ओझेलमा पुख्र्यौली काष्ठकला व्यवसाय

जाजरकोट , त्रिवेणी नलगाड नगरपालिका ७ दल्लीका नन्दराम चँदाराले दारपाखामा साना काष्ठ उद्योग सञ्चालन गरेका छन् । उक्त उद्योगबाट ठेकी, गाबु, कमली, फुरु, कोसीलगायत भाँडा उत्पादन हुन्छ । उनले जंगलमा खेर गइरहेको गिठाको काठबाट निर्माण गरेका भाँडामा दूध, दही, घिउ, नौनी, अन्न, गेडागुडीलगायत राख्न प्रयोगमा आउँछ ।
चँदाराले बाबुबाजेको पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका हुन् । तर, उनले उत्पादन गरेका भाँडाले उचित बजार मूल्य भने पाउन सकेका छैनन् । परम्परागत उद्योगबाट उत्पादन भएका काठका सामानको बिक्रीबाट घरपरिवार धान्न मुस्किल परेको उनले बताए ।
उनले सञ्चालन गरेको उद्योगबाट दैनिक ५/७ सय रुपैयाँ मात्र आम्दानी हुन्छ । उनले २० वर्षदेखि ठेकी, कमलीलगायत उत्पादन गर्ने व्यवसाय सञ्चालन गरेका हुन् । उनले उत्पादन गरेका भाँडा गाईभंैसी पालक किसानले बढी उपयोग गर्ने गरेका छन् ।
आधुनिक मेसिनबिना परम्परागत हाते औजारको प्रयोग गरेर उद्योगबाट आम्दानी लिन कठिन भएको उनले सुनाए । ‘यस्ता वस्तुको माग बढी छ तर मिहिनेतअनुसारको मूल्य छैन,’ उनले भने । जिल्लामा अन्य व्यवसाय सञ्चालनमा लागेका धेरै भए पनि ठेकी व्यवसाय सञ्चालन गर्ने उनी मात्र एक हुन् । विदेशमा गएर दु:ख गर्नुभन्दा गाउँघरमै व्यवसाय सञ्चालन गरी रोजगारी बढाउन लाग्नुपर्ने उनको
धारणा छ ।







