जाजरकोटमा पाठेघर खस्ने समस्या विकराल

जाजरकोट । भेरी नगरपालिका–१० पल्सेनिकी लालसरी डाँगीले १४ वर्षकै उमेरमा विवाह गरिन् । १८ वर्षकै उमेरमा आमा बनिन् । पाठेघर खस्ने समस्या तेस्रो चरणमा पुगेकी डाँगीले २०७१ मा रुकुमको चौरजहारी स्थित मिसन अस्पतालमा सफल शल्यक्रिया गरेपछि पुर्नजीवन पाएकी छन् ।

लालसरी जस्तै भुर–५ की सपना परियारले पनि १६ वर्षकै उमेरमा विवाह गरिन् । विवाह गरेको ६ वर्षमै तीन सन्तानकी आमा बनिन् । लालसरी जस्तै सपनाको पनि पाठेघर खस्ने समस्या तेस्रो चरणमा पुगेपछि मात्र शल्यक्रिया भयो । १४ वर्षकै उमेरमा विवाह गरी १५ वर्षमा पहिलो सन्तान जन्माएकी लहँ–३ मानचौरकी ३३ वर्षीय सीतावली ५ सन्तानकी आमा हुन् । सुत्केरी भएको महिना नपुग्दै घाँसदाउरा गर्नुपर्ने भएकाले आँङ खस्न सुरु भएको सीताले बताईन । तर लाजले लामो समयसम्म पिडा सहेरै बसेकी थिइन् । उनी जस्तै लाजले रोग लुकाएर बस्ने धेरै महिला यहाँ छन् ।

सानै उमेरमा विवाह गर्दा र सुत्केरी भएको बेला गह्रौ भारी बोक्नु पर्दा पाठेघर खसेको उनीहरूको अनुमान छ । वातावरणीय कृषि विकास केन्द्र (केड) नेपालले जाजरकोटका ८ वटा गाविसमा गरेको सर्वेक्षणबाट ४७ प्रतिशत महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याकले १४ वर्ष देखि ७० वर्ष उमेर समूह सम्मका महिलाहरुमा पाठेघर खस्ने समस्या देखाएको छ । नेपालमा झन्डै १० लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।

स्वस्थ जीवनयापन गर्न पाउनु देशको विद्यमान कानुन अनुसार जन्मसिद्ध अधिकार भएतापनि ग्रामीण क्षेत्रमा बस्ने महिलाहरू पाठेघर खस्ने समस्याबाट वर्षसम्म प्रताडित हुनुपर्ने अवस्था रहेको केडका कार्यक्रम अधिकृत रामविक्रम शाहले बताउनुभयो ।कम उमेरमा विवाह गर्दा धेरै बच्चा जन्माएर पाठेघरको लिगामेन्ट (मांसपेशी) खुकुलो भई पाठेघर खस्ने समस्या आउने मेडिकल अधिकृत डा.जानुुका गैरेले बताउनुभयो ।

जन्मान्तर कम, धेरै सन्तान जन्माउने, दक्ष स्वास्थ्यकर्मी बिना नै बच्चा जन्माउनु, बच्चा जन्माउदा जथाभावी पेट थिचेर, कामको बोझ, पोषणयुक्त खानाको अभाव, प्रजनननलीमा संक्रमण जस्ता कारणले पाठेघर खस्ने समस्या भएको डा. गैरेको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!