माओवादी केन्द्रसँग एकताका लागि नयाँ शक्तिका शीर्ष नेताहरुको दौडधुप


काठमाडौं । नयाँ शक्ति नेपालमा पहिरो जाने क्रम झनै बढेर गएको छ । मलेशियामा संस्थापकसहित २६ जनाले राजीनामा दिएको भोलीपल्ट नवलपरासीको पुरै कमिटीले पार्टी परित्याग गरेको घोषणा गरेको छ । पार्टीभित्रका असन्तुष्ट एकसय बढी अन्तरिम परिषद सदस्यहरुले भने समानान्तर पार्टी गठनका लागि तयारी राखेको बताएका छन् ।

नयाँ शक्ति नेपालमा परित्याग गर्ने क्रम एकपछि अर्को बढ्दै गएपनि पार्टी संयोजक बाबुराम भटटराईले खासै चासो नदेखाएपछि एमाओवादीबाट नयाँ शक्तिमा गएका नेताहरु समेत असन्तुष्ट बनेका छन् । नयाँ शक्ति गठन भएपछि बाबुरामले सामूहिक छलफल र निर्णय भन्दा पनि आफुखुशी निर्णय गरेको भन्दै एमाओवादीबाट गएका नेताहरुले माओवादी केन्द्रसँग एकताका लागि अनौपचारिक कुराकानी अगाडि बढाएका छन् ।

नयाँ शक्ति श्रोतले दिएको जानकारी अनुसार, तत्कालिन एमाओवादीबाट नयाँ शक्तिमा गएका नेता देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, रामचन्द्र झा लगायतका नेताहरुले चुनाव अघि नै माओवादी केन्द्रमा फर्किने मनस्थिति बनाएका हुन । नयाँ शक्तिले संगठन बिस्तारमा अपेक्षा गरेभन्दा राम्रो सफलता हात पारेपनि वैचारिक स्पष्टता नहुने र कार्यकर्तामा उत्साह देखिएपनि नेतृत्व तहमा निर्णय प्रक्रिया र विधिसम्मत ढंगले पार्टी चल्न नसक्दा नयाँ शक्तिलाई अगाडि बढाउने उत्साह घटदै गएको हो । दुर्गा सोव, महेश कर्मोचा, परशुराम खापुड।, केशब दाहल, डा। जनक शाहलगायतका नेताहरुले पनि पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेका छन् ।

श्रोत भन्छ, “देवेन्द्रजीले त उहिल्यैदेखि असन्तुष्टि राख्नु भएको हो, अब बिस्तारै अरुको पनि मन मर्दै गएको छ ।” यद्यपी एकलरुपमा माओवादी केन्द्रमा फर्किने सम्भावना भने नरहेको श्रोतले बतायो, “एक दुई जना फर्किँदा माओवादी केन्द्रभित्र पनि खासै हैसियत रहन्न । छोडेर गएको केही नपाएपछि फर्केर आयो भन्ने पर्ने हुन्छ, त्यसैले पार्टी एकता नै गर्ने किसिमले सकिन्छ कि भनेर पहल शुरु भएको छ ।”

नयाँ शक्तिभित्रका शीर्ष नेताहरुले माओवादी केन्द्रसँग एकताको कुरा अगाडि बढाएपछि केन्द्रभित्र समेत यसबारेमा छलफल भएको छ । “औपचारिकरुपमा कुराकानी नआएपनि व्यक्तिगतरुपमा नयाँ शक्तिमा गएका पूर्व माओवादी नेताहरुसँग कुराकानी चलिरहेको छ ।” माओवादी सचिवालय श्रोतले भन्यो, “माहौल बनेको छ, तर आकार लिइसकेको छैन” ।

नयाँ शक्ति ढिक्कै एकताका लागि कतिपय माअ‍ोवादीबाट गएका नेताहरु तयार भएपनि पार्टीको संरचनाका कारण त्यो सम्भव हुन नसकेकोले कसरी एकता गर्ने त भन्ने विषयमा अन्यौल भएकोले एकता हुन नसकेको नयाँ शक्तिका एक नेताले बताए । “चौतारी जस्तै बन्यो, को कुन बाटोबाट भेला भए, अब सबै त माओवादी केन्द्रमा जाँदैनन्, कति बुर्जुवा छन्, कति के छन कस्ता छन् । हामी माओवादीबाट आएकाहरुमात्रै जानका लागि विद्रोह गर्नुपर्यो । त्यो विद्रोह देशव्यापी भए त एउटा अर्थ हुन्थ्यो नत्र दुई चार जना नेता निस्केर जाँदा फेरी केन्द्रभित्र पनि सम्मानजनक अवस्था नहुन सक्छ । यता पनि बस्न नसक्ने, उता जान मन भएपनि यही समस्याले तत्कालै जान नसक्ने अवस्थामा हामीहरु छौं । त्यसैले कसरी एकता गर्ने भन्ने बारेमा छलफलमा छौ‌ ।”

माओवादी केन्द्रका सचिवालय श्रोतले भने बाबुराम भट्टराईले समेत एकता गर्न खोजेको दावी गरेका छन् । “बाबुरामजी नै एकताको पक्षमा भएको कुरा आयो, पत्याउन त सकिएन तर बाबुरामकै विश्वस्त श्रोतले त्यो कुरा गरेपछि यसबारेमा प्रचण्डजीलगायतका बीचमा छलफल पनि भयो । तर बाबुरामजीलाई ल्याउने विषयमा कोही सहमत भएनन्” श्रोतले भन्यो, “के आधारमा बाबुरामजीलाई ल्याउने र त्यसले माओवादी केन्द्र र समग्र माओवादी आन्दोलनलाई के फाइदा हुन्छ भन्ने कुरा स्पष्ट नभईकन बाबुरामजीलाई ल्याउन हुन्न भन्ने अधिकांश नेताको मत रहेको छ ।”

नयाँ शक्ति नेपाल गठन भएको दुई वर्ष नबित्दै पार्टीमा देखिएको संगठनात्मक समस्याले पार्टीको भविष्य नदेखेर एकलरुपमा पलायन हुनेहरुको संख्या समेत बढेको छ । स्थानीय तहका पूर्व माओवादी नेताहरु पलायन हुने, कांग्रेस या एमालेमा जाने सम्भावना समेत रहेको श्रोतले बतायो । तर सैद्दान्तिकरुपमा प्रतिबद्ध र आन्दोलनको इतिहास भएकाहरु सबै माओवादी केन्द्रमैं फर्किने उनले बताए ।

बाबुराम भट्टराईको व्यक्तित्वले मात्रै पार्टी नचल्ने निष्कर्शमा पुगेका कतिपय गैर माओवादी पृष्ठभूमिका नेताहरुले आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिने र केहीले अन्य पार्टी प्रवेश गर्ने सोचाई बनाएको समेत श्रोतको दावी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!