एयर पेस्तोल बोकेर भारतीय नागरिक पक्राउ

हेमन्तराज काफ्ले
वाँके । एयर पेस्तोल बोकेर आफन्तकहाँ आएका एक भारतीय नागरिक पक्राउ परेका छन् । ससुराली आएका भारत, बहराइचका लियाकत अली दुई थान एयर पेस्तोल लिएर आउँदा पक्राउ परेका हुन् ।
बाँके प्रहरीले अलीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियासमेत अघि बढाएको छ । भारतमा कुनै रोकतोक नभएकाले एयर पेस्तोल लिएर आएका भन्दै अलीले आफूलाई नेपालमा लिएर हिँड्न नपाइने भन्ने थाहा नभएको बयान दिएको बुझिएको छ । अलीले प्रहरीसमक्ष एयर पेस्तोल बच्चालाई खेलौनाका रुपमा प्रयोग गर्न लिइएको बताएका छन् ।
त्यस्तै, बाँके प्रहरीले जमुनाहाबाट दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । कैलालीका पवन भण्डारी र नेपालगञ्जका रियाज अन्सारीलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो । भण्डारीको साथबाट आठ सय र अन्सारीबाट चार ग्राम ब्राउनसुगर बरामद भएको बताइएको छ ।
भारततिरबाट ब्राउनसुगर बोकेर आएका दुबै जनालाई नाकामा खटिएका जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र त्यहीँ ब्राउनसुगर प्रयोग गर्ने तथा कारोबारका लागि बोकेर आउने गरिएको सोसम्बन्धी अनुसंधानले देखाएको छ ।
रुपइडिहा–जमुनाहा नाकाबाट ब्राउनसुगर भित्र्याएर देशका विभिन्न भागमा पठाउने गरिएको पाइएको छ । विशेष गरेर पछिल्लो समयमा पहाडी जिल्लामा ब्राउनसुगरको माग बढी रहेको सम्बद्ध स्रोतहरु बताउँछन् ।










