सल्यानमा कुखुराले कोरल्यो चार खुट्टे चल्ला

ईन्द्र वुढाथोकी
सल्यान, १६ फागुन । के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ रु तपाइको उत्तर हुन सक्छ ‘बाख्रा, भैसी, गाई, गोरुको पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ रु नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील पर्ने तर वास्तविक घटना सल्यानमा भएको छ ।
जिल्लाको मुलखोला गाउँ विकास समिति वडा न २ डोप्के भन्ने गाउँमा चारवटा खुट्टा भएको चल्ला निक्लीएको छ । गुमान बुढाले आफ्नै घरमा पालेको पोथीले पहिलो पटक शनिबार ४ वटा खुट्टा भएको चल्ला कोरलेको हो । तर उक्त पोथीले कोरलेका अन्य चल्ला भने सामान्य रहेको उनले जनाएका छन् । पोथीले जम्मा ७ वटा चल्ला कोरलेको थियो । बुढाले भने–‘यस्तो कुखुराको चल्ला कहिल्यै देखेको थिएन, अचम्म लागेको छ ।’
चार वटा खुट्टा भएको चल्लाको अबस्था अहिले सामान्य रहेको बताइएको छ । यस प्रकारको अनौठो चल्ला निक्लिए पछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ । दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको बुढाले जानकारी दिए । उनले भने– ‘छिमेकी गाउँबाट समेत चल्ला हेर्न आउनेको संख्या बढ्न थालेको छ ।’
अहिले मुलखोला गाविसभरि नै चार खुट्टे चल्ला कौतुहलताको विषय बनेको छ । चार खुट्टे चल्ला देख्ने र यस्तो चल्ला निक्लीएको छ भनेर थाहा पाउने सबै अचम्ममा परेको स्थानीय पत्रकार इन्द्र बहादुर बुढाथोकीले जनाएका छन् ।










