निर्वाचनमा अन्तर्रास्ट्रिय समुदायको सहयोग र सद्‌भाव रहनेमा प्रधानमन्त्रीको विश्वास

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा अन्तर्रास्ट्रिय समुदायको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न शनिबार बिहान बालुवाटार पुगेका अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीसँगको भेटवार्ताका क्रममा उनले निर्वाचनमा अन्तर्रास्ट्रिय समुदायको सहयोग र सद्भावनाको आशा व्यक्त गरेका हुन् । उनले तोकिएकै समयमा स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गरिने पनि अमेरिकी सिनेटहरुसँग बताएका थिए ।

नेपाल संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै उनले स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तीव्रता पाउने बताएका थिए । स्थानीय तह निर्वाचन यही वैशाख ३१ गतेका लागि तय गरिएको छ ।

भेटमा नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहालले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद समेत दिएका थिए । उनले भने, ‘नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको छ, मेरो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक वृद्धिदर त्यसको संकेत हो ।’ सिनेटरहरुले नेपालको आर्थिक वृद्धिदर उत्साहवर्द्धक रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोच सकारात्मक रहेको बताएका प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमुनायोग्य रहेको बताउँदै त्यसका लागि प्रधानमन्त्री प्रचण्डको विशेष देन रहेको समेत उल्लेख गरे । नेपालको आर्थिक विकासमा अमेरिका सधैं सकारात्मक र सहयोगी रहने बताउँदै सिनेटरहरुले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् भन्ने अमेरिकाको सदिक्षा रहेको जानकारी दिए ।





error: Content is protected !!