यस्तो रह्यो पहिलो दल कांग्रेसको ११ महिना, के के गरे देउवाले साढे ११ मा ?


काठमाडौं । फाल्गुन २१, २०७३ सन्त नेता कृष्णप्रसाद भट्टराईले आफू पार्टी सभापति हुँदाकै बखत एक प्रसंगमा भनेका थिए– ‘कांग्रेस नियमले होइन, अपवादले चल्छ ।’

उनीपछि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै पार्टीको सर्वोच्च पदमा पुगेका छन्– शेरबहादुर देउवा । झन्डै दुई दशक लामो अन्तरपार्टी सघर्षको परिणाम नै देउवाले १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा आफूलाई ल्याइपुर्‍याए । चैत ५ मा औपचारिक रूपमा पार्टी नेतृत्व लिएका दिनबाट गन्ती गर्दा शनिबार उनको कार्यकाल ११ महिना १६ दिन पुग्छ । तर, यसबीचमा पार्टी सञ्चालनको शैली हेर्दा लाग्छ देउवा भट्टराईले भनेजस्तै कांग्रेसलाई नियमबाट नभएर अपवादबाट चलाउने अभ्यासलाई निरन्तरता दिँदैछन् ।

सभापति निर्वाचित भएलगत्तै देउवाले विधानको समयसीमाभित्रै पार्टीका पदाधिकारी, समिति र विभागहरूलाई पूर्णता दिने बचन सार्वजनिक गरेका थिए । ६ महिनाभित्र महासमिति बैठक बोलाएर विधानलाई संघीय स्वरूपको ढाँंचामा रूपान्तरण गर्ने त उनको प्रतिबद्धता थियो । १३ औं महाधिवेशनपूर्व आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा बनेको विधान संशोधन समितिले विधानलाई संघीय ढाँचामा रूपान्तरण गर्ने प्रयत्न गरेको थियो । नेतृत्व चयनका बेला तत्कालीन स्वार्थ र गठजोडले त्यतिबेलाको प्रयास सफल भएन । देउवाले आफू निर्वाचित भएलगत्तै ६ महिनाभित्र महासमिति बैठक बोलाउने प्रतिबद्धता सार्वजनिक गरे । तर, व्यवहारमा भने एघार महिना बित्दा महासमिति बैठक होइन, विधानअनुसार दुई महिनाभित्र पूर्णता दिनुपर्ने केन्द्रीय समितिलाई पूर्णता दिन सकेनन् ।

कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टीका विभागहरू गठन गर्ने काम पनि उनले गर्न सकेका छैनन् । कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरू, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्नेछ’ व्यवस्था छ । तर, यो अवधिमा देउवाले १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक पार्टीको काम अघि बढाउन सकेनन् । सभापतिको प्रस्तावमा चयन हुने केन्द्रीय कार्यसमितिका पदाधिकारी उपसभापति, महामन्त्री र सहमहामन्त्री अहिलेसम्म खाली छन् । केन्द्रीय कार्यसमितिमा दस सदस्य मनोनयन हुन बाँकी छ । एउटै विभाग बन्न सकेको छैन । कार्यसम्पादन समिति नबनाई नियम विपरीतको पदाधिकारी बैठकको अभ्यासमै देउवा रमाएका छन् ।

कांग्रेसका एक केन्द्रीय सदस्य देउवालाई पार्टी संगठनको भन्दा बढी आफू सत्तामा पुग्ने कुरोको बढी चिन्ता भएकै कारण पार्टीका काम ठप्पप्रायस् भएको बताउँछन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न मुख्य भूमिका निर्वाह गरेका देउवा माओवादी केन्द्रसँगको सम्झौताअनुसार वैशाखमै वा जेठको पहिलो साता प्रधानमन्त्री बन्ने पर्खाइमा छन् । तीन पटक प्रधानमन्त्री भइसकेका देउवा चौथो पटकको सत्तारोहणमा कुनै अवरोध नआओस् भनेर पार्टीभित्रको शक्ति सन्तुलन नखल्बल्याउने पक्षमा छन् । त्यसैले पार्टीभित्रका विभिन्न गुट र उपगुटहरूलाई नचिढाई अघि बढ्ने चाहनाकै कारण देउवाले पदाधिकारी बनाउनेदेखि विभाग र समितिलाई पूर्णता दिने काम सबै थाँती राख्दै आएका छन् । एउटालाई नियुक्त गर्दा अर्को भडकिने डरमा उनले कसैलाई नियुक्त गर्न सकेका छैनन् ।

उनले लामो समयदेखि केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएका छैनन् । संविधान संशोधन, आईजी प्रकरण र राजदूत नियुक्तिलगायत महत्त्वपूर्ण विषयमा पार्टीभित्र छलफल नभई एकलौटी ढंगबाट निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर देउवासँग रुष्ट छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै पार्टीलाई संस्थागत रूपमा अघि नबढाएको र राजदूत नियुक्तिमा पार्टीकै साख गिर्ने गरी निर्णय गरेको भन्दै आपत्तिसमेत प्रकट गरे ।

सभापति बन्नुअघिका देउवालाई समयसापेक्ष चल्ने, राम्रारनराम्रा सबै कुरा सुन्ने तर निर्णय आफैं लिने नेताका रूपमा चित्रण गरिन्थ्यो । नेतृत्वमा आइसकेपछि उनका बारेमा बोलिने र भनिने यी सबै विषय अहिले आएर मिथक जस्तै बनेको छ । १३ औं महाधिवेशनमा आफ्नै समकक्षी नेता रामचन्द्र पौडेलसँगको प्रतिस्पर्धामा आफूलाई गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता भएको, कृष्णप्रसाद भट्टराईको जस्तो न्याय गर्न सक्ने र गणेशमान सिंहको जस्तो समावेशी बोक्ने त्रय नेताको गुण भएको नेताका रूपमा उनले स्वचित्रण गरेका थिए । भन्दा तीनै त्रय नेताकै गुण आफूमा रहेको दाबी गरे पनि नजिकबाट उनलाई चिन्ने र जान्ने कांग्रेसका एक चिन्तकले देउवामा गिरिजाप्रसाद कोइरालाको राजनीतिक संस्कृति हावी भएकै कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको तर्क गर्छन् ।

‘गिरिजाप्रसादले पैसा र शक्तिको संस्कृतिको विकास गरे, देउवाले त्यसैलाई चरमोत्सकर्षमा पुर्‍याउने काम गरिरहेका छन्,’ उनको भनाइ छ, ‘शक्ति आर्जन गर्नका लागि पार्टीको नेतृत्वमा आउने र नेतृत्वमा आइसकेपछि त्यसैलाई उपयोग गर्दै सत्ता राजनीति मियो बन्ने गिरिजाप्रसादकै प्रवृत्ति देउवामा देखिन थालेको छ ।’

विगतमा आफूभन्दा माथिल्ला नेताहरूले पनि यसैगरी पार्टी सञ्चालन गरेको देखेकै कारण देउवालाई पनि किन नयाँ काम गर्नुपर्‍यो भन्ने भान परेको हुन सक्ने उनले अनुमान लगाए । ‘गिरिजाप्रसाद, सुशील कोइरालाले त्यहीं गर्दा हुने तर मैले गर्दा किन नहुने रु भन्ने भावनाबाट देउवा चलेजस्तो लाग्छ,’ उनी थप्छन्, ‘प्रजातान्त्रिक पार्टीहरू प्रतिस्पर्धी नभएकाले पनि कांग्रेसलाई तदर्थवादमा चलाउने अभ्यास कायम देखिन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी सिंगो कांग्रेस भनेकै मै हुँ भन्ने उन्माद देउवामा एकाएक हावी भएको आरोप लगाउँछन् । अघिल्लो पुस्ताका गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्तो ‘टावरिङ पर्सानालिटी’ भएका नेताको कोटीमा देउवा पर्दैनन् । गिरिजाप्रसाद कोइरालापछि पार्टीमा समकालीन नेताहरू रहेकाले पार्टीलाई सामूहिक निर्णय प्रक्रियामा अघि बढाउनुपर्ने तर्क छ केसीको । ‘तर, यो एघार महिनाले कार्यसमिति, संसदीय दल किन चाहियो रु सिंगो कांग्रेस भनेकै मै हुँ भन्दै पार्टीलाई एकल निर्णय प्रक्रियाबाट अघि बढाउन खोजिएको छ,’ केसी भन्छन्, ‘संविधान संशोधन, आईजी प्रकरण, राजदूत नियुक्ति सबैमा एकलौटी निर्णय लिँदा पार्टीकै छवि बिग्रेको छ ।’

देउवाको कार्यशैलीप्रति विरोध जनाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गत शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लिखित पत्र नै बुझाए । जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन देउवाले सम्पूर्ण शक्ति प्रयोग गर्दा सिंगो कांग्रेस कार्यकर्ताको मनोबल गिरेको निष्कर्ष पौडेल पक्षले निकाल्यो । लगत्तै आर्थिक चलखेलका आधारमा विवादास्पद म्यानपावर व्यवसायीलाई राजदूत बनाउने काम गरियो भन्दै पौडेल पक्षले देउवाको कडा आलोचना गर्न थाल्यो । पत्र बुझाएपछि बैठक बोलाउलान् भन्ने आसमा रहेको पौडेल समूह त्यतिबेला झस्कियो, जतिबेला देउवाले सार्वजनिक रूपमै ‘पेपरबाजी गरेपछि बैठक नबोलाउने’ जवाफ फर्काए । देउवाको जवाफप्रति तत्कालै पौडेलले प्रतिक्रिया दिए, ‘यस्तो ओठे जवाफ लोकतान्त्रिक पद्धति र संस्कृति विपरीत छ ।’

तत्कालीन सभापति सुशील कोइरालाले विभाग र समितिहरूलाई पूर्णता दिन नसक्दा देउवाले निर्णय क्षमता नभएको भन्दै आलोचना गरेका थिए । ०६७ असोजमा १२ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका सुशीलले विधानअनुसार दुई महिनाभित्रै मंसिर १२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्री प्रस्ताव गरेका थिए । यद्यपि पार्टीको आन्तरिक किचलोको कारण केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्न ५ महिना लागेको थियो । देउवाले त्यसैलाई १३ औं महाधिवेशनमा मुद्दा पनि बनाएका थिए । तर, उनी आफैंले एघार महिना बित्दा पदाधिकारीसम्म पनि प्रस्ताव गर्न सकेका छैनन् । त्यसैले होला नेविसंघको एक कार्यक्रममा देउवाले भने, ‘पार्टी सभापति बन्न सजिलो रहेछ । तर काम गर्न गाह्रो हुँदो रहेछ । रामचन्द्रजीलाई फकाउँदा फकाउँदै मेरो यो हालत भइसक्यो ।’

१३ औं महाधिवेशनपछि कांग्रेसभित्र धेरै गुट जन्मिएका छन् । संस्थापन पक्षका अतिरिक्त पौडैल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य खुमबहादुर खडकाको गुट सक्रिय छ । देउवाको काम गर्ने शैलीबाट अहिले कुनै गुट पनि सन्तुष्ट छैन । देउवाकै विश्वासपात्रहरू पनि भित्रैदेखि असन्तुष्ट देखिन थालेका छन् । समयमा जिम्मेवारी नदिँदा आफ्नो प्रभाव नेतृत्व पार्टीमा स्थापित गर्न नपाएकोमा उनीहरूको असन्तुष्टि छ ।

पार्टीको विधानअनुसार उपसभापति केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने व्यवस्था छ । प्रतिष्ठान गठन भएमा २५ नेता तथा कार्यकर्ताले काम पाउँछन् । विधानमा पार्टीका ३० विभाग छन् । पछि केन्द्रीय कार्यसमितिले ४२ विभाग बनाउने निर्णय लिएको छ । ४२ विभागभन्दा झन्डै ९ सय नेता तथा कार्यकर्ताले त्यसमा स्थान पाउँछन् । एउटा विभागमा २० सदस्य राख्न पाउने व्यवस्था छ । तत्कालीन अञ्चल समन्वय समितिको ठाउँमा प्रदेश समन्वय समिति राखिएको छ । नयाँ संविधान घोषणा भएपछि संविधानले व्यवस्था गरेको प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश अधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यो अधिवेशनको सुरसार पनि अहिले चलेको छैन ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरे पार्टी यति कमजोर अवस्थामा कहिल्यै नभएको बताउँछन् । ‘सुशील कोइरालालाई काम गरेन भनेर आलोचना गर्ने नेता नै नेतृत्वमा पुग्दा यो अवस्था आउनु दुर्भाग्यपूर्ण छ,’ घिमिरे भन्छन्, ‘कार्यकर्ताहरूको अपेक्षाअनुसार पार्टी सञ्चालन हुन सकेन । पार्टीलाई सामूहिक पद्धतिबाट अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

अर्का केन्द्रीय सदस्य श्याम घिमिरे विगतदेखि नै पार्टी संस्थागत रूपमा सञ्चालन गर्ने पद्धतिको विकास कांग्रेसमा नभएको बताउँछन् । पार्टीको १३ औं महाधिवेशनबाट देउवा समूहमा पुगेका घिमिरे देउवाबाट केही होला भन्ने आस अझै मरिनसकेको बताए । ‘सुशीलबाट धेरै आशा गरेको होइन, पछि क्याम्प परिवर्तन गर्दा पनि धेरै विषयमा सचेत थिएँ,’ उनी भन्छन्, ‘जति आस गरेको थिएँ पाउन सकिरहेको छैन । तर यो नेतृत्व परम्परागत नेतृत्वकै निरन्तरता होला भन्ने विश्वास मैले गरेको छैन ।’

देउवा समूहमा पनि सभापतिको कार्यशैलीप्रति असन्तुष्टि व्याप्त छ । आईजी प्रकरणपछि देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीचको सम्बन्ध चिसिएको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्तालगायत पार्टीका महत्त्वपूर्ण विभाग र समितिहरूमा आउने आसमा धेरैले एघार महिना देउवालाई चुप बसेर साथ दिए । तीनै साथ दिनेमध्येका एकजनाले देउवाको कार्यशैलीलाई हिन्दीको एउटा उखानमार्फत व्यक्त गरे– ‘कहें तो माँ मार खाए, नहिँ तो बाप कुत्ता खाए’ भनौं भने आमाले कुटाइ खाने, नभनौं भने हेर्दाहेर्दै बाबुले कुकुरको मासु खाने भए ।

कान्तिपुरवाट साभार ।





error: Content is protected !!