स्ववियु निर्वाचनको मुखमा अखिलमा चर्कियो गुटको विवाद

कृष्ण गिरी
काठमाडौं, नेकपा एमाले पार्टी एक ढिक्का रहेको त्यसका नेताहरु बताउँछन् । तर त्यसको भातृ संगठन अनेरास्ववीयूूमा कार्यविभाजनलाई लिएर विवाद चुलिएको छ । महाधिवेशन भएको एकवर्ष बित्नै लाग्दा पनि एमाले निकट अखिलले पूर्णता पाउन सकेको छैन ।
संगठनको बैठक बसेर गरेको निर्णय भन्दै महासचिव ऐन महरले मंसिर २८ गते सर्कुलर जारी गरेपछि दुई समूहमा रहेको अखिलमा तीन समूह देखिएका छन् । भित्र भित्रै भुसको आगो झै भएको अखिलको विवाद अहिले बाहिर छताछुल्ल भएको छ ।
एमाले पार्टी अहिले आफूलाई एक ढिक्का भएको पार्टी बताउँछन् । तर त्यही पार्टीको भातृ संगठन भने नेता पिच्छेको गुट बनेका छन् । भातृ संगठनले एक एक दिन बिराएर सर्कुलर जारी गर्न व्यस्त देखिन्छन् ।
काभ्रेमा बसेको केन्द्रीय समितिको बैठकको सर्कुलर आउन ६ महिना लागेको छ । गत जेठ २ गतेदेखि ५ गतेसम्म काभ्रेमा बसेको पहिलो केन्द्रीय समितिको निर्णय र स्थायी समतिको बैठकले गरेका निर्णयहरु समेटेर महासचिवले सर्कुलर जारी गरेको दोस्रो दिन माधव नेपाल समूहका तीनजना सचिवहरु सुदेश पराजुलि, ओसिम आलम र आरती लामाले पुस १ गते आर।आर।मा छुटै भेला गरेर नयाँ सर्कुलर जारी गरे ।
पार्टी र संगठनका कैयो सदस्यहरु यो अखिलको अनावश्यक किचलो भन्छन् । यो अहिले बाहिर होइन आन्तरिक रुपमा मिलाउनु पर्ने हो, भन्छन् । तर नेताहरुको असमझदारीका कारण असन्तुष्टिहरु बाहिर बाहिर छताछुल्ल भएको छ ।
महासचिव महरले पहिलो केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरु नै फेरबदल गरेको भन्दै संगठनभित्र विवाद बढेको हो । महासचिव महरले संगठनको विधि विधानलाई खल्तीमा हालेर संगठन चलाउन खोजेकाले आफूहरुले छुट्टै भेला गर्नु परेको नेपाल समूहका विद्यार्थी नेताहरु बताउँछन् ।
महासचिव ऐन महरले जारी गरेको सुर्कलरमा छ
‘२२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिव तीन महिनापछि बसेको बैठकले महत्वपूर्ण राजनैतिक तथा सांगठनिक निर्णय ग¥यो । पदाधिकारी तथा सचिवालय सदस्यहरुको कार्यविभाजन गर्ने म्याण्डेट स्थायी समितिलाई दिएको हुँदा पटक पटक बसेको स्थायी समितिको बैठकले र सचिवालयको तेस्रो बैठकले गरेको राजनैतिक तथा सांगठनिक निर्णयहरु र आगामी कार्यंयोजनाहरु मातहतका कमिटीमा तथा सबै नेता कार्यकर्ताले आ अफ्नो कार्यक्षेत्रमा कडाईका साथ लागुृ गर्न र गराउन विशेष सर्कुलर जारी गरिएको छ ।’
यो सर्कुलर महरले आफ्नो मनमर्जिले जारी गरेको आरोप उनकै समूहका उपाध्यक्षद्धय रश्मि आचार्य र शैलेश लामाले लगाएका छन् । यसरी अोली गुटमै अर्को गुट देखिएको छ । ओली गुटकै विद्यार्थी नेता आचार्य र लामाले महरको कार्यप्रति असन्तुष्टि जनाउँदै विरोध गर्न थालेका छन् । काभ्रेमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु तोडमोड गरेको र केन्द्रीय समितिले गरेको कार्य विभाजन फेरबदल गरेको आरोप महासचिव महरलाई लगाउँछन् ओली गुटका उपाध्यक्ष रश्मि आचार्य र माधव नेपाल गुटका सचिव सुदेश पराजुलीले । ‘सर्कुलरमा तीनजनाको नाम नै छुटाइयो, १० जना जतिको कार्यविभाजन नै परिवर्तन गरेको छ’–उपाध्यक्ष आचार्यको आरोप छ ।
विधानलाई नमानेर सर्कुलर पठाउँदा संगठनमा गुट सृजना भएको छ । कम्युनिष्टहरु र त्यसका भातृ संगठनहरु लेनिनवादी ढाँचामा चल्छ तर यहाँ व्यक्तिका मनमर्जिमा चलेको छ’–पराजुली भन्छन्, ‘अखिल कसैको घरको संगठन होइन, जुन व्यक्तिको मनमर्जिमा चलाउन पाइयोस् ।’
मेहरले गरेको लापरवाही बारे अर्को अर्थात तेस्रो समूहका रश्मि आचार्य र शैलेश लामाले पत्र दिएर अध्यक्ष र संगठन विभाग इन्चार्जलाई ध्यानाकर्षण गराइएको छ ।
आर्चाय भन्छन्–‘संगठनलाई पेवा जस्तो बनाइयो, न छलफल छ न यसमा विधि र विधान नै मानिएको छ । यसरी संगठन चल्नु भन्दा बिग्रने अवस्था आएकाले ध्यानाकर्षण गर्न बाध्य भएका हौ । यसलाई सहि ठाँउमा ल्याउने छौ ।’
काभ्रे बैठकबाट जुन तरिकाले कार्यविभाजन गरेको थिया, त्यहि अनुसार हुनुपर्ने अडान पराजुली र आर्चाय समूहको छ । तर त्यस्तो नभएपछि उपाध्यक्ष पराजुली ९माधव समूह० ले पुस १ गते भेला गरेर फरक सर्कुलर जारी गरेका छन् ।
त्यसको सर्कुलरमा छ–
‘महाधिवेशन भएको १० महिनासम्म संगठनको आन्तरिक जीवन अस्तव्यस्त भयो । पहिलो केन्द्रीय समितिको बैठक र त्यसपश्चात थुपै पटक बसेको स्थायी समितिको बैठकले गरेका निर्णय बमोजिम पार्टीले गरेको निर्देशनात्मक विशेष निर्णय पनि संगठनको महासचिव मार्फत सर्कुलर जारी गरिएन ।
संगठनको पहिलो केन्द्रीय समितिको बैठक, स्थायी समितिको बैठक, पार्टीको विशेष निर्णय र संगठनको। विधि र विधानलाई लत्याएर संगठनको गरीमा र विधानलाई चुनौति दिदै संगठनको महासचिव जस्तो पदिय जिम्मेवारीको दुरुपयोग गदै संगठनको नाममा सर्कुलर जारी गरिएको पत्र सर्कुलर नभएर सिङगो संगठनले गरेको निर्णय र विधानको बर्खिलाप भएको जानकारी गराउद छौ ।’
अखिलमा माधव नेपाल समूह भनेर चिनिएका सुदेश पराजुली, आरती लामा र ओसीम आलमले त महासचिव महरले सकुर्लर पठाएको दोस्रो दिन राजधानीमा भेला गरेर नयाँ सर्कुलर पठाएका छन् ।
उपाध्यक्ष पराजुलीले भने–‘संगठनको गरीमा बचाउनलाई छुट्टै भेला गर्नु परेको हो, संगठनलाई खल्तीबाट चलाउन लागेकोलाई रोक्न यो कदम चालेका र्हौ । संगठन विधिअनुसार चलाउनु पर्ने व्यक्तिहरुले नै विधि विधान नमानेकाले विधि र विधान मान्नु पर्छ भनेर हामीले सर्कुलर काटेका हौ ।’
तर महासचिव महरका दावी यस्तो छ, उनले भने–‘सर्कुलर महासचिवले नै जारी गर्ने हो, त्यही भएर मैले विधान र संगठनको निर्णय अनुसार सर्कुलर जारी गरेको हुँ, कसैमाथि कुनै भेदाभाव गरिएको छैन ।’
६ महिनामा बस्नु पर्ने केन्द्रीय समितिको बैठक एक पटकमात्र बसेको छ । अध्यक्षले बोलाएको बैठकलाई महासचिवले बहिस्कार गर्छन् भने महासचिवले बोलाएको बैठक नेपाल समूहका सचिवहरु बहिष्कार गर्छन् ।
यसरी छुटै भेला गर्नु संगठनको मर्यादा, विधि र विधान विपरित हुन्छ भन्नेहरु पनि छन् । आन्तरिक विवाद नहुने कुन संगठन छन् । तर यसरी मिडियामा गएर हल्ला गर्नु कुन विधिमा पर्छ भनेर प्रश्न गर्छिन् उपाध्यक्ष सुनिता बराल ।
अल्पमतलाई कार्यविभाजनमा कम महत्वका विभाग दिएका कारण अखिलमा विवाद बढेको हो । जसले जे भनेपनि आफूले रोजेको विभाग नपाउँदा संगठनको अनुशासन विधि विधान नै नमान्ने चलन आजको होइन, पुरानै रोग भएको बताउँछिन सचिवालय सदस्य मर्यादा बिष्ट ।
संगठनका निर्णय चित्त नबुझे छलफल गर्ने ठाउँ संगठन नै हो । तर अखिलमा भने चित्त नबुझ्ने बित्तिकै भेला गर्ने । छुटै बैठक गर्ने चलन देखिएको छ । यो भन्दा पहिला महासचिवले गरेको निर्णय चित्त नबुझे पछि साउनमा राष्ट्रिय भेला नै बोलाएका थिए तर पार्टीले हस्तक्षेप गरेपछि त्यो भेला स्थगित भएको नेपाल पक्षका सचिव पराजुली बताउँछन् ।
पराजुली र आचार्यको मत सर्कुलरको विषयमा एक छ । दुबै जना भन्छन्–‘संगठन विधि र विधान अनुसार चल्दा बलियो हुन्छ । तर यहाँ संगठन विधि र विधान अनुसार भन्दा व्यक्तिको इच्छा अनुसार चलेकाले हामीहरुले यसको विरोध गर्न आवश्यक थियो ।’
यहि फागुन गते हुने भनेर त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरु स्ववीयू निर्वाचनमा होमिदै छन् । तर अखिलमा भने आन्तरिक विवादले चर्को रुप लिएको छ । यसबाट अखिललाई फाइदा भन्दा घाटा बढी हुने अखिलमा नै चर्चा चल्न थालेको छ ।








