कर्मचारीको पेशागत हकहितका लागि नेराकसको जन्म ः अध्यक्ष रावल

जुम्ला । मुलुकभरिका कर्मचारीहरुको हकहित र आवश्यकता परिपूर्तिका लागि आफ्नो संगठनको जन्म भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल जुम्लाद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय अध्यक्ष रावलले यो कुरा बताउनु भएको हो । कर्मचारीको पेशागत मर्यादा र सामाजिक न्यायका खाँतिर स्थापित यो संगठनले सबै कर्मचारीहरुको अधिकारको वकालतका साथै दुर्गमका कर्मचारीहरुका लागि वैशाखीको काम गरेको अध्यक्ष रावलले दावी गर्नुभयो । अहिलेसम्म जतिपनि राजनीतिक परिवर्तन छन् तिनको संस्थागत विकासमा कर्मचारीको अहम् भूमिका रहेको जनाउँदै अध्यक्ष रावलले हुनुपर्ने जति परिवर्तन नभएको तर्क गर्नुभयो । “मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ, तर कर्मचारीको रााणकालिन शैली कायमै छ, कर्मचारीहरले यो अवस्थाबाट रुपान्तरण भएर जनमुखी हुन जरुरी छ,” उहाँले भन्नुभयो ।
नेराकसं निजामतीले कार्यालय सहयोगीदेखि २४ ‘घ’ र उपसचिव तहका कर्मचारीको पदस्थापन र उनीहरुको पेशागत हितमा कामगर्दै आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, अहिले हामी केन्द्रीय सरकारका कर्मचारी हौं, जसरी खटायो त्यसरी जानुपर्छ । त्यसैबीच केन्द्रीय अध्यक्ष रावलले संघीय संरचनामा कर्मचारीहरुलाई एक तह बढुवा गरेर पठाउने व्यवस्था राज्यले मिलाउन सके कर्मचारी व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सामान्य प्रशासन मन्त्रालयले बनाएको चारवटा आधारहरु जस्तो, ज्येष्ठता, कार्यरत कर्मचारी, कर्मचारीहरुको स्थायी ठेगाना र भाषिक रुपमा पनि कार्यालय सहयोगीदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको पदास्थापन गर्न सकिने बनाएको कुरा जनाउँदै सहसचिव र सचिव नेपाल सरकारले समायोजन गर्ने बताउनुभयो ।
उहाँले विशेषगरी, दुर्गम पिछडिएको क्षेत्र तथा कर्णालीका कर्मचारीहरुको वास्तविक पिडालाई सम्बोधन गर्ने र आवाज बन्ने नेराकसं मात्र एक शसक्त संगठन हो भन्नुभयो । विश्वमा राजनीति मुख्य चीज भएको प्रष्ट्याउँदै उहाँले यसबाट कोही अछुतो नरहेको र अहिले मुलुकमा राजनीतिक अधिकार सहितको टे«ड युनियन अधिकार आवश्यक रहेको जिकिर गर्नुभयो । अहिले सिंगो कर्मचारी संगठन आफ्नो एजेण्डामा हिडेको पनि उहाँको दावी थियो । प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सुरजकुमार सिंहको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा नेराकसं प्रदेश नं. ६ का सचिव देवेश्वर गिरी, आधिकारिक ट्रेड युनियन जुम्लाका अध्यक्ष मुनबहादुर रावल र जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत पत्रकार सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।



