प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवाको मनोनयन दर्ता प्रस्तावकमा माओवादी केन्द्र अध्यक्ष दाहाल र समर्थकहरुमा रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, जयदेव जोशीलगायत

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार बिहान ११:३० मा संसद् भवन पुगेर देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थकहरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह छन् ।

प्रधानमन्त्री निर्वाचन कार्यक्रमअन्गर्गत आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री चयनका लागि निर्वाचन भने भोलि आइतबार हुनेछ ।
शनिबार अपरान्ह ४:३० बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने र २१ गते आइतबार बिहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत (निर्वाचन) गर्ने कार्यक्रम छ । राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि दिएको समय बुधबार नै सकिएपछि राष्ट्रपतिले संसदलाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित गर्न आह्वान गरेकी थिइन् ।


कान्तिपुरवाट साभार







