भाइरलले ३ को मृत्यु

डोल्पा , एक सातादेखि मुडेचुला गाउँपालिकाको सुर र नर्कुमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको छ । दुवै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । भाइरल ज्वरोले मुडेचुला ६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका महामारी नियन्त्रण शाखाका सम्पर्क व्यक्ति रनलाल कुलालका अनुसार तीनै जनाको एक साताको अवधिमा मृत्यु भएको हो । उनका अनुसार नर्कु र सुर गाउँमा १ सय २ जनामा ज्वरोको संक्रमण देखिएको छ । रोग नियन्त्रणका लागि इल स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटाइएको उनले जनाए । प्रकोप क्षेत्रमा ओषधिको अभाव हुन थालेकाले औषधि पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।










