ठिन्ले, यार्सा र डोल्पा

जग भण्डारी
झण्डै तीन बर्ष अगाडी डोल्पामा पहिलो चोटी पाइला टेक्दा मेरा नजर कौतुहलताका परेलीले झिमझिम गरिरहेका थिए । भौगोलिक अस्थिपञ्जर, कर्णालीको स्थानीय रहन सहन र संस्कृति खासै मेरो लागि कुनै नौलो र फरक बिपना थिएन । बरु जोकोहीलाई भएजस्तै मलाई पनि क्याराभान नायक ठिन्ले र यार्सागुम्बाको यथार्थ जान्ने अधैर्यताको बयलपंखी घोडाले दौडाइरहेकोथियो । टेलिभजनमा देखिने यार्सागुम्बा टिप्नेहरुको लावालस्कर, यार्सागुम्बाको जीबनचक्र, यसको मूल्य र महत्व, अनि धेरै पहिले क्याराभान फिल्ममा हेरिएको नायक ठिन्लेको धमिलो चित्र । पहिलो चोटी ठिन्लेलाई लाईभ देखे भनें चिन्न सक्छु कि सक्दिन हुँला ? यस्तै यस्तै श्रब्य दृष्य अनुमानले यथार्थ खोज्ने धैर्यता गुमाउदैथियो । बैशाख महिनाको अन्त्यतिर क्याराभान नायक ठिन्ले भर्खरै काठमाडौबाट दुनै उक्लेका रहेछन्, उपल्लो डोल्पाको आफ्नो गाउँ सालदाङ उक्लिन ।
खुसीको कुरा, दुनैमा भएको पहिलो जम्काभेटमै मैंले ठम्याउन सकें उनलाई । डोल्पामा साँच्चै नै ठिन्ले रहेछन्, मैंले पनि पत्याएँ । कर्णालीमा साँच्चै नै ठिन्ले रहेछन्, मैंले पनि गर्ब साथ धड्कन फुलाएँ । स्टारडम अनि एक सेलिब्रिटीको तराजुमा महानायक राजेश हमाल सँग तौलें । कतै कम देखेन मेरो दर्शकरुपी नजरले । डोल्पा बसाईमा मैले ठिन्लेसँग धेरै चोटी भेट्ने मात्रै होइन, भलाकुसारी गर्ने सौभाग्य समेत पाएँ । प्रत्येक भेट, चिया गफमा उनलाई एउटा लोभी पत्रकारको नजरले पनि हेरें, केही जिज्ञासा मेटाउन सकिन्छ कि भनेर । उहाँकै मुखबाट क्याराभान फिल्मको चाखलाग्दा बृतान्त सुन्दा सुटिङ स्पटमा आफै भएजस्तो महसुस भयो । उहाँ क्याराभान निर्देशक एरीक भ्यालीलाई भगवानकै दर्जा दिनुहुन्थ्यो, माया र आदर गर्नुहुन्थ्यो ।
एउटा प्रतिष्ठीत कलाकारको जीबनशैली आम डोल्पाली भन्दा केही फरक थिएन । चौंरीको बसाइ सराइ जस्तै हिउँदमा दुनै–काठमाडौं अनि बर्खामा आफ्नै भोट गरिरहेका हुन्थे्, नायक ठिन्ले । त्यसो भए खै त उहाँको फिल्मि गतिबिधिको निरन्तरता ? उहाँ सँगको भलाकुसारीमा यो प्रश्नलाई जिज्ञासाको रुपमा राख्ने मौका समेत पाएँ । फिल्म नपाएर उहाँको निस्क्रियता बढेको हैन रहेछ । जापान, क्यानडा, फ्रान्स लगायत बिभिन्न देशहरुबाट फिल्म खेल्नका लागि अफरहरु आइरहेका रहेछन् । तर यथार्थ अर्के रहेछ । नायक ठिन्ले सामान्य लेखपढमा सिमित हुनुहन्थ्यो । एउटा पुरानो एनलग मोबाईल अनि फोन नम्बरले भरिएको थोत्रो डायरी देखाउदै भन्नुहुन्थ्यो, आस्ती न जापान बाट फोन आकोथ्यो फिलिमको लागि, नाम्बरै काता पो गयो….. एरीक काठमाडौं आ छा रे, आब कासारी साम्पार्क गार्ने ? यो डायरीमा नाम्बर हेर्दे त हाकीम साब भन्नुहुन्थ्यो । नायक ठिन्ले सुचना र सञ्चारमा धेरै पुरानो हुनुहुन्थ्यो । इमेल, इन्टरनेट, फेसबुक, ट्वीटर कुन चराको नाम हो, नायक ठिन्लेलाई अत्तोपत्तो नै थिएन । सुचना र सञ्चारको पहुँच बिना नायक ठिन्ले देश बिदेशका फिल्मकर्मी सँग नजीक हुन सकिरहनु भएको थिएन । एरीक भेली जस्ता उनका आदरणीय निर्माता निर्देशक र अन्य सहकर्मीहरु सँगको सम्बन्ध नबिकरण गर्न सकिरहनु भएको थिएन । पाएका अवसरहरु पनि गुमाइरहनु भएको थियो । एउटा अन्तराष्ट्रिय हिरो दर्शकले कल्पना गरे भन्दा डेस्पेरेट्ली फरक थिए । त्यही डोल्पाले उनलाई हिरो बनायो, त्यही डोल्पामा जन्मीनुको पाप पनि भोग्दै थिए । उनको स्टारडममा खिया लाग्दैथियो । मानौं उनी दुनैको गल्लीको जम्काभेटमा सदाबहार फोटो खिच्न तम्तयार बुख्याँचा हुन् । सायद हामी डोल्पालीले दिएको सम्मान यस्तै नै थियो । उनको कलाकारीता बास्तबीक जीबनको क्याराभनर भएर अपर डोल्पाको प्राकृतिक म्युजियममा थन्कीसकेको भान हुन्थ्यो । भलै उनी चौंरी गोठालाको पृष्ठभुमीबाट आएका हिरो हुन्, तर प्रसिद्धीको सगरमाथा चुमिसकेको ब्यक्तित्व आफ्नो बास्तबिक उचाई प्रति बिल्कुलै बेखबर थियो । आखिर किन त ? कहिले सम्म ? मेरो मनमा यी प्रश्नहरुले बाराम्बार घोचिरहेका थिए ।
मेरो अर्को कौतुहलताको बिषय थियो, यार्सागुम्बा । बिश्वकै धेरै परिमाणमा र उच्च क्वालीटीको यार्सागुम्बा पाउने ठाउँ हो, डोल्पा । डोल्पालीहरु त यार्साकै ब्रेकफास्ट, यार्साकै लन्च, यार्साकै डिनर गर्छन होला जस्तो लाग्थ्यो । पहिलोचोटी जुफालमा चिलगाडीबाट ओर्लिदा बित्तिकै सिधै दुनैतिर सोझिदा यार्सा यात्रामा निस्केका मानब लस्कर लाई प्रत्यक्ष दर्शन गर्ने अबसर पाईयो । डोल्पाली मात्रै होइन, जाजरकोट, रुकुम, रोल्पा, सल्यान र देशका बिभिन्न भागबाट आएका यार्सा यात्रीहरुको लस्कर झन् झन् लम्बिदै थियो । घरमा भोटे ताल्चा मारेर कुकुर, बिरालो, कुखुरा सहित काखको दुधे बच्चा समेत च्यापेर यार्सा यात्रामा सामेल मानब सागर देख्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो कि यो कुनै रहरको यात्रा थिएन, बरु जिबन जिउनुको बाध्यता थियो । जेठको महिना । हिउँ पग्लेर भेरी नदी दिनानुदिन आफ्नो आकार ओगट्दैथियो । त्यही भेरी नदिको किनारमा लम्पसार दुनै बजार यार्सा ब्यापारीको लागि हब बन्दै थियो । काठमाडौंमा ट्याक्सी गुडे भन्दा पनि बढी दुनैमा हेलिकोप्टरको चहलपहल ह्वात्तै बढ्दैथियो । जे होस् यार्सा सिजनले गति लिदै थियो । यार्सा यात्रीहरु पाटनमा यार्सा हैन हजारका नोट टिप्दै थिए । यहि बिचमा यार्सा यात्रीहरुका जिउधनको क्षतिका रंगिन समाचारले राष्ट्रिय मेडियाहरुको पाना रंगिन्थे । यार्सा टिप्दा टिप्दै भिर बाट खसेका समाचार देखि अबैधानीक संकलन, चोरी, शसस्त्र लुटपाटका समाचारहरु छिनमै बासी भैसकेका हुन्थे । अबैज्ञानीक तथा अबैधानीक संकलन, सिन्डिकेट, ग्लोबल वार्मिङ, क्लाईमेट चेन्ज जस्ता कारणहरुले यार्सा पाउन नसकेर साहुको ऋणमा डुबेका यथार्थहरु पनि बजारमा छताछुल्लै हुन्थे । बास्तबमा, जर्नि टु यार्सा डेस्पेरेट जर्नि को रुपमा बिकास हुँदै थियो । लाग्थ्यो, बिशाल मानब सागर पाटनमा यार्सा टिप्न हैन, कसैको कुल्ली भएर घुँडा घिसार्दे छ । यार्सा जस्तो अमुल्य जडीबुटीका बास्तबिक मालीक डोल्पाली जनता यार्साकै कारणले कंगाल बन्दैछन् भने यो यार्सा कसका लागि ? बिश्वलाई स्वास्थ्यबद्र्धक यार्सागुम्बा ज्युनार गराउने डोल्पा खाद्य सँस्थानको बासी चामल पकाउने हैसियत राख्दैन भने यो अरबौंको यार्सा कसका लागि ?
डोल्पा बसाई सँगै नायक ठिन्ले र यार्सागुम्बा सम्बन्धी यस्तै अनुत्तरित प्रश्नहरुले बारम्बार घेरिरहे मलाई । नायक ठिन्ले र यार्सागुम्बाको महत्व बुझ्न नसक्नुले डोल्पाको भाबी परिणाम भयाबह हुने भबिष्यबाणी त सायद गरिरहनु नपर्ला । आफ्नै सुगन्धित बीनाको चाल नपाएर त्यही सुगन्धको खोजीमा यत्रतत्र भौतारिरहेको कस्तुरीझै डोल्पाको बिकास पनि सिंहदरबारको आकाशमा कतिन्जेल मडारीरहने हो कसैलाई चासो र अध्ययनको बिषय भएको छैन । त्यसैले, साँच्चै डोल्पाको बिकास गर्ने नै हो भने सर्बप्रथम नायक ठिन्ले र यार्सागुम्बाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन जरुरी छ । म साथीहरु सँगको कफिगफ, भेटघाटमा यो यथार्थ सेयर गरिरहन्थें । यतिले पनि चित्त नबुझेर यो सम्बन्धि दुई–चार शब्द लेख्ने सोच समेत बनाएको थिएँ । तर जागीरको ब्यस्तताले यो सोचमाथि कलम उठाउने जमर्को गर्दागर्दे दुई बर्ष बितेको पत्तै भएन । आखिर, २०७३ बैशाषमा म काठमाडौमा थिएँ । नायक ठिन्लेको अप्रत्याशित मृत्युको समाचारले भाबबिह्वल बनायो मलाई । अनि मेरो कलमले एउटा पात्र गुमायो । मेरो कलमले बिषय बस्तु गुमायो । अब लेख्नुको कुनै अर्थ छैन । मेरो एउटा मनले यस्तै यस्तै निश्कर्ष तेस्र्यायो । तर, अर्को मनले प्रतिबाद गर्यो, किन नलेख्ने ? लेख्नुपर्छ । नायक ठिन्ले हाम्रो सामु नभएपनि डोल्पाको यथार्थता त हाम्रो सामु झनै टड्कारो छ नि । त्यसैले, लेख्नुपर्छ ठिन्लेको सम्मानमा, उनको कलाकारीता र बिरासतको सम्मानमा ।
ओस्कार नोमिनेटेड फिल्म क्याराभानको अन्तराष्ट्रिय चर्चा सँगै यसका नायक ठिन्ले मात्रै बिश्व चर्चित बनेनन्, प्राकृतिक जेल बनेर थन्केको डोल्पाले पनि अन्तराष्ट्रिय चिनारी पायो । हिमाली ग्रामिण पर्यटनको संस्थागत बिकासको प्रारम्भ भयो । पर्यटन सँगसँगै शिक्षा, स्वास्थ्य जस्ता अन्य बिकासका पनि ढोका खुले । अहिले अपर डोल्पामा बिदेशी सहयोगमा सञ्चालनरत बिद्यालयहरु तथा स्वास्थ्य सेवाहरु सबै यसैका बाछिटाहरु हुन् । क्याराभान नायक ठिन्ले बाँकी बिश्वलाई हिमाल चिनाउने, हिमाली रहनसहन र सँस्कृतिको प्रबद्र्धन गर्ने हिमाली ग्रामीण पर्यटनका अघोषीत सद्भावना राजदुत थिए । डोल्पाको बिकासका लागि एक अभिभावक थिए । तथापी, हामीले हाम्रो क्षमताको भरपुर उपयोग गर्न नसक्दा सोचेजस्तो बिकास गर्न सकेनौं र सकिरहेका छैनौ । नायक ठिन्लेको धर्तिमाथि उपरखुट्टी लगाएर केवल पर्यटन बिकासका महंगा भाषण ठोक्यौं तर ठिन्लेको बास्तबिक स्टारडमलाई बिक्रि गर्न सकेनौं । डोल्पा चिनाउन केवल बाह्र बर्षे से–महोत्सबको कर्मकाण्ड कुर्यौं । बिना पूर्बाधार पर्यटन बिकासको परिकल्पना ग¥यौं । फलस्वरुप पर्यटनले डोल्पालाई केही दिन सकेन । चिया साउनीको चिया बिकेन । अर्गानकि स्याउ, हिमाली फापर, कागुनो, सिमी र आलु बिकेन । चौंरीको नौनी र छुप्री बिकेन । स्थानीय कला र उत्पादन बिकेन । अनस्किल्ड लेबर बिकेन । जनताको जीबनस्तर झन् झन् ओरालो लाग्दै गयो । हामी अझै कस्तो खालको पर्यटन बिकासको परिकल्पना गर्देछौं ? त्यो पर्यटन बिकास कसका लागि ? बुझिनसक्नुछ । सधैं नायक ठिन्लेको दाह्रीवाल बोल्ड तश्बिर अनि से फोक्सुण्डोको फोटो देखाएर कसरी र कती सम्म सम्भब छ र, डोल्पाको पर्यटन बिकास ?
ठिन्लेको स्टारडम निर्यात गर्न एउटा सँस्थागत पसल थाप्न जरुरी थियो । नायक ठिन्लेको स्टारडम डोल्पा मात्रै हैन समग्र कर्णालीले निर्यात गर्न सक्ने कला संस्कृति र पर्यटनको अमुल्य प्रडक्ट थियो । जसका लागि सँस्थागत अबधारणाको जरुरत थियो । यही संस्थागत अबधारणा अन्तर्गत उनको नाममा एउटा फउन्डेसन सञ्चालन गर्नु पथ्र्याे । जुन फउन्डेसनले नायक ठिन्ले र स्वदेशी तथा बिदेशी फिल्मकर्मी बिच पुलको रुपमा काम गर्नेथियो । उनी फिल्मी गतिबिधिमा ब्यस्त हुने थिए । उनी एक कलाकार भएको हुँदा फिल्मी गतिबिधिमा उनको ब्यस्तता नै साँचो अर्थमा उनको संरक्षण र सम्बद्र्धन हुने थियो । नायक ठिन्ले एक युगमा एकचोटी जन्मिने असाधारण मानब हुन् । त्यसैले, उक्त फउन्डेसन नायक ठिन्लेको शेष पछि पनि उनको नाम बिक्री गरेर खाइरहन पाइने पेन्सन पट्टा बन्ने थियो, डोल्पा र समग्र कर्णालीका लागि । तर यसमा कोही कसैको ध्यान त के, सोच समेत पलाउन नसकेको भान हुन्थ्यो । हाम्रो गरिब मानसिकताले ठिन्लेलाई हिरो कम चौंरी गोठालो बढीले सम्मान दियो । जिउँदो छँदा नायक ठिन्लेलाई सम्मान त दिन सकेनौ सकेनौं, उनको मृत्युपछि पनि सम्मानजनक अन्त्येष्टीमा कन्जुस्याँइ ग¥यौं । एउटा राजनीतिक दलको कार्यकर्ताको हैसियत भन्दा पनि कम सम्मानमा गुमनाम अन्त्येष्टी गरियो । उनको राजकिय सम्मान सहितको अन्त्येष्टी हुनुपथ्र्यो । जसरी नायक श्रीकृष्ण श्रेष्ठको राजकीय सम्मान सहित अन्त्येष्टी गरिएको थियो । भलै नायक ठिन्लेले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र महानायक राजेश हमाल भन्दा संख्यामा धेरै कम फिल्म खेल्नुभयो, तर स्टारडमको तराजुमा तौल्ने हो भने नायक ठिन्ले धेरै उचाईमा हुनुहुन्थ्यो । महानायक राजेश हमाललाई देश बिदेशमा रहेका हामी नेपाली अनुहार बाहेक अरु बिदेशी अनुहारहरुले सायदै चिन्लान् तर नायक ठिन्लेलाई बिश्वमै नचिन्ने सायदै होलान् । ओस्कार जस्तो बिश्वकै प्रतिष्ठित अवार्डको लागि नोमीनेटेड फिल्म क्याराभान का हिरो हुन्, ठिन्ले । त्यसैले, नायक ठिन्ले एक ग्लोबल कलाकार हुन् । डोल्पा मात्र हैन नेपाल चिनाउने एउटा ग्लोबल्ली प्रतिष्ठित कलाकारको राजकीय सम्मान सहितको अन्त्येष्टि त परै जाओस्, शब्द श्रद्धाञ्जली दिने झञ्झट समेत गर्न सकेन, राज्यले । नायक ठिन्ले जिउँदो छँदा सम्मान दिन नजानेका हामी डोल्पालीले पनि उनको राजकीय सम्मान सहितको अन्त्येष्टिको लागि राज्यको ध्यानाकर्षण गर्ने फुर्सद समेत निकाल्न सकेनौं । बस् तेती हो, दुनैको लम्पसार सडकमा ठुलो पर्दा टाँगेर जिन्दगीमा क्याराभान हेर्न फुर्सद नपाएकाले समेत एक चोटी हेर्ने कष्ट गरेर नायक ठिन्लेलाई जिस्क्यायौं, गोहीको आँशु झार्यौं । सायद यहि नै थियो, सच्चा श्रदाञ्जली, नायक ठिन्ले प्रति, जन्मभुमि डोल्पाबाट ।
अर्को, एकदमै संरक्षणको पर्खाइमा रहेको बस्तु, यार्सागुम्बा हो । एक अद्भुत जीबनचक्र भएको जडीबुटी, हिउँदमा किरा अनि बर्खामा बनस्पति । मूल्य र उपयोगिताको हिसाबले यार्सागुम्बालाई जडीबुटीको राजा अनि जीबन बुटी भनेर चिन्ने गरिन्छ । डोल्पामा यार्सागुम्बा लगायत गुच्ची च्याउ, जटामसी, कटुकि, बन लसुन, तिते, चिराइतो, पदमचाल, सिलाजित, केशर जस्ता अन्य अमूल्य जडीबुटीहरु पाइन्छन् । त्यसैले मैले भन्न खोजेको संरक्षण, यार्सागुम्बा लगायत अन्य सम्पूर्ण जडीबुटीहरुको संरक्षण हो । डोल्पामा अन्य जडीबुटीहरुको अलाबा यार्सागुम्बाको टर्नओभर मात्रै तीन अरब भन्दा पनि बढी हुने गरेको तथ्यांक छ, त्यही पनि अकाउन्टेड मात्रै । करोडौंको राजश्व संकलन हुन्छ । उसै त ग्लोबल वार्मिङको असरले जडीबुटी उत्पादनमा ह्रास आइरहेका बेला अबैज्ञानीक र अबैधानीक संकलनको परिणाम यार्सागुम्बा तथा अन्य जडीबुटीहरु लोप हुने खतराको सम्मुखमा छन् । राज्यको फितलो संकलन नीति, कमजोर र अपारदर्शि कर नीति का साथै अस्पष्ट र अदुरदर्शि योजनाका कारण यार्सागुम्बा जस्ता अमूल्य औषधिजन्य जडीबुटीहरुको निर्यात हैन दोहन भैरहेको छ । हाम्रा जडीबुटीहरुमाथि राज्यबाट संरक्षण हैन नीतिगत तस्करी भैरहेकोछ । फलस्वरुप, अरबौंको जडीबुटीका मालिक डोल्पालीको जिबनस्तर दयनीय बन्दै गैरहेकोछ । डोल्पालीको लागि नेपाल जोड्ने मुलबाटो कुहिरोको काग भएको छ । खडेरी अनिकाल दैबको नियति भएको छ । कुपोषण, असुरक्षित सुत्केरी, बालमृत्यु, मातृमृत्यु अहिलेको आधुनिक सभ्य दुनियाँको लागि कलंक भएर रहेको छ, डोल्पामा ।
कला संस्कृति र पर्यटनका पर्याय नायक ठिन्ले आज हाम्रो सामु हुनुहुन्न । शब्द श्रदाञ्जली सहित यो लेख स्वर्गिय नायक ठिन्लेको नाउँमा । अब चिन्ता यार्सागुम्बा र जडीबुटीको हो । डोल्पा र समग्र कर्णालीको हकमा जलश्रोत पछि ठूलो रिसोर्स भनेको जडीबुटी हो । यार्सागुम्बा र जडीबुटीहरु बहुमुल्य होईनन् अमूल्य (जसको मुल्य नै हुन्न) कच्चा पदार्थ हुन् । आफुसँग हुँदाखाँदाका कच्चापदार्थहरुको नामनिशान मेटीने गरि दोहन गरेर हामी कस्तो औद्योगिक क्रान्तिको बात गरिरहेका छौं ? यार्सागुम्बा जस्ता अमुल्य जडीबुटीहरु लाई कौडीको भाउमा बिक्री गर्ने अनि कोकाकोला र के.एफ.सी. जस्ता बहुराष्ट्रिय कम्पनी बिस्तारलाई औद्योगिकरण मान्ने, यो कस्तो औद्योगिकरण हो ? अब कर्णालीका जनताले राज्यको नीति प्रति औंला ठड्याउन ढीला भैसकेकोछ । औषधिजन्य अरबौंको जडीबुटीका मालिक कर्णालीका जनता हामीले नै कौडीको भाउमा बेचेका जडीबुटीहरु निचोरेर बनाईएका टाटाहरु सुँघ्न नपाएर अकाल मृत्युबरण गर्नुपरिरहेकोछ । फलस्वरुप, काठमाडौंको दाँजोमा कर्णालीको आयु ३६ बर्षले खोसिएको छ । अब कर्णालीका जनताले राज्यसँग आफ्नो रिसोर्सेजको ब्याज स्याज सहितको हिसाब किताब खोज्न ढिला भैसकेको छ । कर्णाली बिकासको रेडिमेड शुत्र खल्तीमा बोकेर हिंडेका कोही स्वघोषित कर्णाली बिशेषज्ञले अहिले सम्म गित गाउदै आए जस्तो कर्णाली गरिब भएर राज्यलाई निःशुल्क स्वास्थ्योपचारको भिख माग्ने रोधन क्रन्दन होइन बरु कर्णालीका औषधिजन्य रिसोर्सहरु प्रशोधन गरि औद्योगिक स्वरुप दिनुको सट्टा उल्टै राज्यद्धारा जारी नीतिगत तस्करी अनि कर्णालीको कुपोषण, रोग ब्याधी निर्यात गरेर थुपारेको धनराशीको ब्याज स्याज सहितको क्षतिपूर्ति स्वरुप निःशुल्क उपचारको जोडदार माग मात्रै होइन हक दाबी गर्न ढिला भैसकेकोछ ।
दुनियाँमा कच्चा पदार्थ निर्यात गरेर आर्थिक उन्नती गरेका देशहरु बिरलै होलान् । कच्चा पदार्थ निर्यात गरेर सम्पन्न हुने भए अफ्रिकन मुलुकहरुको आज यो हबिगत हुने थिएन । सुन हिरा मोतिको खानी अफ्रिका अझै चरम गरिबीको दलदलमा छ । अफ्रिका जस्तै कर्णालीको कच्चापदार्थ पनि कमिसन पुँजी अर्थात दलाल पुँजी अझ भनौं दलाल राजनीतिको शिकार भइरहेको छ । देशको जीडीपीमा उद्योग क्षेत्रको योगदान अल्छिलाग्दो छ । भएका उद्योगहरु पनि बिदेशी कच्चा पदार्थमा निर्भर छन् । समग्र कर्णाली क्षेत्रलाई जडीबुटी संरक्षीत क्षेत्र घोषणा गर्दे उपलब्ध जडीबुटीहरु प्रसोधन गरेर औषधिजन्य उद्योगहरु स्थापना गरिएमा एकातिर देशको अर्थतन्त्रले भोगीरहेको चरम ब्यापार घाटा कम गर्न सहयोग पुग्ने थियो भने अर्को तिर स्वदेशी कच्चापदार्थमा निर्भर उद्योगहरुले पनि गति लिने थिए । जसका लागि जडीबुटी सम्बन्धि नीतिगत ब्यबस्थाको जरुरत छ, जुन नीतिमा कच्चा जडीबुटी निर्यातलाई पुरै निरुत्साहीत गर्दे जटीबुटीजन्य तयारी बस्तु निर्यात गर्ने बाध्यकारी प्राबधान हुनुपर्छ । जुन नीति अनुरुप राज्यको प्रत्यक्ष लगानी र स्वामित्वमा रहने गरी कर्णालीमै जटीबुडी तथा औषधिजन्य उद्योगहरु सञ्चालन हुनुपर्छ । यदि राज्यको हिक्मत छैन भने तिब्र पूर्बाधार बिकासका साथै लगानी मैत्री वातावरणको सृजना गरेर नीजि क्षेत्रलाई गुहार्न अब ढीला गर्नु हुन्न । यतिले मात्रै कर्णालीको बिकास हुनेवाला छैन । राज्यले सर्बप्रथम, कर्णालीमा जडीबुटी साथसाथै अन्य तमाम लगानीका क्षेत्रहरुलाई स्पष्ट पहिचान र बर्गिकरण गर्नुपर्छ । त्यसपछि, ठूला करदाता अर्थात ठूला ब्यापारीक÷औद्योगिक घरानाहरुलाई बिद्यमान संस्थागत सामाजिक उतरदायित्वका क्रियाकलापहरु भन्दा धेरै माथि उठाएर कर्णालीमा प्रत्यक्ष लगानी गरी उद्योगहरु सञ्चालन गर्ने पर्ने बाध्यकारी प्राबधान हुनुपर्छ । जसको बदलामा राज्यले उद्योगीहरुलाई अनुदान, करछुट तथा अन्य इन्सेन्टिभहरु दिनुपर्दछ । जबसम्म आफुसँग उपलब्ध स्ट्रेङ्थ र पोटेन्सियालिटीलाई औद्योगिक स्तरमा बिकास गर्न सकिन्न तबसम्म आर्थिक क्रान्ति सम्भब छैन भन्ने कुरा बिकासको अकाट्य सत्य हो । त्यसैले, कर्णालीमा उपलब्ध जलबिद्युत, जडीबुटी, पर्यटन, अर्गानिक कृषि उत्पादन, फलफुल उत्पादन, पशुपालन जस्ता प्रचुर सम्भावना र सामथ्र्यहरुलाई जबसम्म औद्योगिक रुप दिन सकिन्न, तबसम्म कर्णालीको बिकास केबल बिकासका लागि कर्मकाण्डी बिकास मात्रै हुन् ।
(लेखक जग भण्डारी सिटिजन्स बैंक इन्टरनेसनल लि. डोल्पा शाखाका शाखा प्रबन्धक हुनुहुन्छ ।)










