कर्मचारी अभावमा सेवा प्रभावित

जाजरकोट, भेरी नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । १३ वडा रहेको नगरपालिकामा एक कार्यकारी अधिकृत र दुई सचिव मात्र छन् । सबै वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको छ ।
भेरी नगरपालिका मात्र होइन छेडागार तथा नलगाड नगरपालिका र ४ गाउँपालिकाका वडा कार्यालय पनि सचिवविहीन छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ३ साता बित्दासमेत कर्मचारीको व्यवस्था हुन सकेको छैन ।
कार्यकारी अधिकृतसहित ३१ जना कर्मचारीले ७ स्थानीय तहका ७७ वडाको काम गर्दै आएका छन् । वडा सचिवविहीन कार्यालय करार कर्मचारीको भरमा सञ्चालन हुने गरेका छन् । ती वडा कार्यालयमा नेपाल सरकारका स्थायी कर्मचारी नहुँदा पञ्जीकरण लगायतका काममा बाधा पुगेको छेडागार नगर प्रमुख लालबहादुर महताराले बताए । एउटै सचिवबाट ३र४ वडा कार्यालयको काम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको नगर प्रमुख महताराले बताए ।
कर्मचारी अभावमा जनताको सेवा गर्न भनी चुनिएका प्रमुखरउप्रमुख, अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्षलाई कार्य गर्न सकस भएको उनले बताए । कर्मचारी अभावले गाउँरनगरले सबै वडा कार्यालय एकै ठाउँमा राखेर सेवा प्रवाह गर्न बाध्य भएको उनले बताए । ‘पञ्जीकरण कार्य स्थायी कर्मचारीबाहेक अन्यले गर्न नपाउने हुँदा झन् समस्या भएको छ,’ उनले भने । कर्मचारी अभावका साथै कार्यालय व्यवस्थापन नहुँदा जनतालाई परिवर्तनको अनुभूति दिन नसकेको उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सरकारी सेवा पाउन सहज होला भन्ने ठानेका सेवाग्राही विगतकै कार्यशैलीजस्तै सेवा प्रवाहमा ढिलासुस्ती हुँदा निरास बनेका छन् ।
गाउँरनगरपालिकाका ४ दर्जन वडामा कार्यालयसमेत स्थापना भएका छैनन् । निर्वाचित जनप्रतिनिधि भने भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभाव भन्दै पन्छिने गरेका छन् । दुर्गमका स्थानीय बासिन्दाले नागरिकता, पञ्जीकरण, विभिन्न सिफारिसलगायत सेवाका लागि सास्ती बेहोर्नु परेको छ । सरकारी सेवा पाउन विगतजस्तै कठिनाइ नहटेको नलगाड नगरपालिका–१ का सेते पुनले बताए । ‘कर्मचारीको रवैया पुरानै छ । समयमा सेवा पाउनभन्दा वडा अध्यक्ष र सचिव खोज्नै हैरान छ । निश्चित स्थानमा वडा कार्यालय पनि स्थापना भएका छैनन्,’ पुनले भने । प्रशासनिक सेवा सञ्चालन गर्ने कर्मचारीको अभावले स्थानीय तहमा सेवाग्राही मर्कामा परेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । ‘जनप्रतिनिधि मात्र आएर के गर्ने कर्मचारी अभाव नहटेसम्म सेवा प्रवाह सुचारु हुँदैन,’ उनले भने । अन्य प्राविधिक जनशक्तिको कुरै छाडौं । प्रशासनिक कार्य गर्ने जनशक्तिकै अभाव भयो,’ उनले बताए ।







