मौरीपालनबाट लाखौँ आम्दानी गर्दै जाजरकोटका किसान

विष्णु शर्मा, जाजरकोट
जिल्लामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जाजरकोटको भौगोलिक वातावरणअनुसार मह उत्पादन बढी हुन थालेपछि व्यावसायिक किसान बढ्दै गएका हुन् ।
पछिल्ला वर्षमा सडक यातायातले निकै सहज बनाएको सदरमुकामसम्मको सडकको स्तरोन्नतिपछि जाजरकोटको मुहार परिवर्तन भएको छ ।
मह उत्पादन पकेट क्षेत्र
सडक सञ्जाल सदरमुकामदेखि गाउँगाउँसम्म पुग्न सकेको छैन । विभिन्न उत्पादन र बजारीकरणका सम्भावनामध्ये जाजरकोटका केही गाविस मह उत्पादनको दृष्टिकोणले निकै प्रख्यात मानिएका छन् । मह उत्पादनका लागि चाहिने प्राकृतिक वातावरण यहाँका धेरै गाविसमा रहेको छ । वनभरि चिउरीका बुटा प्रशस्त रहेका कारण मौरीले आफ्नो वासस्थान यस्ता जंगलमा गर्ने गर्छन् । डाँडागाउँको कल्पत र पालिकामा चिउरीको जंगल प्रशस्त छ । चिउरीको जंगलमा मौरीपालनको सम्भावना अत्यधिक देखिँदै आएको छ ।
झुम्दै माउरी
चिउरी फुल्ने समयमा यो वन मग–मग बसाउँछ । यही वासनामा झुम्दै माहुरीले आफ्नो वासस्थानको खोजी गर्छ । पाली र कल्पतका कृषकले जंगलमा छाडेका घारभित्र माहुरी बस्ने गरेको बताए । त्यही घार उठाएर घरमा ल्याउने अनि उन्नत घारमा मौरी सारेर हजारौंँ आम्दानी लिन सफल भएका छन् यहाँका कृषक ।
मह वर्ष घोषणा
जिल्लामा उत्पादित महको बजारीकरणका लागि अहिले जाजरकोटलाई मह वर्षको घोषणा गरिएको छ । जिल्लाका कल्पत, पालीलगायतका स्थानमा उत्पादन भएको मह गाउँबाटै धमाधाम बिक्रीवितरण हुने गरेका कारण कृषक मह उत्पादनमा हौसिएका छन् । यद्यपि उनीहरूलाई सीप, प्रविधि र उन्नत घारसँगै बजारीकरणमा देखिएको चुनौती कम गर्न सके जाजरकोटको मह नेपालका लागि मात्र नभइ विदेशमा पनि बिक्रीको सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका अधिकारी बताउँछन् ।
सडक निर्माणमा महिला सहभागिता
कल्पत, पाली र डाँडागाउँको मह उत्पादन क्षेत्रको उकालो लाग्दै गर्दा यहाँका महिला गाविससम्म पुग्ने बाटो निर्माणमा जुटिरहेका भेटिन्छन् । धेरै महिला र थोरै पुरुष जम्मा भएर गाउँ जाने बाटो बनाउँदै गर्दा साविकको गाउँविकास समितिले राम्रो काम नगरेकोले आफैँ बाटो बनाउन तम्सेको उनीहरूले बताए ।
अधिकांश पुरुष कामको खोजीमा भारत जाने चलन यो गाविसमा पनि धेरै रहेछ । खोलाको पुलबाट गाउँमा पुग्नका लागि र मह किन्न आउने मानिस र अन्य पाहुना आउने सडक नभएका कारण जंगलमा हराउन थालेपछि महिला मिलेर सडक निर्माण सुरु गरिएको महिला अगुवाले बताए ।
गाउँका सडक खन्न आएकामध्ये धेरैजसो बालबालिका र सुत्केरी महिला पनि देखिने गर्छन् । डाँडागाउँ–१ पालीकी धनकुमारी विक सुत्केरी भएको तीन महिना भएको रहेछ । तीनमहिनाको दुधे बालक काखमा च्यापेर धनकुमारी गाउँको बाटो खन्न बिहानदेखि बेलुकासम्म गाउँलेसँगै जुटेकी देखिइन् । धनकुमारीको रहर नभएर बाध्यता रहेछ । घरको गरबीले लोग्ने कमाउनलाई काला पहाड गएपछि गाउँलेले लगाएको झारा तिर्न तीनमहिने दुधे बालक काखमा च्यापेर धनकुमारीले बिहानदेखि बेलुकासम्मै बाटो खन्नुपरेको बताइन् ।
सडक आउने आसमा स्थानीय
गाविस र जिविसले जाजरकोटमा हरेक वर्ष लाखौँ रकम विभिन्न शीर्षकमा खर्च गर्ने गरेका छन्, तर वास्तविक रूपमा यस्तो रकम लक्षित समुदायसम्म पुग्न सकेको छैन । गाविसको रकम आउला र सडक बन्ला भनेर कुर्ने अवस्था नरहेकाले आफ्नो बाटो आफैँ निर्माणमा जुटेको उनीहरू बताउँछन् ।
हरेक गाउँमा खर्च हुने रकममध्ये करिब ५० प्रतिशत रकम महिला, बालबालिका, कृषि, दलितलगायतका लक्षित वर्गसम्म अनिवार्य खर्च गर्नुपर्ने प्रचलन यस्ता गाविसमा लागू भएको देखिँदैन ।
वर्षौंदेखि माहुरीपालन गरेका परम्परागत कृषक अझै परिवर्तन हुन सकेका छैनन् । पहिचान बनाएका कृषकलाई जिल्ला कृषि विकास कार्यालयले आधुनिक घार वितरण गरेको भए पनि त्यसको प्रभावकारिताको ख्याल गरिएको छैन ।
सदुपयोग भएन बजेट
गाउँ विकास समितिमा लक्षित बजेटको सदुपयोग भएको देखिँदैन । धेरै किसान माहुरीपालनका लागि उत्साही छन्, तर उनीहरूलाई सहयोग हुन सकेको छैन ।
एक घार माहुरीले तीन महिनामै ७ हजार आम्दानी
पाली, डाँडागाउँ र कल्पत माहुरीपालनका लागि सम्भावना बोकेका स्थानमध्येमा पर्छन् । यहाँका बालबालिका, महिला, वृद्धलगायतको पोषण सुधार अभियानमा सहयोग पुर्याउने उद्देश्यले पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण सूक्ष्म परियोजना लागू गरिएको छ ।
अभियानअन्तर्गत कृषकलाई माहुरीसहितको आधुनिक घार वितरण गरिएको छ । अहिलेसम्म माहुरी नपाएका र माहुरीपालन व्यवसायमा नलागेका गरिब परिवारलाई समावेश गरेर सूक्ष्म परियोजना सञ्चालन गरिएको ग्रामीण सेवा प्रदायक राजेन्द्र विक्रम शाहले जानकारी दिए ।
२२ वर्षमै मौरीपालन व्यवसायमा लाग्ने चाहना राखेका हरिबहादुर पुनले परियोजनाले दिएको मौरीसहितको घारबाट उत्पादन गरेको १७ किलो ५ सय ग्राम मह घरबाटै बिक्री गरेर ८ हजार ४ सय रुपैयाँ आम्दानी लिइसकेको बताए ।
मौरीसहित घार पाएको तीन महिनामा चारपटक मह निकालेका पाली गाविसका अर्का कृषकले ७ धार्नी मह उत्पादन गरेकामा ६ धार्नी बिक्री भएको जानकारी दिए ।
अहिले पाली र कल्पतमा आएका मानिसले १ धार्नी मह १ हजार ३ सय रुपैयाँ तिरेर घरबाटै लिने गरेको उनको भनाइ छ । जिल्लाको डाँडागाउँ गाविसको पाली र कल्पतका किसानले परापूर्वकालदेखि मह उत्पादन गर्दै आएको बताए ।
५ देखि ७ किलोसम्म मह उत्पादन
परियोजनाबाट मौरीसहितका घार पाउने पाली र कल्पतका ३२ किसानमध्ये अधिकांशले ५ किलोदेखि ७ किलो ५ सय ग्रामसम्म मह उत्पादन गरेको बताए । घरमा पहिलोपटक उत्पादन भएको महलाई बिक्री गरेर आम्दानी लिइसकेका किसान असारसम्म तेब्बर आम्दानी बढ्नेमा विश्वस्त छन् ।
बजारीकरणमा समस्या छैन
मह उत्पादन धेरै हुने जाजरकोटका विभिन्न गाविसमा अहिले उत्पादन भएको महको बजारीकरणमा कुनै समस्या देखिँदैन । मह उत्पादनलाई थप प्रभावकारी बनाउन जिल्लाले सुरु गरेको ‘मह वर्ष’ले बजारीकरणमा प्रभावकारी भएको स्थानीयको भनाइ छ ।
परम्परागत रुपमा बिक्री
जिल्लामा उत्पादित मह अहिले पनि परम्परागत रूपमा बिक्री हुँदै आएको छ । अहिले गाउँ–गाउँमा मह खरिदका लागि रुकुम र डोल्पाबाट गाग्री बोकेर मानिस गाउँमै आउने गरेका छन् । उत्पादित महलाई लेबलिङ र प्याकेजिङ मात्र गर्न सके हालको मूल्यमा दोब्बर वृद्धि हुन सक्ने किसान बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले ‘मह वर्ष’ अभियानसँगै कृषकलाई तालिम र बजारीकरण अभियान थाल्ने बताएको छ । मह प्याकेजिङ पकेट जिल्लामा आएर सुरु गरिने कार्यालयको भनाइ छ । मौरीपालन व्यवसायमा आबद्ध भए पनि आधुनिक घार नहुँदा किसानले लागतअनुसारकोे आम्दानी लिन सकेका छैनन् ।
पाली, कल्पत र मैदे गाविस मह उत्पादनमा अग्रणी
जिल्लाको पाली, कल्पत र मैदे गाउँलाई अर्गानिक महको राजधानी भन्ने गरिएको छ । घरमा एक घार मौरी नभएका किसानले पहाडी कृषि पारिस्थितिकीय प्रणालीमा पोषण परियोजनाको आर्थिक सहयोग र हिमालय समाज विकास केन्द्र जाजरकोटको प्राविधिक सहयोगमा मौरीसहितका घार पाएपछि यो वर्षदेखि नै मह बिक्री गर्न थालेका छन् ।
यसै वर्षदेखि घारबाट मह बिक्री गर्न सुरु गर्ने किसानमा पालीका लक्ष्मी पुन, विनिता पुन, धनिकला थापा, किरण घर्तीलगायतका १६ किसान रहेका छन् । गत असोजको अन्तिम सातातिर पहाडी कृषि पारिस्थितिकीय प्रणालीमा पोषण परियोजनाको आर्थिक सहयोगमा वितरण गरिएका मौरीसहितका घारबाट मह उत्पादन गरेर घरबाटै मह बिक्री गरिसकेको उनीहरूले बताए । परियोजनाबाट प्राप्त गरेका मौरीसहितको घारबाट ३ किलो ७ सय ५० ग्रामदेखि १७ किलो ५ सय ग्रामसम्म मह उत्पादन गरिसकेका छन् । पहिलोपटक मौरीपालन सुरु गरेका भविलालले नयाँ घारमा नयाँ मौरी भएकाले अरूको तुलनामा मह कम उत्पादन भएको बताए । १७ किलो ५ सय ग्राम मह उत्पादन गर्ने किसानमा कल्पतकै हरिबहादुर पुन रहेका छन् । पालीकी विनिता पुनले ५ किलो मह उत्पादन गरेकी छिन् भने लक्ष्मी पुनले १२ किलो ५ सय ग्राम मह उत्पादन गरेको जानकारी दिइन् ।







