राजपासँग सहमति भएन, बिहीबार पनि बैठक डाकियो

 काठमाडौं    , राष्ट्रिय जनता पार्टीले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने माग पूरा नहुँदा सम्म निर्वाचनमा नजाने धारणा राखेपछि बुधबार पनि कुनै सहमति भएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारमा बोलाएको राजपासहितको प्रमुख तीन दलको बैठकमा चुनावका लागि मनाउने प्रयास असफल भयो । राजपा नेताहरुले आफ्नो अडान दोहोर्‍याएपछि बिहीबार बिहान १० बजे बस्ने गरी बैठक सकिएको छ । बैठकअघि बिहीबार नै प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गर्नेछन् ।

‘संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने कुरा अहिले पूरा गर्न सकिदैन, अरु प्राविधिक बिषयहरु मिलाएर चुनावमा जाऔं भन्दा राजपा नेताहरु मान्नु भएन,’ बैठकबाट बाहिरिएका एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङले संवाददाताहरुसँग भने, ‘संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने माग पुरा नहुँदासम्म कुनै चुनावमा भाग लिदैनौ भन्ने उहाँहरुको भनाइ आएको छ ।’

विपक्षी एमालेले भने कुनै पनि बहानमा चुनाव सार्न नहुने धारणा बैठकमा राखेको छ । प्रधानमन्त्री देउवाले चुनाव तोकिएकै समयमा गर्ने प्रतिबद्धता जनाएकाले मिति यताउता नपार्न चेतावनी दिएको छ । ‘निर्वाचनलाई कुनै पनि निहुँ र बहातामा यताउता गर्न मिल्दैन, तोकिएकै समयमा सबै प्रदेशका चुनाव हुनुपर्छ भन्ने हाम्रो भनाई छ,’ नेम्बाङले भने ।

 





error: Content is protected !!