डोल्पामा कस कसले गरे उम्मेदवारी दर्ता ?

डोल्पा, पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि डोल्पास्थित राजनीतिक दलहरुले त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाको मेयर उपमेयर र ६ वटा गाउँपालिकाको प्रमुख उपप्रमुख लगायत वडाअध्यक्ष र सदस्यहरुमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता गरेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले दिलबहादुर बिष्ट र बुद्दाकुमारी शाही नेकपा एमालेले मेयरमा ओमबहादुर बुढा उपमेयरमा चन्द्राकुमारी बुढा र माओवादी केन्द्रले मेयरमा रामलाल बिक उपमेयरमा काली चलाउनेको उम्मेदवारी दर्ता गराएको छ ।

यसैगरी ठुलीभेरी नगरपालिकाको लागि नेपाली काँग्रेसले मेयरमा सुवर्णबहादुर बुढा उपमेयरमा उर्मिला गुरुङ्घको मनोनयन दर्ता गराएको छ भने नेकपा एमाले र राप्रपाले तालमेल गरेर नेकपा एमालेको तर्फबाट मेयरमा गणेशबहादुर शाही र उप मेयरमा राप्रपाका योगेन्द्र बहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, माओवादी केन्द्रले मेयरमा जुनकुमारी बुढा उपमेयरमा लक्ष्मीचन्द्र कार्कीको मनोनयन दर्ता गराएको छ । नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेर पञ्चे बाजागाजाका साथ उम्मेदवारी दिन ठुलो संख्यामा एमाले र राप्रपाका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा गएका थिए ।

यसैगरी तल्लो डोल्पामा रहेका मुडकेचुला र जगदुल्ला गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख लगायतका पदहरुमा शान्तिपुर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । ठुलीभेरी नगरपालिकामा आफ्नो पाटीको अवस्था कमजोर देखेपछि राप्रपा र एमालेले चुनावी तालमेल गरेका छन् ।

काँग्रेस र माओवादी केन्द्रबीच एकापसमा तालमेल गरेर चुनावमा भाग लिने बताउदै आएको भएपनि पदिय बाँडफाड नमिलेपछि तालमेल हुन सकेन ।

हिमपातमा परेका निर्वाचन अधिकृतलाई हेलिकोप्टरबाट पुर्याइयो

उपल्लो डोल्पाका तिब्बतीय सिमासँग जोडिएका डोल्पा बुद्द, श–फोक्सुण्डो, छार्का ताङसोङ गाउँपालिकाको लागि सदरमुकाम दुनैबाट गएका तर भारिहिमपातले बीच बाटोमा अलपत्र परेका निर्वाचन अधिकारी र सुरक्षाकर्मीहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर सम्बन्धित मतदान निर्वाचन कार्यालयमा पुर्याइएको र उम्मेदवारी पनि शान्तिपुर्ण रुपमा दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृत रामबहादुर बुढाले बताए ।

डोल्पा बुद्द, शे–फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिकामा २२ ओटा मतदान केन्द्र कायम गरिएको छ भने डोल्पा जिल्लामा सबै गरेर ६६ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।





error: Content is protected !!