माओवादीमा यी सांसदलाई मन्त्रीमा नो इन्ट्री, को–को हुने भए मन्त्री ,शक्ति वस्नेत फेरी गृहममन्त्री वन्ने पक्का

काठमाण्डु, १९ जेठ– सत्तारुढ नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र अवसर दिने भएको छ ।
संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै माओवादी मन्त्री चयनको तयारीमा जुटेको हो । केन्द्रका एक वरिष्ठ नेताले यसपटक जनताबाट प्रत्यक्ष निर्वाचित भएकालाई मात्र अवसर दिनेबारे छलफल चलिरहेको जानकारी दिए । माओवादीमा जम्मा २६ सांसद मात्र प्रत्यक्ष निर्वाचित छन् ।
संसदमा माओवादीका हाल ८२ सांसद छन् । माओवादीले देउवा सरकारमा उपप्रधान, गृह र परराष्ट्रसहित ११ मन्त्रालय पाउने पक्का भएको छ । प्रत्यक्ष निर्वाचित हुनेमा कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गणेशमान पुन, सन्तकुमार चौधरी, प्रभु साह, श्यामकुमार श्रेष्ठ, उमेश यादव, शम्भुलाल श्रेष्ठ, शिवकुमार मण्डल, छमबहादुर गुरुङ र गौरीशंकर थारुलगायत छन् ।
प्रत्यक्षमा निर्वाचित बाबुराम भट्टराईले भने संविधान जारी भएलगत्तै राजीनामा दिएर नयाँ शक्ति पार्टी गठन गरेकाले उनी सांसद छैनन् । रोल्पा–२ बाट प्रत्यक्ष निर्वाचित ओनसरी घर्तीमगर सभामुख छिन् । समानुपातिक र समावेशी एजेण्डा आफ्नो दाबी गर्दै आएको माओवादीले समानुपातिक तर्फका सांसदमाथि विभेदकारी व्यवहार गर्न खोज्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
मन्त्रीमा कस-कसको पल्लाभारी
यसपटक एकचोटि पनि अवसर नपाएकालाई मन्त्री बनाउनुपर्ने लविङ माओवादीमा तीव्र रुपमा उठेको छ । यदि एकपटक पनि नभएकाले अवसर पाउने हो भने महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, सन्तकुमार चौधरी, प्रभु साह, श्यामकुमार श्रेष्ठ मन्त्री हुने करिब निश्चितजसतै छ । यी सबै पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा समेत मन्त्रीका तीव्र आकांक्षी थिए । वर्तमान सरकारमा उपप्रधानसहित अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र जनार्दन शर्मा देउवा सरकारमा समेत मन्त्री बन्ने निश्चितजस्तै छ । महराले पार्टीका तर्फबाट नेतृत्व गर्दै उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा आँखा लगाएका छन् । हालका उर्जामन्त्री शर्माको गृहमा दाबी छ ।
केपी ओली सरकारमा मन्त्री भएका कारण प्रचण्ड सरकारमा मन्त्री हुन नपाएका मध्ये हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, अग्नि सापकोटा मन्त्री बन्ने पक्काजस्तै छ । लोडसेडिङ अन्त्य गरेर पार्टीबाहिर समेत लोकप्रिय छवि बनाएका शर्मालाई पुनः उर्जामै जिम्मेवारी दिनुपर्ने भन्दै केही नेताले लविङ गरिरहेका छन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष शर्मालाई निरन्तरता दिनुपर्ने र त्यसमा पनि उर्जाकै जिम्मेवारी दिनुपर्ने माग राखिसकेका छन् । शर्मालाई उर्जामै दोहो-याउन प्रधानमन्त्री प्रचण्ड, प्रभावशाली नेता वर्षमान पुन, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी समेत राजी भइसकेका छन् ।
ओली सरकारमा गृहमन्त्री रहेका बस्नेतले पुनः गृहकै जिम्मेवारी पाउने सम्भावना प्रबल रहेको स्रोतले बतायो । ओली सरकारमा हुँदा भारतीय नाकाबन्दीको कुशलतापूर्वक प्रतिवाद गरेको, हालै सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश इन्चार्जका हैसियतमा ६ नम्बर प्रदेशमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको, जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा समेत पार्टीको मुल लाइन र नेतृत्वका पक्षमा दृढतापूर्वक उभिएको तथा समन्वयकारी चरित्रका कारण बस्नेतलाई प्रचण्डसहित धेरै नेताले पुनः गृहमन्त्री बनाउन चाहेको केन्द्रीय कार्यालयका एक वरिष्ठ सदस्यले बताय ।
यी परे अभागी !
समानुपातिकबाट निर्वाचित सांसदलाई मन्त्री नबनाउने मापदण्डमा सहमति भए यसपटक केही सम्भावना भएका नेता अन्यायमा पर्नेछन् । त्यसमध्ये पहिलो नम्बरमा छन् रामनारायण बिडारी । अधिवक्तासमेत रहेका बिडारी प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्रीका प्रबल दाबेदार दिए । तर, बिडारीलाई नदिई कानुन नबुझेका तथा कनिष्ठ अजयशंकर नायकलाई कानुनमन्त्री बनाइएको थियो । यस्तै रेखा शर्मा, अमनलाल मोदी, सीता नेपाली, रुपा महर्जनसहित सांसदको मन्त्री हुने बाटो बन्द हुने भएको छ ।







