को हुन् योगी, जसले जुम्लामा एमालेको शाख बचाए

जुम्ला । १५ वर्षको कलिलो उमेरमा २०४९ सालमा सरस्वती माध्यमिक विद्यालयमा पढ्दै गर्दा अनेरास्ववियूको प्रारम्भिक कमिटिका अध्यक्ष बनेबाट रतनाथ योगीको राजनीतिक यात्रा सुरु भयो । जानी नजानी उहाँ किशोर अवस्थामै अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष हुनुभयो । घरमा अग्रज दाईहरुको कम्यूनिष्ट पारिवारिक पृष्ठभूमि र उहाँहरुकै प्रेरणाबाट योगी उतिबेलादेखि नेमकिपा हुँदै नेकपा एमालेमा संगठित हुनुभयो ।
माता मैना योगी र पिता दलनाथ योगीका साईला छोराका रुपमा योगी २०३४ साल पौष १६ गते हालको तिला गाउँपालिका ४ अर्थात् साविकको कुडारी ६ रावतवाडा गाउँमा जन्मिनु भएको थियो । दुई दाजु दुई भाई, एक दिदी, एक बहिनी मध्यका उहाँ सामान्य घर परिवारमा जन्मेपनि सानै उमेरदेखि नै प्रगतिशील विचारधारालाई राजनीतिकको प्रमुख कडि बनाई निरन्तर अघि बढ्नुभयो । राजनीतिक यात्राको क्रममा उहाँ २०५३–०५५ मा जुम्ला बहुमुखी क्याम्पसको सचिव र अनेरास्ववियू जिल्ला कमिटिको अध्यक्ष बन्नुभयो ।
त्यसैगरी, ०५४–०५८ मा विद्यार्थीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै गर्दा योगी ०५७–०६० सम्म सानोठिमी भक्तपुर क्याम्पसको स्ववियू सचिवमा विजयी हुनुभयो । उहाँ २०६०–०६२ मा जुम्ला बहुमुखी क्याम्पस जुम्लाको सभापति पनि बन्न सफल हुनुभयो । ०६३–०६५ मा कार्यालय सचिव र ०६६–०७० सम्ममा एमाले पार्टी सचिवका रुपमा उहाँले काम गर्दै आउनु भएको थियो ।
विद्यार्थी कालमै ऋतिक रोशन, लाउडा प्रकरण, कालो बजारी विरुद्ध विभिन्न आन्दोलन गर्दै आउनु भएका योगीले ०६२–०६३ को जनआन्दोलनमा शाही शासनका विरुद्ध सडक आन्दोलन होमिनुभयो र राजा विरोधी आन्दोलन गरेको आरोपमा उहाँलाई तीन महिना थुनुवा पुर्जी काटियो । यद्यपि उहाँले जुम्ला प्रहरीमा ३१ दिन जेलजीवन भोग्नु भएको थियो ।
त्यतिमात्र नभई जुम्ला जिल्लाको साझा सवालमा बहस थालनी गर्दै आउनु भएका योगीले २०७२ सालको विशेष अधिकार सहितको कर्णाली स्वायत्त प्रदेशको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । सहिद हरिबहादुर कुँवर लगायतका युवाहरुको अगुवाई गर्दै आउनु भएका उहाँले उतिबेला आन्दोलनको व्यवस्थापन तथा घाईतेको उपचारमा पनि त्यत्तिकै योगदान पु¥याउनु भएको थियो ।
किशोर अवस्थादेखि हालसम्म झण्डै २५ वर्ष राजनीति गर्दा पार्टीभित्रको दुईलाईन संघर्ष उहाँको सफल राजनीतिक भविश्यको बाधक नै बन्यो । शक्ति, पहुँच, गुट–उपगुटको रोगले उहाँको राजनीतिक यात्रालाई कुपोषित बनाई राख्यो तरपनि राजनीतिक यात्रामा उहाँ कहिल्यै थकित हुनु भएन र अविचलित लागि रहनुभयो ।
तत्कालिन जनयुद्ध, जनआन्दोलनको उपलब्धीका रुपमा मुलुकमा सम्पन्न भएको पहिलो तथा दोस्रो संविधान सभा, नेपालको संविधान २०७२, र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएपश्चात मुलुक संघीय संरचना गई ७४४ स्थानीय तह कायम हुँदा नेपाल सरकारद्वारा पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नं. ३,४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहको चुनाव गर्ने घोषण गरियो ।
त्यही चुनावी पर्वमा भने नेकपा एमाले पार्टीका तर्फबाट युवानेता योगीले तिला गाउँपालिकाको अध्यक्षको उम्मेदवारीको टिकट पाउन सफल हुनुभयो । नेकपा माओवादी केन्द्रको आधार ईलाकाका नामले चिनिने यो गाउँपालिकाको टिकट पाउनु उहाँका लागि सजिलो थिएन । स्थानका हिसाबले यो गाउँपालिकामा एमाले तेस्रो नै थियो । तरपनि एमालेको गडका रुपम चिनिएको गुठिचौर, सिंजा र हिमा गाउँपालिका हार्दै गर्दा तिला गाउँपालिकामा भने योगी जित्न सफल हुनुभयो ।
आठवटा स्थानीय तहको चुनावमा हात धोईसकेको एमालेको शाख भने युवानेता योगीले तिला गाउँपालिकाको अध्यक्ष जितेर बचाउनुभयो । जहाँ, उहाँले पार्टीले आफूलाई तिला गाउँपालिकाको टिकट दिएर समाप्तिको संहारमा पु¥याएको महसुस गर्नुहुन्छ । आफू जित्नुमा उहाँ आफ्नो व्यक्तित्व, जनतालाई दिएको सेवाबाट प्राप्त परिणाम, सांगठनिक आधार र चुनावी रणनीतिलाई प्रमुख ठान्नुहुन्छ ।
अध्यक्षको रुपमा बहाली भईसकेका योगीले तिला गाउँपालिकाका समग्र जनताको लागि पहिलो ः सञ्चारमा पहुँच, दोस्रो ः भौतिक पूर्वाधार सडक, पूल निर्माण र तेस्रो ः आम्दानीको स्रोतको रुपमा विद्युतीकरणको योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो । त्यसको साथै उहाँले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका योजनालाई प्राथमिकीकरण गरेर अघि बढ्ने जनाउनु भएको छ ।





error: Content is protected !!