भेरी नगर र सम्वृद्धिका सम्भावनाहरु


—जनक केसी
पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ जाजरकोट
स्थानीय तहको निर्वाचनपछि मुलुक पुर्णरुपले संघीय संरचनामा गइसकेको छ । १० वर्षको शसस्त्र द्धन्द र १९ दिने जनआन्दोलन मार्फत जनताले निरङकुसता र एकात्मक राज्य व्यवस्था विरुद्ध अभुतपुर्व धावा वोले । गणतन्त्र र संविधान मात्र उनीहरुको अन्तिम अभिष्ट थिएन । गणतन्त्र र संविधान सभा मार्फत वनेको संविधान सवै प्रकारका वेथितीहरु, गरिवी र विपन्नताहरु माथि विजय प्राप्त गर्ने दरिलो अस्त्र भयो ।गणतन्त्र र संघीयता मार्फत राजनैतिक, आर्थिक एवम सामाजिक सम्वृद्धि प्राप्त गर्नु नै नेपालका सवै प्रकारका संघर्ष र आन्दोलनहरुको अन्तिम अभिष्ट हो । पुर्ण लोकतन्त्र प्राप्तीका लागि झन्डै ७० वर्ष देखि चल्दै आएको राजनैतिक लडाइका कारण हाम्रा सम्वृद्धि र विकासका धेरै सम्भावनाहरु आधा सताव्दीसम्म लुटिइदै आए ।

संविधान सभा मार्फत संविधान जारी हुने ऐतिहासिक अवसरपछि भएको स्थानीय तहको निर्वाचनले जनतामा वृहत रुपमा आसाको सन्चार गराएको छ । विगतको भन्दा अधिकार, स्वायत्तता र संरचनाका दृष्टिले निकै फरक शैलीमा तयार भएको स्थानीय तहमा जनताको समग्र सम्वृद्धिको रेखा कसरी कोरिन्छ भन्ने प्रश्न व्यग्र प्रतिक्षाका साथ जनताले उठाएका छन् । राजनैतिक लडाइ र संघर्षले लखतरान परेको हाम्रो गाउँ अनि समाजको सम्वृद्धिको यात्रा अव कसरी अघि वढ्छ भन्ने चासो तिव्र वनेको छ । यिनै पृष्ठभुमिमा जाजरकोट जिल्लाका सात वटा स्थानीय तह मध्य धेरैले श्रोत साधनमा गरिव भनेको भेरी नगरपालिकाको सम्वृद्धिको सम्भावनाहरु के के हुन सक्छन् भनेर यो लेख मार्फत छलफल गर्न खोजेको छु । अव नगरपालिका या गाउँपालिकाले सवै कुरा आफै वेहोर्नुपर्छ भन्ने कुरा मात्र छैन आफुसंग भएको श्रोत र साधनको खोजी गर्ने तथा उपयुक्त रुपमा परिचालन गर्ने काम पनि आफैले गर्नुपर्ने छ । यहि विषयमा नै हाम्रो नगरपालिका या गाउँपालिकाको सक्षमता र आत्मनिर्भरताको प्रश्न निर्भर गर्छ । एउटा परिपक्व र जनताको पक्षधर जनप्रतिनिधिले सवैको साथ र सल्लाहले अघि वढ्न खोजे भने र अप्ठेराहरुसंग लड्न खोजे भने परिवर्तनका सवै ढोकाहरु खुल्न कुनै वेर लाग्ने छैन ।प्राकृतिक श्रोत र सम्पदा एवम विकासका अन्य सम्भावना कम भएका स्थानीय तहहरुले विकासका योजनाहरु कसरी तर्जुमा गर्छन भनेर चिन्ता पनि भइरहेको छ । जिल्लाका सातवटा स्थानीय तह मध्य वारेकोट जडीवुटी, फलाम खानी, र दुर्लभ वन्यजन्तुहरुको वासस्थान, त्रिवेणीनलगाड नलसिंहगाड जलविधुत आयोजना निर्माण स्थलका कारण निकै समृद्ध वन्न सक्ने भनेर चर्चा भइरहेको छ । अन्य स्थानीय तहहरु पनि अन्य श्रोत साधन र उत्पादनका हिसावले निकै समृद्ध छन भनेर चर्चा गरिएको छ तर जिल्ला सदरमुकाम समेत रहेको भेरी नगरपालिकालाइ सवै भन्दा कम श्रोतसाधन भएको भनेर चर्चा गरिएको छ। भेरी नगरपालिकाको सवै भुगोल र अन्य अवस्थालाइ शुक्ष्म रुपले अध्ययन गर्ने हो भने यहाँ पनि धेरै सम्भावनाहरु भेटिन्छन् । परिवर्तनको अनुभुती जनतालाइ गराउन र सम्वृद्धिको नीती कार्यान्वयन गर्न सवैभन्दा पहिले जनप्रतिनिधिहरुले सवै प्रकारका मुलाहिजा त्याग्न जरुरी छ । आउने चुनाव हार्छु कि भनेर चिन्ता गर्ने जनप्रतिनिधिवाट कुनै असल र क्रान्तिकारी कार्यको आसा गर्नु पटमुर्खता मात्र हुन्छ। हामी पुरानो शैली र परम्परा वाट ग्रसित छौं त्यस कारण यहाँ नयाँ जरुरी छ। यसका लागि जनप्रतिनिधिले आउने चुनावहरु हार्ने जित्ने योजना वनाउन छोडे मात्र नगरको सम्वृद्धिको योजना कार्यान्वयन गर्न सम्भव छ । चुनाव जितेर मात्र केहि हुदैन। के का लागि चुनाव लडियोे ?

चुनाव जितेर के गर्ने ?५ वर्षे कार्यकाल सकिदै गर्दा जनतालाइ निरास पारेर वाहिरीने या खुसी र आसावादी वनाएर वाहिरीने प्रश्नले सधै नेतालाइ ताकेता गरिहनुपर्छ । नेताले पुराना वेथितिहरुका विरुद्ध चटटान वन्न सक्नुपर्छ । जसका लागि आफन्तकै विरुद्ध पनि लाग्नुपर्ने हुन सक्छ । केहि समय सवैका लागि पिरो हुनपर्ने पनि हुन्छ तर त्यति वेला आफनो भोट फुत्किने हो कि भन्ने कम्जोर मन वनाउदा भावी पुस्ताका लागि विष रोपिन सक्छ । यो कुरा असल राजनेताले मात्र विवेकपुर्वक सोच्न सक्छन् अरुवाट सम्भव पनि छैन । देख्नेले जे सुकै देखेपनि भेरी नगरपालिका श्रोत र साधनको हिसावले निकै सम्भावना वोकेको नगर भित्र पर्छ । यहाँको जल,जंगल जमिन र ऐतिहासिक एवम साँस्कृतिक विकासको सम्भावनालाइ यहाँको आर्थिक सम्वृद्धिका लागि प्रयोग गर्न नयाँ जननिर्वाचित नेतृत्वले अग्रसरता लिन सक्यो भने भेरी नगरपालिका वलियो रुपमा आत्म निर्भर वन्न सक्छ । कृषि, पर्यटन, उध्योग, उत्पादन र रोजगारीको लागि यहाँ अन्य स्थानीय तहहरुका भन्दा वढी सम्भावना देखेको छु । भेरी नगरका निम्न सम्भावनाहरुले यो नगरभित्रको मात्र नभएर समग्र जिल्लाकै आर्थिक सम्वृद्धिका लागि समेत गतिलो योगदान पुरयाउन सक्छ भन्ने लाग्छ । नगरभित्रका १३ वटै वडाहरु कुनै न कुनै हिसावले आर्थिक रुपमा सवल वन्न सक्ने आधारहरु प्रयाप्त छन् । भेरी नगरभित्र मैले देखेका सम्भावनाहरु —
१. वडा नं १ को मैदेमा करोडौंको मह उत्पादन हुन्छ । मह उत्पादनको प्रचुर सम्भावनालाइ प्रविधि, साधन र लगानीका लागि उचित व्यवस्थापन गर्न सकियो भने १ नम्वरवडाका वासिन्दाका लागि आर्थिक सम्वृद्धिको राम्रो श्रोत तयार गर्न सकिन्छ ।
२. नगरपालिकाका कालेगाउँ, मटेला, काँस्तरा, रिसाङ, भेरे, र राम्री, लगाएतका स्थानमा तरकारीको उत्पादन प्रशस्त हुने गरेको र उत्पादिन तरकारीको वजार र संकलनको व्यवस्थापन नहुदा किसानहरु मर्कामा रहेका छन् । जसका लागि आधुनिक कृषि प्रविधिको प्रयोग गरेर कुदु र खलंगा वजारमा संकलन केन्द्र स्थापना गर्दै नगर क्षेत्रभित्र उत्पादन हुने तरकारीको व्यावसायीकरणमा सहयोग पुरयाउन सकिन्छ ।
३. होलु जिउला र कुदुको धानफल्ने फाँटलाइ एक वाली धान र अन्य अवस्थामा तरकारीको खेती गरेर जिल्लावाट तरकारी निर्यातको अवस्था तयार गरि आर्थिक सम्भावना र रोजगारीका लागि गतिलो योगदान दिन सकिन्छ ।
४.वडा नं २ मा घरेलु कागज उध्योगका सम्भावना निकै छ जसका लागि तिमिले, डिंगा, पुराना रिसांग, राङसी लगाएतका स्थानमा पाइने लोक्ताको जंगलको संरक्षण र उक्त जंगल वृद्धिको योजना वनाएर नगर क्षेत्रभित्र कागज उध्योग खोल्न सकिन्छ जसले नगरको आर्थिक सम्वृद्धिमा सहयोग पुरयाउनुका साथै रोजगारीका अवसर सृजनागर्न सक्छ ।
५. नगरलाइ सफा र हराभरा वनाउनका लागि विभिन्न वडाका वजारहरुमा फोहर संकलन केन्द्र र कन्टेनर स्थापना गर्ने र हरियाली युक्त नगर वनाउनका लागि प्रति वडामा एक वर्षमा ५ सय रुख अनिवार्य रुपमा रोप्नै पर्ने नियम वनाउने र ५ वर्षको अवधिमा ३२ हजार ५ सय रुखका विरुवाहरु रोपेर जंगल वृद्धिको तयारी गरेर हरीयाली युक्त भेरी नगर वनाउन सकिन्छ ।
६.नगरपालिकाको धल्लामा रहेको सुनखानीको उचित व्यवस्थापन र खोजीनिती गर्ने तर्फ अग्रसरता लिएमा त्यसवाट पनि नगरवासीको आर्थिक सम्वृद्धिको मार्ग खोल्न सकिन्छ ।
७. नगरपालिकाको वडा नं ९ कालाभुरमा रहेको कोइला खानीको सम्भावनालाइ तत्काल पहिचान गरि त्यसको व्यवस्थापन र उत्खनन गर्न सके पनि नगरको सम्वृद्धिको वाटो खुल्न सक्छ ।
८. रिम्ना देखि भुर सम्मको भागमा वग्ने भेरीको किनारमा रहेको वालुवा, गिटटी र ढुंगाको उत्खननलाइ व्यवस्थित वनाउन सके र करलाइ पारदर्शि वनाउन सके नगरविकासको श्रोत व्यवस्थापनमा निकै राम्रो सम्भावना छ ।
९.२ सय ५८ वर्ष पुरानो जाजरकोटी राजाको दरवार (जहाँ जिल्ला प्रशासन कार्यालय रहेको छ) लाइ उचित संरक्षण गर्दै दरवारवाट हराएका र लुकाइएका महत्वपुर्ण वस्तुहरुको खोजी गरि जाजरकोट दरवार संग्राहलय वनाउने, शिवालय क्षेत्रमा रहेको डेढसय वर्ष पुरानो मन्दिरक्षेत्र,जगतिपुरको वाहुनगाउँमा जाजरकोट राज्यका सस्थापक जगतिसिंह मेदिनीवर्माले स्थापना गरेको वायुपंखी घटटको अवशेष, वाहुनथानको साङट गुफा , रानागाउँ स्थित विपी शान्ति वाटीका र रिम्नामा रहेको सहिद पार्कलाइ उचित संरक्षण र व्यवस्थापन सहित पर्यटकीय क्षेत्र वनाएर नगरको आर्थिक श्रोतको जोहो गतिलै हुन सक्ने छ ।
१०. जिल्लाको कला सस्कृतिको रुपमा रहेको वोहरा गाउँका वुढापाकाले गाउने सिंगारु गीत र नाँचका साथै, ख्याली, पैसेरी,ढिमेको खाँडो, ठाडीभाका हिउदाली भाका र कुदु क्षेत्रमा प्रचलित फाक गीतको उचित संरक्षणलाइ पनि ध्यान दिए नगरको साँस्कृतिक सम्वृद्धिमा सहयोग पुग्न सक्छ।
११. नगरको मात्र नभएर जिल्लाकै एतिहासिक सँस्कृतिको रुपमा रहेको परम्परागत लाखे नाँचको संरक्षण तथा प्रत्यक वर्ष पुस १३ देखि १५ गते सम्म थाप्लेचौरमा लाग्ने लाग्ने सामाजिक सद्भावको असल नमुनाको रुपमा रहेको रमाइलो मेलाको उचित व्यवस्थापन गरेर उक्त मेलालाइ जिल्लाको व्यापार र पर्यटन प्रवद्र्धनको उचित माध्यम वनाउन सकिन्छ ।
१२.नगरको छेउमा वग्ने भेरी नदीमा जलयात्रा अर्थात रयाप्टीङको सम्भावना निकै राम्रो भएकोले नगरक्षेत्रभित्र पर्ने भेरी किनारमा विभिन्न पार्क तथा पिकनीक स्पटहरुको निर्माण गर्न सके पर्यटन प्रवद्र्धन मार्फत स्थानीय रोजगारीको समस्या हल गर्न सहयोग पुग्न सक्छ।
१२. समाजमा वढ्दै गएको हत्या हिंसा र आतंकलाइ राजनैतिक संरक्षणका कारण जनताले यो देशमा कानुन छ भन्ने कुराको अनुभुति गतिलो गरि गर्न पाएका छैनन यसका लागि गल्ती गर्नेहरुलाइ कानुनको कठघरामा उभ्याउनका लागि नयाँ जनप्रतिनिधिहरुले गतिलो व्यवहारिक प्रतिवद्धता गर्नै पर्ने देखिन्छ जसले जनतालाइ सुरक्षित तरीकाले विकासको यात्रामा सहकार्य गर्न सजिलो होस ।
यी विषयवस्तुहरु समेटिएका सम्भावनाहरुलाइ भेरी नगरपालिकाकोआगामी नगरपरिषदमा लिएर निर्णय गराइ नगरपालिकाको वृहत गुरु योजना निर्माण गर्नका लागि सवै सरोकारवालाहरुले अग्रसरता लिएर समृद्ध भेरी नगर वनाउने काममा सवैको साथ भुमिका र सहयकार्यको जरुरी छ।




सम्बन्धित समाचार


error: Content is protected !!