दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार, कसलाई भोट दिने भन्ने दोधारमा आमा

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका १ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ। आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो। जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् कान्छा छोरा लोकेन्द्र राना शीतल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन्। “दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ?” जञ्जालीले भनिन्, “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन।”  उनले कसलाई भोट दिने भनेर निर्णय गर्न सकेकी छैनन्। जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ। उनले भने, “दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ।” दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताइन्। “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन”, उनले भनिन्, “कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ।” काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भने, “भाइ माओवादी केन्द्रबाट लडेका छन्। दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ। तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु। बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ।” उनले भने, “भाइले पनि जित्छु भनेर उम्मेदवारी दिएको हो। मैले नि जित्छु भनेरै उम्मेदवारी दिएको हुँ। को जित्छ भन्ने थाहा पाउन मत परिणामलाई पर्खिनुपर्छ।” यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना शीतल बुबाले आफूलाई मत दिने दाबी गर्छन्। “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उनले भने, “यो सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु।” डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!