पारिवारीक पोषण पुरा गर्न घरबगैचा कार्यक्रम

जाजरकोट । पारिवारीक पोषण पुरा गर्नका लागि जाजरकोट जिल्लामा साविकका १० वटा गाविसमा घरबगैचा कार्यक्रम सञ्चालन भएको छ । खानाको बिबिधिताद्धारा पारिवारीक पोषण स्थितिमा सुधार ल्याई खाद्यसुरक्षामा टेवा पुर्याउनका लागि घरबगैचा कार्यक्रम जाजरकोट जिल्लामा सञ्चालन भएको हो ।
स्विस सरकार विकास सहयोगको आर्थिक सहयोगमा लि–बर्डले सञ्चालन गरेको घरबगैचा कार्यक्रम हो । जिल्लाका ७ वटा गाविसमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले समन्वय गरेको छ भने, ३ वटा गाविसमा जिल्ला कृषि विकास कार्यालय, जाजरकोटले समन्वय गरेको छ ।

चौथो चरणमा जाजरकोट जिल्लामा सञ्चालन भएको घरबगैचा कार्यक्रमले कम लगानीमा बगैचा निर्माण गर्न सकिने, घरका सबै सदस्यहरु सहभागी तथा व्यवस्थापन गर्न सकिने, महिला तथा पिछडिएका वर्ग सजिलै लाभाम्वित हुन सक्ने, स्थानिय श्रोतको प्रवद्र्धन तथा संरक्षण हुने, बाताबरण मैत्री, बिबिधतायुक्त जलवायु परिवर्तनसंग जुध्न सक्षम हुने, सामाजिक सदभाव कायम गर्न सक्ने पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले वताए ।
जिल्लामा यस कार्यक्रम लागु भएका ठाउँहरुमा श्रोत व्यक्तिको छनौट गर्नु तथा क्षमता विकास तालिम दिनुको साथै स्थानिय स्तरमै गएर नसरी तथा व्याड सम्बन्धिको तालिम दिईएको अध्यक्ष शाहले जानकारी दिए । उनले हाईब्रिट नभएर स्थानिय लोकल बीउ, सिंचाई सामाग्री वितरण गरिएको वताए । रसायिनिक मलको सट्टामा जैविक तथा गोठे मलको प्रयोग विधीकाबारेमा किसानहरुलाई तालिम दिईएको अध्यक्ष शाहले वताए ।
घरवगैचा भित्र तरकारी, फलफुल, जडिवुटी, आलंकारिक विरुवा, डालेघाँस र पशुपन्छीको व्यवस्थापन जस्ता कुराहरु पर्ने अध्यक्ष शाहको तर्क छ । घरवगैचावाट बहुबर्षिय धेरै उत्पादन लिन सकिने, मिश्रीत खेती प्रणाली, सौन्दर्यता बढाउन सकिने अध्यक्ष शाहको भनाई रहेको छ ।







