नेपालमा नयाँ युगको सुरुवात भयोः नेता वस्नेत

रुकुम .नेकपा माओवादी केन्द्रका नेता शक्ति वस्नेतले माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धका कारण नेपालमा नयाँ युगको सुरुवात भएको बताउनुभएको छ । माओवादीले उठाएको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वको एजेण्डा संविधानमै समेटिनुलाई नेपालमा नयाँ युगको सुरु भएको रुपमा लिनुपर्ने उहाँको भनाई छ ।
नेकपा माओवादी केन्द्र रुकुम मुसिकोटको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै बस्नेतले राजनितिक क्रान्तिको एउटा कालखण्ड पुरा भई नयाँ युगको सुरु भएपनि त्यस क्रान्तिले उठाएका केही एजेण्डा भने कार्यान्वयन हुन बाँकी रहेको बताउनुभयो । जनताको अवस्थामा परिवर्तन नआएसम्म क्रान्ति पुरा नहुने उहाँले बताउनुभयो ।
पुर्व गृहमन्त्री समेत रहेका बस्नेतले स्थानिय तहको निर्वाचन भएर नेपालको विकास भएको हेर्न नचाहने ठुलो बैदेशीक शक्तिपनि सक्रिय रहेको आरोप लगाउनुभयो । बैदेशिक हस्तक्षेपलाई परास्त पारी स्थानिय चुनावलाई सफल पार्नु र संविधान कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
त्यस्तै सुशासन, सामाजिक, आर्थिक समृद्धी र राष्ट्रिय स्वाधिनता अहिले माओवादीको मुख्य मुद्धा भएको नेता बस्नेतले स्पष्ट पार्नुभयो । माओवादीका कारण सम्भव भएको सबैभन्दा ठुलो उपलब्धी मध्येको एक संघीयता कार्यान्वयनको पहिलो कडी स्थानिय चुनावमा माओवादीलाई जनताले विजयी बनाउने बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।
देशमा कसका कारण परिवर्तन आएको हो भन्ने कुरा नेपाली जनताले राम्रो संग बुझिसकेको र माओवादी एकताको सन्देश लिएर गाउँ पसेकाले स्थानिय चुनावबाट माओवादी पहिलो पार्टी बन्ने दाबी उहाँले गर्नुभयो ।
नेकपा माओवादी केन्द्र मुसिकोट नगर सम्मेलन आयोजक समिति संयोजक गोपेश्वर केसी राकेशको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज तेजवहादुर ओली प्रतिकको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य विमला केसी, राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देविलाल गौतम, रामसुर बुढा विरता, बुद्धिप्रसाद गौतम, सुबोध शिर्पाली लगाएतका नेताहरुको पनि आतिथ्यता रहेको थियो ।
अखिल नेपाल महिला क्रान्तिकारीकी जिल्ला इन्चार्ज मिलन खड्काको स्वागत मन्तव्य रहको उद्घाटन कार्यक्रमको संचालन जयवहादुर पाण्डेले गर्नुभएको थियो । उद्घाटन कार्यक्रम पुर्व मुसिकोटका विभिन्न वडाबाट ¥याली निकालिएको थियो ।
सम्मेलन अन्तरगत आजै बन्द सत्र सुरु हुने छ । बन्द सत्रले पार्टीको मुसिकोट नगरको नयाँ नेतृत्व चयन गर्ने छ ।।










