सितापाइलामा मेलम्चीको पाइपलाइनमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौं – मेलम्ची खानेपानी परियोजनाको पाइपलाइन खन्ने तथा पाइप विछ्याउने क्रममा काठमाडौं सितापाइलामा तीन जना मजदुरको ज्यान गएको छ ।
मंगलवार राति दुई बजे सितापाइला चोकमा पाइपलाइनमा पाइप विछ्याउँदै गर्दा उनीहरुको ज्यान गएको स्वयम्भु प्रहरीले जनाएको छ । खनिसकेको पाइपलाइनमा पाइप विछ्याउने क्रममा माथिबाट माटो खस्दा उनीहरु पुरिएका हुन् ।
माटोले पुरिएका उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा दुई जना सप्तरीका र एक जना पर्वतका रहेका छन् ।
प्रहरीका अनुसार सप्तरीका सन्तोष दास र श्यामसुन्दर रामको ज्यान गएको छ । त्यस्तै पर्वतका तेज प्रसाद केसी ज्यान गएको प्रहरीले जनाएको छ ।










