घरदैलोमा सिंह दरबारको अधिकार ः अध्यक्ष भण्डारी


जुम्ला । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले हरेक नेपालीको घरदैलोमा सिंह दरबारको अधिकार पुगेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल जुम्लाद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आईतबार अध्यक्ष भण्डारीले यो कुरा बताउनु भएको हो । “हजारौं सहिदहरुको रगत, पसिना र आँसुबाट सिंह दरबार गाउँ फर्केको छ, जनताले आफ्नो अधिकार आफैले उपभोग गर्न पाउने छन्,” उहाँले भन्नुभयो । संघीयताका कारण सिंह दरबारको अधिकार पहिलो पटक कर्णालीमा पुगेकोले यो कर्णालीका लागि लाभदायक हुनुपर्छ, उहाँले थप्नुभयो । उहाँले अगाडि भन्नुभयो, पुरानो युगको विदाईगरी पञ्चायती संरचनाको दाहसंस्कार गर्दैछौं, यसैबीच मुलुक स्थानीय निर्वाचनमा पनि हिलिदै छ । विवेक पु¥याएर जनताले आफ्नो दुःखमा आँसु पुछ्ने नायक छान्नुहोस् नत्रता पुनः आफ्नै कारणले दण्डित हुने अवस्था आईलाग्ने छ ।
त्यस्तै उहाँले तीनवटै निर्वाचनको प्रस्थान विन्दु स्थानीय तहको चुनाव भएकाले संभावित खतराबाट मुक्त हुन र आफ्नो फैसला आफै गर्ने अवसरलाई नगुमाउन उहाँले कर्णालीबासीलाई आग्रह गर्नुभयो । एक फरक प्रसंगमा पोलिटब्यूरो सदस्य तथा संगठनका अध्यक्ष भण्डारीले यो देशको अब्बल मष्तिष्कहरुलाई प्रयोग गर्न नेपाल तथा कर्णालीलाई अध्ययन, अनुसन्धान र अन्वेषणको केन्द्र बनाईनुपर्नेमा जोड दिदै बौद्धिक मष्तिष्कलाई कर्णालीको संभावनाका विषयमा परिचालन गर्न लाग्नुपर्ने बताउनुभयो ।
त्यसको साथै अबको गाउँ तथा नगरपालिकाको निर्वाचनका लागि स्वप्नद्रष्टा बोकेको, लोकप्रिय, योग्य उम्मेदवार छनोट गर्न मापदण्ड तयार गरेर अघि बढ्ने उहाँको भनाई थियो । झण्डै एकवर्ष जुम्ला नआएपनि यहाँको अन्धकार, अज्ञानता, गरिबी र भोकमारीका विरुद्ध केन्द्रमा लडाई गर्ने सिलसिलामा नमूना परियोजनाका रुपमा रु.२७ करोडको लागतमाा ५०० किलोवाटको हावाबाट तातोपानीमा र रु.१८ करोडको लागतमा ५०० किलोवाट पानीबाट पातारासी गाउँपालिकामा विद्युत निकाल्ने योजना पूर्णरुपले पारित भएर कार्यान्वयनस्तरमा गएको उहाँले नेता कार्यकर्तालाई खुलासा गर्नुभयो ।
गाउँपालिकासँग १० मेगावाट बत्ती निकाल्न सक्ने, १०० बेडको अस्पताल खोल्न सक्ने र मावि स्थापनाको सम्बोधन गर्न सक्ने अधिकार प्राप्त भएकाले कर्णालीलाई नेपालकै अब्बल र शिखर सपनाको कर्णाली बनाउन त्यस्तै अब्बलपन देखाउन सक्ने मेयर अध्यक्ष निर्वाचित गर्न अनुरोध गर्दै चुनावको गलत हत्कण्डामा बाधिए जनताले पुन समस्या भोग्नुपर्ने कुरामा सबैलाई उहाँले सचेतना गराउनुभयो । चुनाव कुनैपनि हालतमा नरोकिन भन्दै उहाँले मधेसी मोर्चा चुनावमा सामेल हुने दिशातिर लागेको बताउनु भएको थियो । अध्यक्ष भण्डारीले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुलाई पैसा नभई दूरगामी सोच र २० देखि १०० वर्षको नमूना विकासको योजना दिन सक्ने सक्षम व्यक्तित्वलाई उम्मेदवारका रुपमा छनोट गर्न र हालसम्म उपलब्ध परिवर्तनलाई संस्थागत गर्न सुझाउनुभयो । कार्यक्रममा केन्द्रीय आयोजक कमिटिका सदस्य भवानीप्रसाद अधिकारी (अनिल) ले परिवर्तनका कुरा सुसूचित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट मुलुकमा संघीयता आएको प्रष्ट्याउदै उहाँले त्यसको रक्षार्थ माओवादी नै होमिनु पर्ने बताउनु भएको थियो । पाटी कार्यालयको अनौपचारिक सम्बोधन लगत्तै आईतबार नै अध्यक्ष भण्डारीले तातोपानी गाउँपालिका अन्तरगत वडा ४ हाँकुमा नेकपा माओवादीको वडा कार्यालयको उद्धाटन गर्नु भएको थियो ।
उद्धाटन कार्यक्रममा पोलिटब्युरो सदस्य नवराज न्यौपाने (विमुख) केन्द्रीय आयोजक कमिटि सदस्यहरु लक्ष्मीप्रसाद गौतम (दिपक), मुनबहादुर कुँवर (हाँक), लक्ष्मीकन्या बुढा (प्रतिक्षा), लालबहादुर सार्की (कृष्ण), प्रस्तावित केन्द्रीय आयोजक कमिटि सदस्य हरिबहादुर डाँगी, जिल्ला पार्टी सचिव जग्तीप्रसाद न्यौपाने लगायत विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।










