विद्यालय बन्द गरेर प्रचारमा शिक्षक

जाजरकोट  शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छैन । शिक्षकहरू विद्यालय नगएका कारण पठनपाठन सुरु हुन नसकेको हो । परीक्षा सकेर घरविदामा गएका जिल्लाबाहिरका शिक्षकहरू अहिलेसम्म विद्यालय फर्किएका छैनन् भने जिल्लाभित्रकै शिक्षक पनि चुनावको बहाना गर्दै विद्यालय नफर्किएपछि पठनपाठन सुरु हुन नसकेको हो । कतिपय शिक्षक ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा व्यस्त छन् ।
एक दर्जन शिक्षक राजीनामा दिएरै चुनावमा होमिएका छन् भने कतिपय शिक्षक खुलेआम पार्टीको प्रचारमा लागिरहेका छन् । भेरी नगरपलिका १० भुरस्थित दीपेन्द्र माविमा कक्षा १० मा अध्ययनरत एक छात्राले अहिलेसम्म पठनपाठन सुरु हुन नसकेको बताइन् । उनले भनिन्, ‘सरहरू नै विद्यालय आउनुभएको छैन, हामी गएर मात्र के गर्नु रु ु सदरमुकाम आसपासबाहेक जिल्लाका धेरैजसो विद्यालयमा पठनपाठन सुरु हुन सकेको छैन । मतदान केन्द्र बनाउनुपर्ने भन्दै वैशाख २५ गतेदेखि सरकारले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ ।
अहिलेसम्म भर्ना अभियान चलिरहेको छ । केही समयभित्रै चुनावका कारण विद्यालय बन्द हुने भएकाले पनि पठनपाठन सुरु नगरिएको सरस्वती मावि सिमाका एक शिक्षकले बताए । उनका अनुसार कक्षा १२ को परीक्षाका कारण पनि पठनपाठन सुरु गर्न समस्या परिरहेको छ । शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले खोलेको आन्तरिक परीक्षाको तयारी गर्न केही शिक्षक सुर्खेत, काठमाडौंलगायतका सहरमा गएका छन् । विद्यालयमा अनुपस्थित अधिकांश शिक्षकले हाजिरी रजिस्टरमा एकै पटक हाजिर भर्ने गरेका छन् ।
जिल्ला शिक्षाले वैशाखको दोस्रो सातासम्म भर्ना अभियान सञ्चालन गर्ने र त्यसपछि पठनपाठन सुरु गर्ने गरी यसअघि नै शैक्षिक क्यालेन्डर सार्वजनिक गरिसकेको छ तर जिल्लाका धेरैजसो विद्यालयले अहिलेसम्म पठनपाठन सुरु नगर्नु गम्भीर लापरबाही भएको नागरिक समाजका अध्यक्ष केशवजंग शाहको भनाइ छ । ‘चुनावको बहानामा विद्यालय नजाने र नपढाउने शिक्षकलाई कारबाही गर्न नियमनकारी निकायको ध्यान जान नसकेको देखियोु, उहाँले भन्नुभयो, ‘समयमा पठनपाठन सुरु नभएकै कारण कोर्स पूरा नहुने र पढाइको स्तर खस्कँदै जाने खतरा छ ।ु
जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले तत्काल पठनपाठन सुरु गर्न स्रोत व्यक्तिमार्फत निर्देशन दिइसकेको जानकारी दिनुभयो । विद्यालय नखोल्ने, खोलेर पनि नपढाउने र पार्टीको प्रचारमा जाने शिक्षकलाई कारबाही हुने दाबी सिंहले गर्नुभयो ।





error: Content is protected !!