श्रीमान श्रीमतीको विबादहरु वा सासु बुहारीका विबादमा विशेषगरी महिला हिंसामा प्रभावित वा घरेलु हिसाबाट प्रभावित महिलाहरुलाई आपmनो बालबच्चा, घरायसी ब्यवहार तथा सम्बन्ध बिच्छेदसम्म पुग्न लागेका विबादलाई मेलमिलाप केन्द्रमा छलफलगरी सकेपछि विबादका पाहरुलाई सहमतिमा ल्याइ दुवैलाई जितेको अनुभूति गराएर फर्काइने गरिएको छ ।

मेलमिलाप केन्द्रमा विवाद समाधान गर्दा एक रुपैयाँ पनि खर्च नहुने वलीले बताए । हिंसा महिलासंग जोडिएकोले गर्दा महिला नै बढी पीडित हुने गरेका छन् । गाउँगाउँमा मेलमिलाप केन्द्र स्थापना भएपछि महिलाहरु नै खुशी र सजिलो भएको महसुस गरिएको छ । महिला मात्र होइन पुरुषहरु पनि सचेत बनेका छन् । कुनै विवाद गर्नुहुदैंन भन्ने उनीहरुमा सचेतना जागेको छ । यदि विवादहरु उत्पन्न भइहालेमा मेलमिलाप केन्द्रमा सौहार्दपूर्ण वातावरणमा छलफल गराएर समाधान निकालिने भएकोले पनि स्थानीयहरु ढुक्क बनेका छन् । महिला हिंसा, घरेलु हिंसा सहनु हुदैंन भन्ने चेतनाको पनि विकास भएको छ । जति चूप लाग्यो, उति नै जोखिम हुनेभएकोले हिंसा सहनु हुदैंन भन्ने मानसिकता ग्रामीण क्षेत्रका महिलामा जागेको चन्द्रमाले बताइन् । पीडा सहेर बसेमा झन पीडा थपिन्छ भनेर पनि आप्mनै श्रीमानका विरुद्ध पनि उजुरी दिनुपर्ने उनको भनाइ छ । त्यतिमात्र होइन, आत्मनिर्भर बन्नुपर्ने ज्ञानको पनि विकास भएको चन्द्रमाले बताइन् । श्रीमानको मात्रै भर पर्नुहुदैंन, आफूले पनि केही काम गरेर घर चलाउन सक्नुपर्छ भन्ने भावनाको विकास पनि मेलमिलाप केन्द्रमा आउनेबाट ज्ञान पाउने गरेको उनको अनुभव छ । सेलर्डका सुर्खेतका संयोजक लोकेन्द्र वलीले पनि मेलमिलाप केन्द्रको स्थापनापछि महिलाले राहतको अनुभूति गरेको बताउँछन् । उनले मेलमिलाप केन्द्रमा दुवै पक्षको विजयको अनुभव गराउने, कुनै शुल्क नलाग्ने र महिलाले न्याय पाएको अनुभूति गराउने गरेको जनाए । सवैभन्दा ठूलो शिक्षा त हिंसा सहनु हुदैंन भन्ने कुराको ज्ञान  पाएको  दावी वलीले गरेका छन् ।

मेलमिलाप केन्द्रले सदरमुकाम तथा प्रहरीमा जाने उजुरीको संख्या पनि कम  गराएको उनको जिकिर छ । घरेलु हिंसा, आर्थिक लेनदेनजस्ता विवाद मेलमिलाप केन्द्रमै समाधान हुने भएकोले प्रहरी चौकी, अड्डा अदालतलाई थोरै भएपनि राहत पुगेको हुनसक्ने उनले बताए । गाउँगाउँका मेलमिलाप केन्द्रप्रति महिलाहरु बढी आशावादी बनेका छन् । आफूहरुलाई गाह्रो साह्रो पर्दा न्याय दिन ठाउँ नै मेलमिलाप केन्द्र भएको भन्दै उनीहरु बढी आशावादी हुनेगरेका छन् । ग्रामीण क्षेत्रका महिलाले अझ बढी आशा गर्ने गरेको बताइन्छ ।

यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि इक्वल एक्सेसले तयार पारेको हो ।

नारीजागरनवाट साभार ।




सम्बन्धित समाचार


error: Content is protected !!